~कृष्णप्रसाद आचार्य~
एकजना आफ्नो घरमा पूजा लगाउनका लागि पुरोहित खोज्दै पल्ला गाउँतिर लागे । त्यहाँ पुगेपछि पुरोहितलाई भेटी आफ्ना कुरा राखे । त्यो पुरोहितले उनको कुरा स्वीकार्यो र आउने भयो । लगत्तै अर्को पुरोहितले थाहा पायो ती मानिस पुरोहित खोजेर आफ्नो घर फर्किदैछन् भनेर । त्यसपछि दोस्रो पुरोहितले ती मानिसलाई पकडेर ए हजुर तपाइँले कुरा गरेको पुरोहित त मैले अह्राए, सिकाएको मानिस हो । त्यस्ता गोरुलाई किन आफ्नो घरमा पूजा लगाउन लैजानुहुन्छ बरु मलाई लैजानुस् । दोस्रो पुरोहितले यति भनेपछि पूजा लगाउने मानिस दोधारमा परेर पहिलेको पुरोहितलाई दोस्रो पुरोहितले गरेको कुरा भन्यो । पहिलेको पुरोहितले भन्यो त्यस्ता गधाको कुरा नसुन्नुस्, त्यसलाई मैले पो सबै कुरा सिकाएको हुँ म नै ठीक छु ।
यति कुरा भएपछि गोरु र गधा आरोप लगाइएका दुबै पुरोहितलाई वाचक र उपवाचकको रुपमा निम्तो दिएर पूजा लगाउने मानिस आफ्नो घरमा फक्र्यो । पूजा लगाउने दिन आयो । दुबै पुरोहित आए, पूजा शुरु भयो । सबै सुन्ने मानिसहरु कथा सुन्न आए । पूजा सकियो, प्रसाद ग्रहण गर्ने समय आयो । पूजा लगाउने मानिस दर्ुइवटा थाली लगेर आफ्नो बारीमा गई दुबै थालीमा दुबो काटेर ती पुरोहितलाई दिए । अनि पुरोहित रिसाइ आफूहरु अपमानित भएकाले पूजा लगाउने मानिसलाई हपारे ।
त्यसै समयमा पूजा लगाउने मानिसले मौका पारेर भन्यो ए हजुर तपाइँहरुले एकजनाले गोरु र एकजनाले आफूहरुलाई गधा भन्ने आरोप लगाउनुभएकाले मैले यो दुबो तपाइँहरुलाई खान दिएको हो । पशुले त घाँस खान्छ नि हैन र –
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)