~उमालाल आचार्य~
छिमेकी, नातागोता र आफन्तसँग ऋण सर–सापट गरी जम्मा पारेको पैसाले बाको उपचार गर्न अझैं पुगेन । अप्रेसन गर्न थप रकम चाहिने भएपछि सञ्चयकोषमा संकलित रकम निकाल्न म काठमाडौं जानुपर्ने भयो, बिरामी बालाई भिनाजु र फुपाजुको जिम्मामा छोडेर । बालाई त्यसरी छोडी जान लाग्दा आमा श्रीमती र बहिनीले चित्त दुखाइरहेका थिए । मेरो अनुपस्थितिमा बाको तलबितल प¥यो भने ठूलो विपत पर्छ कि भनी आमाको मौन अनुहारले शंका गरिरहेको थियो । बोलेर आमाले मलाई काठमाडौं जा भन्न सकिरहनुभएको थिएन र नजा भन्न पनि सकिरहनुभएको थिएन ।
‘बा म काठमाडौंबाट पैसा लिएर छिट्टै फर्कि आउँछु, तपाई नआत्तिनु होला है !’
‘जमाना खराब छ, आफ्नो ख्याल राखेस बाबु ।’ थरथर कामेको हातले मलाई मुसार्दै बाले भन्नुभयो । बासँग थप कुरा बोल्नै सकिनँ ।
स्कूल पढ्दाखेरीको एउटा साथी काठमाडौंकै कोही कलेजमा पढ्थ्यो ।’ म काठमाडौं आउँदै छु, त्यहाँको मेलोमेसो थाहा छैन, तिम्रो मद्दत चाहिन्छ भनी सन्देश पठाएको थिएँ । उसको घरमा गएर, साथीलाई फोन गरिदिनुहोला भनी अनुरोध गरेको थिएँ र सम्पर्क फोन पनि टिपेर ल्याएको थिएँ ।
काठमाडौंको यात्रा जीवनकै पहिलो भएकोले साथी भेटिएला कि नभेटिएला सञ्चयकोषको काम सिध्याउन मुश्किल पर्ला कि सजिलै होला, यस्तै कुराले मन पिरोलिरह्यो । औंलो दिएर बाले हिड्न सिकाएको, साँवा अक्षर चिनाएर पढ्न सिकाएको, लोट्दा उठ्न सिकाएको, रुँदा हाँस्न सिकाएको इत्यादि बाका सबै कुरा यात्राभरि याद आइरह्यो । रात्री बस आफ्नो गतिमा गुडिरह्यो ।
भोलिपल्ट काठमाडौं पुग्दा त्यत्रा धेरै घरहरु र त्यति सस्ता गाडी मोटर देखेर आश्चर्यचकित भएँ । सोध्दै खोज्दै दिउँसो सञ्चयकोषको भवनमा पुगें । मुलगेटमा साथी पर्खिबसेको रहेछ, असाध्यै खुशी लाग्यो । तल माथि र वल्लो पल्लो कोठा पल्लो कोठा गर्दै त्यहाँको काम सकियो । सञ्चयकोषको रकम मैले भित्री प्याकेटमा घुसारें । मलाई भोक थियो, चिया नास्ताको प्रस्ताव राखें । उसले तुम्बा तान्ने आग्रह ग¥यो ।
‘के हो तुम्बा भनेको ?’ मैले सोधें ।
‘जाउँ न खाउँ । खाए थाहा भइहाल्छ नि ।’ साथीले भन्यो ।
तुम्बाको खोजीमा अँध्यारो र साँघुरो गल्लीबाट छिरेर एउटा पुरानो घरमा पुग्यौं । कोठा उज्यालो थियो । काठको सानो मादले ठेकीमा गेडासहितको कोदो रक्सी हुँदोरहेछ । तातो पानी हालेर चलाउँदै नलीले तान्नु पर्दोरहेछ । चाडपर्वमा गाउँघरतिर रक्सी खाए पनि यो तुम्बा भन्ने जात चिनेको थिइनँ । तुम्बा तान्दै गर्दा हामीले धेरै कुरा ग¥यौं । मेरो बाको स्वास्थ्य अवस्था नाजुक भएकोले परिवार चिन्ताग्रस्त भएको बताएँ । गाउँमा पाँडे जेठा बितेका, हरिकलाले बिहा गरेर पनि छोरो पाइसकेको कुरा भनें । पुलामी कान्छाको छोरो पनि इण्डियन आर्मीमा भर्ती भएको कुरा सुनाएँ । काठमाडौंमा केही उपति पार्न नसकिएको, दिनमा भन्दा रातमा खर्च बढी हुने गरेको र घरबाट पठाएको खर्चले छेउ नपुग्ने कुरा उसले बतायो ।
‘हैन, रातमा के गर्दा बढी खर्च हुन्छ ? त्यो बुझिनँ ।’ मैले भने ।
‘यहाँ मान्छेले मान्छेलाई चिन्दैनन् । सबैले चिन्ने कुरा एउटै छ । त्यो हो पैसा । पैसा भए सब चिज किन्न पाइन्छ । सब कुरा पैसामा अडेको छ ।’ उसले भन्यो ।
‘त्यत्रो पैसा कसरी कमाउनु त ?’
‘यहाँ कमाउने होइन पैसा । यहाँको पैसाले पुग्दैन । अमेरिका जानुपर्छ पैसा कमाउन, कति कमाउने !’
‘अमेरिका ? अमेरिकामा त्यत्रो पैसा छ ।’
‘कस्तो कुरा गरेको ! त्यहाँ गएर गुहु सोरे पनि छेलोखेलो पैसा कमाउन सकिन्छ ।’
‘ठाँटले खान पुगेकै छ, पैसाकै लागि अमेरिकामा किन गुहु सोर्नु त ?’
‘कसले देख्छ ? कसले थाहा पाउँछ ? एक दिन काम गरे सात दिन खान पुग्ने । सात दिन काम गरे एक महिना । महिना दिन काम गरे एक वर्षै खान पुग्छ । अमेरिका जाने पाँच वर्ष घोटिएर काम गर्ने, फर्केर आउने मस्तीको जीवन बिताउने । त्यही छ मेरो मक्सद ।’
‘कसरी जाने त अमेरिका ?’
‘त्यसको तारतम्य मिलाउँदैछु ।’ उसको कुरा सुनेर म अक्क न बक्क भएँ ।
तुम्बा तानीसकेर बाहिर आउँदा झमक्क साँझ परिसकेछ ।
‘जाउँ यार डान्सबार एकछिन ।’
उसले फेरि अर्को प्रस्ताव ल्यायो । खाना खाएर आराम गर्ने, भोली बिहान फर्कनुपर्ने कुरा सम्झाएँ र नाइनास्ती गरें । बढीमा दश मिनेट डान्सबारमा बस्ने त्यसपछि हिडिहाल्ने भन्दै उसले जिद्दी ग¥यो । उसको ढिपी र जिद्दीको अगाडि मेरो नाइनास्तीले कामै गरेन ।
‘डान्सबार भनेको के हो त ?’
‘जाउँ न गए थाहा हुन्छ । कति रमाइलो हुन्छ !’
हामी डान्सबारमा पस्यौं । गीतभन्दा संगीत चर्को घन्केको थियो । बिजुली चम्केझैं अनेकन बत्ती चम्किरहेका थिए । एउटी आइमाई तालमा हो कि बेतालमा उफ्रिरहेकी थिई । बेतालमा उफ्री नाच्ने त्यो आइमाईको शरीर तल सानो कट्टु र छातीमा बाँधेको एक बित्ताको धजो कपडा बाहेक नाङ्गै थियो । त्यो देख्दा घोर आश्चर्य लाग्यो । मानौं चितामा जलाउन ठिक्क पारेको जनाना लास उठेर नाच्दैछ । नाच्दानाच्दै कम्मरमा हात राखेर टाउको फन्नाई । कपाल मच्चाई, खुट्टो मच्चाई । अर्को मच्चाई, अर्को मच्चाई । सबै मच्चाई । नाच्ने ठाउँको माझमा त्यसकै पाखुरा जत्रो मोटो फलामको एउटा खामो गाडेको रहेछ । खामोमा सुरेली खेल्दै माथि जान्छे । सरर झर्छे र भुइँमा थेचिन्छे । एक हातले खामोलाई समाउँदै दाईं हालेझैं फनफनी मचिन्छे । त्यो खामोसँग भन्नै नहुने लाज कर्म पनि गर्छे । धन्न तेरो डान्सबार !
सबै कुर्सी टेबलमा रक्सी र चुरोट खाइरहेका ग्राहकहरु भरिभराउ थिए । सबैसँग अर्धनग्न उत्ताउलीहरु मौजुद थिए, निस्फिक्री चुरोट र रक्सी खाँदै मात्तिरहेका थिए । चुरोटको धुवाँले वातावरण कुइरीमण्डल थियो । डान्सबार गतिछाडा जात्रा रहेछ, जसले जे गरे पनि हुने । खित्का छोडेर कोही हाँसिरहेका थिए, कोही काखमा पल्टेका, कोही बुई लागेका ।
साह्रै संकोच लागेर वरिपरि हेरें । लाजसरम सबैले घरै छोडेर आएका रहेछन् । साथीलाई हेरें, एउटी डान्सबारले हातको माला हालेर उसको घाँटीमा बेरिदै जिस्किरहेकी थिई ।
‘के ल्याउँ प्रिय, के खाने ?’ उसले प्रश्न गरी । ‘तिमीले के खुवाउने ?’ साथीले प्रतिप्रश्न ग¥यो ।
‘मैले खुवाएको खाने ? साँच्ची हो…।’
यत्तिकैमा अर्की आएर मलाई समाई । म जिरिङ्ग भएँ । मलाई मुसार्न पो थाली । बिहा गरेकी मेरी श्रीमतीले पनि खुलेआम यस्तो हर्कत गर्दिन ।
‘धेरै दिनपछि पो आउनुभयो हजुर त ।’ भनी मलाई । हे दैव ! म पहिला कहिले आएँ हुँला यहाँ ! काखैमा बस्ने उसको चेष्टालाई मैले नटेरेपछि अटाइनअटाई मेरै कुर्सीमा ढेसिदै बसी । सिलप्याक रक्सी उसै पनि कडा । ती उत्ताउलीहरुले गिलासमा खन्याएर पानीझैं सलसल पिउँदा रहेछन् । उधुम मच्चाउँदा रहेछन् ।
‘तपाईं किन बिरामीझैं भा’को ? पहिला त यस्तो मान्छे होइन नि तपाईं… ।’ म यत्रै बोलिन । प्रतिकूल वातावरणमा म निस्सासिन थालें । जाउँ कि जाउँ भनेर पटक–पटक अनुरोध गर्दा पनि साथी गढेको गढ्यै भयो । डान्सबारलाई छोड्नै सकेन । आत्तिएर म उठ्दै, बस्दै र बाहिर जाँदै आउँदै गर्न थाले । साथीले धोकिरहेको थियो एउटै गिलासमा डान्सरको जुठो रक्सी ।
***
बिहान उठ्दा म एउटा कोठामा रहेछु । कुनातिर प्लास्टिकको ठूलो बाटामा कैयन् दिनदेखिका जुठा भाँडा रहेछन् । टेबलमा कापी किताब छरिएका थिए । बेवास्तापूर्वक कुर्सीमा थुपारिएका लुगाहरुमध्ये केही भुइँतिर झुण्डिरहेका थिए । हत्तपत्त भित्री पाकेट छामें सञ्चयकोष त्यहाँ थिएन । हतारमा मैले सबै पाकेट छामें थिएन कतै पनि । मेरो हंशले ठाउँ छोड्यो, चिटचिट पसिना आयो, औडाहा भयो । ज्यान थरथरी काम्यो । कुना–कुना सबै ठाउँ खोजें । अत्तालिएर साथीलाई सम्बोधन गर्दै चिच्याएँ । माथिबाट एक जना अधबैंसे पुरुष ओर्लिएर मलाई हकार्दै भन्यो–
‘ए किन चिच्याएको पागलजस्तो । जा गैहाल मेरो घरबाट ।’
‘दाइ म लुटिएँ बर्बाद भएँ …।’ हात जोडेर उसलाई आफ्नो यथार्थ बताएँ ।
‘थै ! तिमीलाई त साँच्चै बर्बाद पा¥यो त्यो बेइमानले । दुई महिना भयो मेरो घरको भाडा पनि दिएको छैन त्यसले । घरबाट पैसा आएपछि दिन्छु भन्छ, खोइ दिदै दिन्न । राति आउँछ, राति नै जान्छ । खाने नखाने सबथोक खान्छ । केटी लिएर पनि आउँछ । त्यसलाई त पटक्कै नराख्ने । त्यस्तो मान्छेलाई तिमीले पैसा देखाउनै नहुने ।’
उसकै भर परेर आएको, पैसा कसरी नदेखाउनु ! व्यहोरा सडेर यति विघ्नको अपराधी भयो होला भनी थाहा पनि त भएन । रुँदै दिनभरि कुरें, आएन । साँझ प¥यो आएन । सम्भाव्य ठाउँहरुमा खोजें । गल्ली–गल्लीमा दुई दिनसम्म पागलझैं भौतारिएँ । बाको सम्झना आउँछ र भक्कानो फुट्छ । काठमाडौंमा आएर खाना खाने मेसो परेन, तर पनि भोक छैन । बरु प्यासले ओठमुख सुकेर हैरान पा¥यो । काठमाडौंमा पानी किन्नुपर्ने रहेछ । ‘म बेखर्ची छु, मेरो घडी किनी दिनुस दाइ’ भनेर त्यो घरबेटी साहुलाई भाँती बिन्ती गरें, हातको घडी आधै सस्तो मोलमा फालें । किनेर आँतभरि पानी खाएँ ।
बसपार्क गएँ । बस खोजें । ड्राइभरलाई भेटें । माध्यमिक स्कुलको शिक्षक हुँ, असत्तीले पैसा जिप्ट्याएर बेपत्ता भयो, अलपत्र पा¥यो । यो सबै पैसा लिनुस् नपुग पैसा घरतिरै दिउँला मलाई घर पु¥याइदिनुस् ।’ मेरो अनुनयलाई ड्राइभरले नाइनास्ती गरेन । पैसा समाउँदै भन्यो ‘हुन्छ पछाडितिर बस्नुहोला ।’ बस गुड्यो मेरो मन उड्यो । रित्तो हात घर फर्किएर अब के गर्नु ? नफर्किएर पो के गर्नु ? बाटाभरि मनमा जौं तिल पाकिरह्यो आफूलाई सम्हालिरहें ।
‘भात नखाने भए रोटी पनि छ रोटी खानुस् ।’ खाना खाने ठाउँमा ड्राइभरले कर गरी बोलायो टार्न सकिनँ र रोटी खान बसें ।’
रोटी भाँचेर खानुपर्छ सिङ्गै होइन ।’ म सानो छँदा कुनै दिन बाले भनेका कुरा झल्याँस्स याद आयो । मैले त्यसरी सिङ्गो रोटी किन मुखमा घुसार्न खोजे ? अवश्य यो शुभ लक्षण होइन । खानै मन लागेन, त्यत्तिकै छोडेर बसको पछाडितिर गएँ । बाको अवस्था कस्तो होला ! सास चल्दै होला कि बन्द भयो होला । जातिबित्ती माया लागेर आयो, भाउन्न भयो छाती । चरक्क चिरियो ।
बस फेरि एकनासले आफ्नो गतिमा दौडियो । मेरो दुर्भाग्यको खेल तुम्बा र डान्सबारको नमिठो सम्झना मेरो मथिंगल वरिपरि घुमिरह्यो । डान्सबारबाट त्यो कोठासम्म कसरी आइयो ? कहाँ–कहाँ गइयो ? जति गहिरिएर सम्झन खोजे पनि कतै कुनै स्मरण छैन । त्यो अवधि पूरै शून्य स्मरणमा छ । बिहानपल्ट बसबाट ओर्लदा आफन्तहरु मलाई लिन पुगिसकेका थिए । आफन्तलाई देखेपछि झन् भावविभोर भएँ, बोल्न सकिनँ । फर्किन किन ढिलो गर्नुभयो त ? कोही भाइले सोध्यो, म बोलिनँ ।
‘ठूलाबाले तिमीलाई खुबै खोज्नुभयो भाइ ।’ अर्को दाइले भने, म बोलिनँ ।
‘हिजो राति भिनाजुको प्राण गयो भानिज ।’ यो सुन्नेबित्तिकै चसक्क छाती दुख्यो वरिपरिको दृश्य फनफनी घुम्यो । आफन्तहरुले मलाई दायाँ बायाँबाट समाएका थिए । आँखामा आँसुको मुल फुटेर बाटोघाटो प्रष्ट देखिएको थिएन तर पनि चुपचाप हिडिरहेको थिएँ । नजिकै आइपुग्दा उल्टो शंख बजेको लामो ध्वनि सुनियो । लगलगी हात खुट्टा कामे । पाइलै सार्न सकिनँ थचक्क बसें ।
तुलसीको मठनेर मेरा निष्प्राण बालाई उत्तानो पारेर सुताइ पिताम्बरले ढाकिएको होला । छरछिमेकी, आफन्तहरु आँगनभरि जम्मा भएर रुवाबास गरेका होलान् । बाको नजिकै अलाप विलाप गर्दै छाती पिटिपिटी आमा रोइरहनुभएको होला । मेरी श्रीमती, दिदी र बहिनी आमासँगै गाँठो परेर डाँको छोडिरहेका होलान् । त्यो विभत्स दृश्य म कसरी हेर्न सकुँला ! हे भगवान, म कुपुत्रलाई काल किन आएन !
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)