~गुरुप्रसाद शर्मा रेग्मी~
सरला रेग्मीको “प्रवाह” उपन्यास हातमा प¥यो । पुस्तकको पहिलो पाना पल्टाउँदा प्रचण्ड र वैद्यको शुभभाव देख्दा जनयुद्धको विषयवस्तुलाई समेटेर लेखेको उपन्यास रहेछ । उपन्यास पढ्दा व्रह्मले जे देख्यो र जे जस्ता अनुभूतिहरु ग¥यो त्यसैलाई समेटेर विवेचना गर्ने प्रयास गरेको छु । १४० पृष्ठ रहेको यो प्रवाह उपन्यासलाई सत्र भागमा विभक्त गरी लेखिएको छ । यस उपन्यासको कथावस्तु जनयुद्धभन्दा पहिलेको राजनीतिक, सामािजक अवस्था र व्यवस्थाबाट श्री गणेश गरेर जनयुद्धको उत्तराद्र्धमा टुंगिन गएको छ । त्यसैले यस उपन्यासमा पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र माओवादीले चलाएको १० वर्षे जनयुद्धका सीमित क्षेत्रका घटनाक्रमहरुलाई शब्दांकन गरिएको छ । यो उपन्यास राप्ती, भेरी र सेती अञ्चलको सेरोफेरोमा केन्द्रित भएकाले जनयुद्धको पूर्णरुपमा दिग्दर्शन गराउनसकेको छैन । उपन्यासका कथा वस्तु र पात्रहरु पनि राप्ती, भेरी र सेतीकै छनोट गरिएको छ । सरसर्ती हेर्दा उपन्यासका सकारात्मक नकारात्मक दुबै पक्ष छन् ।
यो उपन्यास नायिकाप्रधान उपन्यास हो । यसकी नायिका सामान्य परिवारमा जन्मे हुर्केको भए पनि देशमा व्याप्त सामन्तवादी र प्रतिक्रियावादी वर्गहरुको शोषण र थिचोमिचो सहन नसकेर घरबाट नै विद्रोह गरी आम जनतालाई सचेत र सजग गराउन सशक्तरुपमा अगाडि बढ्दै गइन् । प्रवाह, त्याग र वलिदानको युग नायिकाको भूमिकामा चित्रित हुँदै गइन् । प्रवाह जनयुद्ध जायज छ भन्ने सन्देश प्रवाह गर्नमा लागिपरेको देखिन्छ । यो उपन्यास प्रकृतिमूलक उपन्यास हो । यसकी नायिका प्रवाह देश, जनता र परिवर्तनके पक्षमा उभिएको पाइन्छ । यसमा युद्धका घटनाक्रमलाई सजीव र सरल बनाउन उपन्यास कारले गरेको प्रयासको प्रसंशा गर्नैपर्छ । शिल्पयोजना सामान्य छ । जनयुद्धको बेला रचित रचनाहरुमा देखिने कमी कमजोरी र त्यसको सीमालाई सामान्य र स्वाभाविकरुपमा लिने गरेको कुरा यस उपन्यासमा पनि यत्रतत्र देख्न पाइन्छ । युद्धकालीन विषयवस्तुमा शब्द विन्यास भन्दा भाव विन्यासलाई बढी महत्व दिएको देखिन्छ । उपन्यासमा कथावस्तुको गुम्फन, पात्रहरुको प्रस्तुति र द्वन्द्व विधानको सम्बन्धमा प्रवाहमा जसरी समायोजन हुनुपर्ने थियो त्यो सब नभएकाले पाठकहरुलाई भ्रम तथा द्विविधा हुनेगर्छ ।
यो उपन्यास पढ्दा पाठकहरुलाई कस्तो अनुभव हुन्छ भने यो उपन्यासकी नायिका प्रवाहको भूमिका स्वयं रचनाकारले गरे जस्तो लाग्छ । स्वयं लेखिकाले पनि देश र जनताको परिवर्तन गर्ने संकल्प गरेर परिवारबाट विद्रोह गरेर हिडेझैं प्रवाहले पनि त्यसै गरेको देखिन्छ । उपन्यासको कार्यक्षेत्रकै धरातलमा लेखिका कार्यरत रहेको, त्यहींबाट उक्लदै नेतृत्व तहमा पुगेर सभासद्समेत भएको, दुबैले जीवनसाथी गुमाउनु परेको । यसरी सबै घटनाहरुमा समानता भएकाले यो उपन्यास स्वयं लेखिकाको जीवनकथाको आफ्नै व्यथा भएको अनुभूति गराउँछ ।
साहित्य भन्ने कुरा जब मानिसको अन्तरमनलाई घटित या विघटित घटनाक्रमहरुले चिमोट्न थाल्छ त्यो चिमोटाइको दर्दले अन्तरआत्मालाई तरंगित बनाइदिन्छ । अनि त्यहाँ शब्दहरुको कोरियोग्राफी बनेर बाहिर निस्कन्छ । त्यो नै साहित्य बन्छ । साहित्य भन्नु नै एउटा सिंगो वाद हो । त्यसैमा सबै वाद अटाएका हुन्छन् । यस्तो साहित्यलाई कुनै वादको सीमारेखा कोरेर सीमित गराउन खोज्नु उपयुक्त हुन्छ जस्तो लाग्दैन ।
यो उपन्यासमा ठाउँ–ठाउँमा लेखिकाले प्रवाहलाई ओभरटेक गर्न खोजेको, कुनै ठाउँमा नायिकाले भन्ने कुरा स्वयं लेखिकाले भनेको देख्दा यो उपन्यास हो या प्रवाहको जीवनवृत्तान्त हो या जनआन्दोलनको पूर्वाधार र उत्तराद्र्ध हो ठम्याउन पाठकहरुलाई असुविधा हुन्छ । यिनमा जसरी समायोजन हुनुपर्ने थियो त्यसरी हुन नसकेकाले पाठकलाई द्विविधा हुन गएको हो । अझ कहीं कतै त स्वयं लेखिका नै भ्रमित भएजस्तो लाग्छ ।
प्रवाह नायिकालाई सामन्तवाद र अवसरवादको विरुद्धमा उभ्याउन उसलाई सैद्धान्तिक र वैचारिक दृष्टिले तयार गरे पनि व्यवहारिक दृष्टिले तयार गर्न सकेको देखिदैन । त्यसैले शोषक सामन्तप्रतिको आक्रोशले शोषक र सामन्तझै विवेकशून्य हुँदा निमुखा जनतालाई बलिको बोको बन्नुपरेका घटनाले के संकेत गर्दछ ?
माओवादी सिद्धान्त र विचारको अध्ययन गरेर प्रवक्ता बन्ने या प्रवचन दिने मात्र गरेर हुँदैन । त्यसले औंल्याएको व्यवहारिक आचरण, सोच, चिन्तन बनाएर लाग्नु बढी महत्वपूर्ण हुन्छ त्यतातिर पनि लेखिकाको दृष्टि जान सकेको देखिदैन । जनयुद्धले देशबाट सामन्तवादी सोच र चिन्तनका अवशेषहरु हटाउने जुन पवित्र उद्देश्य लिएको थियो त्यो पूरा हुन सकेन । पुराना सामन्त हटे भने नयाँ सामन्तहरु झन बढी सशक्त रुपमा आएर शोषण, हत्या, हिंसा र थिचोमिचोको बजार तताएका छन् । के यही हो जनयुद्धको उपलब्धि ? यस सम्बन्धमा पनि लेखिकाको कलम चल्नसकेको छैन । परम्परागत मान्यता, सोच चिन्तनको बाह्यरुपमा विरोध भएको देखिए पनि आन्तरिकरुपमा जस्ताको तस्तै छ भन्ने कुरा लेखिकाले स्वीकार्न सकेको देखिदैन ।
जे भए पनि एउटा सानो लेखमा उपन्यासका सबै कुरा उल्लेख गर्न सकिदैन । त्यसैले मोटामोटीरुपमा मैले अनुभव गरेका कुराहरु उल्लेख गरेको छु । जे भए पनि लेखिकाको यो प्रयास सराहनीय छ । आगामी दिनमा अझ परिस्कृत र परिमार्जितरुपमा रचनाहरु पढ्न पाइने आशा र विश्वासका साथ कलमलाई विश्राम दिन्छु ।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)