~भिम बहादुर थापा~
हजारान् यात्री
थरीथरी मान्छेहरु
बहुरङ्गी सपनाको
तीर्थस्थल
घनघोर व्यस्तता
अविराम कोलाहल,
उफ्
हराभरा, चम्किलो
छैन शहर,
कुईरीमण्डल
धुलोभित्र
दिक्दारी दुहेर
घामको उज्यालो
अभिसाप झैं
केवल जिउँदो छ
मेरो शहर।
सुनसान, चकमन्न
फरि
भोग्छ मध्यरात
अन्धकार झेलेर
नियति
गुमनाम जस्तो
अहँ,
सडक बत्तीमा
रम्दैन
मेरो शहर।
भल्क्सवागेन
र, फेरारी
चिन्दैन मेरो राजधानी,
लिमोजिन
नाप्दैन मेरो सडक
त के भो?
निराशामा
एक चिम्टी खुशी
उपस्थितिको
एक मुठ्ठी धुकधुकी,
बस्
हुर्कंदो गोधुलीमा
टाटा र टोयोटाका
हेडलाईटहरुले
किया र कावाजाकीका
अग्र-प्रकाशहरुले
मक्ख छ
मेरो शहर।
जे छ, उही छ
लुकाउन खोज्दैन
दुखाउन रोज्दैन
बरु,
अबर्णनीय
दैनिकी सहेर
हर साँझ
अविचलित
तर
बिन्दास
बाँच्दो छ
मेरो शहर
आफ्नो अस्तित्व।
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)