लघुकथा : संगतको फल

~भगवती बस्नेत~

आमाको आज्ञाकारी छोरी बन्ने सपना आफ्नै केही क्षणको रमाइलोले चकानाचुर भएको थियो । त्यसैले आफ्नै जिन्दगी समाप्त पार्ने कोशशि गर्दै गर्दा हस्पिटलमा भर्ना भएकी छ ।जीवन मरणको दोसाँधमा बाँचिरहेकी उसलाई के होला भन्ने त्रास सबैमा फैलिएको छ ।

गरीबीले पिल्सिएर उसको बाबा उ सानै छँदा उपचारको अभावमा यस संसारबाट बिदा भएका थिए । बाबा आमा दुबैको लाड, प्यार दिएर आमाले उसलाई कहिल्यै कुनै कुराको कमी हुन दिएकी थिइनन्। उनको सुन्दर भविष्यको खातिर बेरोजगारको मारले गाजिरहँदा बूढो रुख फुल्न र फल्न छाडे झैँ उजाड जिन्दगीमा खुशीको बहार ल्याउन बिदेश लागिन् । छोरीलाई मामाको घरमा छोडेर । आमा बिदेशिदा उ धेरै रोइ । आमा पनि बलिन्द्र आँशु झार्दै छोरी रामरी पढ्नु । ज्ञानी हुनु, तिमी नै मेरो एक सहारा हौ। भन्दै बिदा भइन ।

मामा घरमा उ सरहका साथीहरु कमै थिएँ । खेल्ने,बोल्ने साथी स्कूलका मात्र थिएँ । आफ्ना सबै दौतारीहरु स्कुलका साथीहरु हुँदा उ स्कुल बिहान सबरै अनि बेलुका ढिला गरेर आउँथी । हजुर आमाले कहिले काँही किन ढिला आएकी भन्दा अरु कसैले केही भन्दैनथे । अरुले जतिसुकै माया गरे पनि चुनी सधैं आमाको माया खड्किएको अनुभव गर्थी । सानीमाले आफ्नो छोरीलाई काखमा राखेर माया गरेको देख्दा आमाको न्यानो काख सम्झेर भकानिन्थी ।

आमाको याद काम गर्न उ साथीभाइसँग नजिकिन्थी । यस्तैमा एक दिन साथीहरुले मिलेर एउटा योजना बनाए । भोलि हामी नयाँ ठाउँमा घुम्न जाउ, रमाइलो गरौ भन्ने सल्लाह गरे।हामीले घरबाट स्कुलको ड्रेस्समा आउने अनि तलको चौतारीमा भेट भएर डुल्न जाने । सबैले एक्ट्रा ड्रेस्स लिएर आउनु रेशमले भन्यो। सबैले उसले भने झैँ गरे ।

सधैं कक्षामा उपस्थित हुनुपर्ने,गृहकार्य गर्नुपर्ने झन्झटबाट, शिक्षकहरुको गालीबाट आज सबै मुक्त थिए । उडेको पँक्षीझै सबै स्वतन्त्र उड्न पाएर उत्साहित थिए । सबैको अनुहार उज्यालो निश्छ्ल र मन चन्चल थियो । सबैजना नारायणी नदीको किनारमा पुगेँ । शान्त भएर सलल बगेको नारायणीको पानी, मन पर्ने साथीहरूसँगको साथ आनन्दको स्पन्दमा अनुपम अनुभुतिमा सबै मग्न थिए ।

नारायणी नदीमा त्यसै बगिरहेको ढुङ्गा हेर्दै निलो आकाश,चाँदीको जस्तो तिरमिरे क्षितिज,हेरेर सबै मनमौजी मुस्कुराइ रहेको थिए । रेशमले एक्कासी सबैलाई एकै ठाउँमा बोलायो । सबैजना जम्मा भए । दालमोट,चाउचाउ, बिस्कुट आफ्नो-आफ्नो स्कुलको लागि ल्याएको खाजा निकालेर खाए ।

रेशमले झोलाबाट बियर निकाल्यो। सबैले टेस्ट गर्नुपर्छ भन्दै बियर खोलेर सबैलाई चेयर्स गरायो । सबैले साथीको लहै लहैमा लागेर बियरको स्वाद कस्तो हुन्छ भन्दै पिए। यसपछि रेशम फेरि अर्को अनाउसमेन्ट गर्यो । आज यो घुमघामलाई बिशेष बनाउनु पर्छ । आजको आधुनिक जवाना अनुसार म तिमीहरुलाई नयाँ कुरा सिकाउँछु । त्यो हो “चुम्बन प्रतियोगिता” ।

चुनीले यस्तो कुरा नगर भनी । सिलुले भन्छे के भनेकी चुनी अलि मोडर्न बन्न सिक्नु पर्छ क्या ! हाम्रो रमाइलो गर्ने उमेर यहि त हो नि । रेशमको कुरामा सबैले सहमति जनाएँ । रेशम सबैलाई उक्साउँदै पालै पालो चुम्बन गरायो । अरुले थाहा नपाउने गरी मोबाइलबाट भिडियो पनि खिच्यो ।

साथीभाइको माझमा चुनी एक्ली भई । उसलाई नरमाइलो लाग्यो साथीहरुले धेरै कर गरे पछि ऊ पनि त्यो प्रतियोगिताबाट अछुतो रहन सकिन । रमाइलो गरेर सबै घर फर्के । डिजिटल टेक्नोलोजी र परिवर्तित संस्कृतिको प्रयोगमा रमाउने रेशमले त्यो भिडियो आफ्नो फेसबुकमा अपलोड गर्‍यो । उसले त्यसलाई प्राइभेसीमा राखेनछ। उस्को अर्को साथीले देखेर शेयर गरेछ ।

अनि अर्को, अर्कोले गर्दैगर्दै सामाजिक सञ्जाल सबैतिर फैलियो । मिडियाभरि सनसनी मच्चियो । मिडिया सबैले यस कृयाकलापको नमज्जाले धज्जी उडाए। यो कुरा चुनीको मामा घरका लगायत आमाले पनि थाहा पाए। स्कूलबाट फर्कँदा उसले एक्कासी आफूले चुम्बन गर्दै गरेको दृष्य आफैले देख्दा डर र लाजले निलो कालो भइ ।

साथीभाइको लहै लहैमा लाग्दा कल्पना नगरेको परिणामा देखेर छाँगाबाट खसे झै हुदै कोठामा पसिन ।

घर वरिपरि मानिसको भीडभाड देखिन्छ ! सुनिन्छ, चुनी बिष खाएर मुर्छित अवस्थामा छिन् रे । उता पराइभूमीमा परिश्रम गरिरहेकी आमा पनि छोरीको अवस्थाले बिक्षिप्त र बिव्हल भएकी छिन रे ।

भगवती बस्नेत
काठमाण्डौ, हाल इज़रायल

(स्रोत : नारीदर्पण डट कम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.