~मणिराज सिंह~
अनन्त उकाली ओराली गर्दैै
एक–एक पाइला सार्दै
तिमी आएका छौ
तात्तातो घाम र एकमुठी आश बोकेर
गलाभरि विषालु सर्पको माला लाएर
विश्वासको बिहानी देखाउँदै
सम्पूर्ण आरम्भहरू पोखेर
अनुरागका विम्वहरूमा
म तिम्रो पहराबाट झरेका
पानीका छिटाहरू
हत्केलाभरि खेलाउन चाहन्छु
तिम्रो आगमनमा
अँध्यारा बाटाहरूमा
उज्याला पदचापहरू लेखेर
मनभरि सुवास रोप्न चाहन्छु
तिमी हाँस्छौ
म सझन्छु तिमी साउती गर्दैछौ
तिमी हेर्छौ
म देख्छु तिमी प्रतिशोध सलबलाइ रहेछौ
बन्द समयका छिद्रहरूमा
मिलन वयान छरेर
तिमी मलाई झकझकाउन आइपुग्छौ
पन्छाएर मेरा सम्पूर्ण ऋतुहरू एकातिर
मनको आँगनमा
हँसिलो मौसम रोपेर
सगरमाथालाई होच्याउँदै
जिउदो तेञ्जिङ्गझैँ
राष्ट्रिय झण्डा गाड्न
आफ्नै आँगन र चोकमा
म
प्रतीक्षारत छु तिम्रो आगमनमा
मुटुका सम्पूर्ण प्रवाहहरू
बेलगाम दौडाइरहेछु
सिङ्गो आकाश
सिङ्गो धरति
सबै–सबै टकटक्याएर
पाखा पखेरामा
घाम र वतासहरूमा
आफू–आफैं तन्किरहेछु
बस्तीका सम्पूर्ण गन्तव्यहरूमा
लालिगुराँस फुलिरहेछु
आफु–आफैँ हराएर
देउरालीमा
सपना गोडिरहेछु
तिम्रो आगमनको ।