~कृष्णप्रसाद कोइराला~
अँध्यारामा बाँच्नेहरू एकाङ्की एकाङ्कीकार मनबहादुर मुखिया (२००२) द्वारा रचना गरिएको नाट्यरचना हो । यो उनको अँध्यारामा बाँच्नेहरू नामबाट प्रकाशित एकाङ्कीसङ्ग्रहको सातौँ क्रममा रहेको सिर्जना हो । यस एकाङ्कीको शीर्षकले सङ्केत गरेबमोजिम नै यसमा चेतना र शिक्षाको आलोकबाट ओझेल परेर गरिबी, दरिद्रता, शोषणको जालोले झ्वाप्प छोप्ता अन्धकारमा लुटपुटिँदै बाँच्न बाध्य ग्रामीण नेपाली श्रमजीवीहरूको दुःखद तथा वेदनापूर्ण चित्कारलाई अभिव्यञ्जित गरिएको छ ।
१. कथानक
पैसा कमाउन दार्जिलिङ पुगेका थेबा वाइबा, फुरी सेर्पा त्यहाँकै एउटा पुलिस स्टेसनमा थुनिएर वेदनापूर्ण चित्कार गर्दै गरेको अवस्थाबाट एकाङ्कीको कथावस्तु आरम्भ भएको छ । थेबा वाइबा पक्राउ पर्नाले आफ्नी श्रीमतीलाई सुनका गहना, राम्रा लुगा किनिदिने र दुईचार पैसा कमाउने उसको सपनामा तुषारापात भएको छ । दिनभरि भारी बोकेर दुईचार पैसा कमाई थकित शरीरलाई आराम दिन पिएको रक्सीले खुट्टा बटारिँदै थेबा थुनामा परेको छ भने फुरी आफ्नी स्वास्नीलाई सपनामा मेहत्तरले जिस्क्याएको निहुँमा उसलाई कुटी दाँत झार्दा थुनामा परेको छ । त्यस्तै आधुनिकताले छोएर पेन्ट र सर्टको पुरूष भेषमा हिँडिरहकी एक युवतीलाई आफ्नो परिचित मान्छे जस्तो सम्झेर हातले समाई बोलाउँदा कलुवा थुनामा परेको छ । जीवनमा आर्थिक सङ्कटको कालो बादलले ढाकेर अँध्यारो छाँयामा रूमलिन बाध्य ती तीन प्राणीहरू कराउँछन्, चिच्याउँछन्, सराप्छन् र जेलबाट उम्कन प्रयत्नरत रहन्छन् । केही समयपछि कलुवालाई रामलखन र मास्टरजीको सिफारिसमा छुटाइन्छ तर थेबा र फुरीका आफ्ना मान्छे नहुँदा उनीहरू प्रहरीको दण्डबाट मुक्त हुन सकेका छैनन् । केही समयपछि कालुसिंह भन्ने व्यक्ति चोरीको झुट्टा अभियोगमा त्यहीँ ल्याइन्छ । एक इमान्दार सज्जन व्यक्ति कालुसिंहलाई कुख्यात चोर साबित गर्दै उसको चरित्रहत्या गरेर निर्ममतापूर्वक कुटिन्छ । कालुसिंह घायल पशु झैं वेदनापूर्ण चित्कार गर्दछ । कालुसिंहलाई नखाएको विष लागेको छ । थेबा र फुरी पनि यस्तै दुर्नियतिका सिकार भएका छन् । निर्दोष व्यक्तिहरूको सबैभन्दा ठूलो अपराध गरिबी हो । त्यसैले गर्दा उनीहरू शक्तिहीन भएका छन् । यिनै करूणाजनक हृदयविदारक व्यथाका दहमा डुबेर पनि कालुसिंह अन्याय र अत्याचारको विरोध उग्ररूपमा गर्दछ । यिनै कालुसिंहका मानवतावादी स्वरहरूसँगै कथानकको अन्त्य हुन्छ ।
२. चरित्रचित्रण
यस एकाङ्कीमा चारित्रिक विकासमा देखापर्ने विभिन्न मोड उतारचढाव र पात्रहरूको विशेषतालाई व्यक्त गरिएको छ । यसमा तिनीहरूको गुण दुर्गुणहरूको प्रस्तुतिमा यथार्थ द्रष्टा बनेर प्रस्तुत गर्ने काम एकाङ्कीकारले गरेका छन् । यहाँ प्रयुक्त प्रमुख मञ्चीय पात्रहरू थेबा, वाइबा, फुरी सेर्पा, कलुवा मोची, मास्टरजी, रामलखन मोची, पुलिस अफिसर, कालुसिंह छन् ।
थेबा वाइबा
थेवा जीवनचेतनाका आधारमा वर्गीय पात्रको प्रतिनिधि हो । अधबैंसे थेबा वाइबा दलित–पीडित संस्कारबाट ग्रसित मुक्तिकामी एउटा प्रमुख पात्र हो । आर्थिक विपन्नताका कारणले आफ्नी श्रीमती छोराछोरी सबैलाई छाडेर श्रीमतीकै आग्रहमा पैसा कमाउने सुन्दर सपना बोकेर मुग्लान पसेको पीडित पुरूष पात्र हो । आफू मुग्लान पसे पनि मातृभूमिप्रति अगाध आस्था, असीम माया र ममता राख्ने यस एकाङ्कीको एउटा अनुकूल पात्र हो । थेबा नेपालको रामेछापबाट काम र मामको खोजीमा दार्जिलिङ पुगी दुईचार पैसा कमाउन हनुमान दासको भारी बोकी दिन गुजारा गर्दै बसेको मञ्चीय पात्र पनि हो । यसरी ऊ मुग्लानमा एक्लो गुजारा चलाउँदैछ । आफ्नो प्यारो मातृभूमि, श्रीमती, छोराछोरीको माया हृदयमा आउँदा उसले रक्सी खाने गर्दछ । ऊ रक्सीले मातेको हुँदा थुनामा परेकाले त्यहाँबाट मुक्ति पाउन कराउँछ, चिच्याउँछ, उफ्रन्छ तर उसको चित्कार र क्रन्दन सुन्नाको विपरीत उल्टै हल्ला गरेको निहुँमा प्रहरीद्वारा पशुलाई झैँ बङ्बङ् कुटिन्छ । उसको सम्पूर्ण शरीर चोटैचोटले भरिएको छ । यिनै चुटाइका पीडासँगै एकाङ्कीको अन्त्य हुन्छ ।
फुरी सेर्पा
फुरी सेर्पा यस एकाकीको अर्को एउटा प्रमुख पुरूष पात्र हो । केश सेतै फुलेको गाला चाउरी पर्न लागको वृद्ध पात्र हो । एउटा सामान्य ग्रामीण समाजमा रहेको चेतना र शिक्षाको आलोकबाट ओझेलमा परेको अशिक्षित मञ्चीय पात्र हो । ऊ सामाजिक कुरीति अन्याय अत्याचारका विरूद्ध लड्न चाहने यस एकाङ्ककीको एउटा अनुकुल क्रान्तिकारी पात्र हो । उसका संवादमा करूणा र व्यथाका ज्वारहरू सनसनाइरहेका छन् । आर्थिक विपन्नताको दलदलमा फसेर त्यसको मुक्तिका लागि ठाउँ खोज्दै विदेशिएको फुरी सेर्पा दार्जिलिङ्गमा रक्सी व्यापार गरेर आफ्नो जीविकोपार्जन गर्दै आएको छ । उसका चरित्रमा वर्गीय वेदना र पीडाका तरङ्गहरू पाइने हुनाले यो वर्गीय पात्र पनि हो । आफ्नो माटोप्रतिको ममता, भाषा संस्कृतिप्रतिको मोह, परिवारप्रतिको माया सबै एकैचोटि उर्लिएर आएका छन् । फुरीमा प्रखर देशभक्तिको भावना देखिन्छ ।
कालुसिंह
एकाङ्कीको उत्तराद्र्धमा देखापरेको एउटा शोषित–पीडित दयनीय पुरूष पात्र हो, कालुसिंह । उसलाई सामाजिक कुरीति, अन्याय, अत्याचारको शिकार बनाएर आत्मसमर्पण गर्न बाध्य तुल्याइएको छ । एकाङ्कीको उत्तराद्र्धमा अत्यन्त कहालीलाग्दो निर्मम पीडा भोगिरहेको निम्नवर्गीय मञ्चीय पात्रका रूपमा कालुसिंहलाई प्रस्तुत गरिएको छ । ऊ एकाङ्कीको एउटा मुख्य पात्रको भूमिकामा देखा परेको निर्दोष र इमानदार पात्र हो । समाजका शोषक, सामन्त र भ्रष्ट शासकहरूले उसको नैतिक चरित्र हत्या गरी दोषी प्रमाणित गर्दै उसलाई नरकीय यातनाको सिकार बनाएका छन् । पशुलाई जस्तै निर्ममतापूर्वक कुटेर उसको अनुहारलाई कुरूप तुल्याइएको छ । उसका सुन्दर सपनाहरू चोइटिएका छन् । समाजको विसङ्गति र विद्रुपताप्रति उनको तीव्र आक्रोश र विद्रोह छ । प्रहरीका अनेकौँ राक्षसी आक्रमणबाट पीडित कालुसिंह विषम सामाजिक संरचनाप्रति आक्रोसित छ । ऊ उज्यालो संसारका अगाडी मुख देखाएर सीधा भई हिड्नुभन्दा अन्तत ः अँध्यारो नेपथ्यमै बस्न मन पराउने भइसकेको छ । यस चरित्रको माध्यमबाट समाजका विसङ्गतिहरूको सहज उद्घाटन गर्न खोजिएको छ ।
अन्य सहायक पात्र
पुलिस अफिसर यस एकाङ्कीको सहायक पुरूष पात्र हो । यसले शासकहरूका तर्फबाट प्रतिनिधित्व गरेको छ । यो पात्र एकाङ्कीको सुरूदेखि अन्त्यसम्म नै क्रियाशील देखिन्छ । कलुवा मोची यस एकाङ्कीको अर्को सहायक पुरूष पात्र हो । उसको चरित्रमा कुनै गतिशीलता पाइँदैन । ऊ ग्राहकको जुत्ता सिलाई आफ्नो जीविकोपार्जन गर्दछ । ऊ पनि एउटा निम्नवर्गीय श्रमजीवी हो । ऊ पनि भाङ् खाएको सुरमा अपरिचित व्यक्तिलाई बोलाउँदा प्रहरीको पक्राउमा परेको छ । कलुवालाई पुलिस स्टेसनबाट छुटाउन आउने रामलखन मोची यस एकाङ्कीको मञ्चीय पुरूष पात्र हो । यो एकाङ्कीको बीचमा देखा परी बीचैमा लुप्त भएको छ । उसको काम कलुवा मोचीलाई जमानीमा छुटाउनु मात्र रहेको छ । उसले एकाङ्कीमा खासै महत्वपूर्ण भूमिका खेलेको देखिदैँन । मास्टरजी पनि यस एकाङ्कीको अर्को सहायक पुरूष पात्र हो । ऊ पनि एकाङ्कीको बीचमा देखा परी बीचैमै लुप्त भएको छ । उसको काम पनि कलुवालाई छुटाउनु नै रहेको छ । उसको एकाङ्कीमा उल्लेख्य भूमिका छैन ।
३. संवाद
यस एकाङ्कीका संवादहरू सरल र सन्तुलित किसिमका छन् । यस्ता स्वभाविक संवादको प्रयोगले एकाङ्कीमा जीवन्तता आएको छ । यस एकाङ्कीमा एकदेखि चालीस पङ्क्तिसम्मका संवादहरू पाइन्छन् । फुरीका संवाद तुलनात्मक रूपमा केही लामा छन् । संवादमा क्रमबद्धता, विश्वसनीयता र प्रगतिशीलताको आधिक्य पाइन्छ । यहाँ सरकारी सेवामा कार्यरत कर्मचारीले बोल्ने, अशिक्षित सीधासाधा जनताले बोल्ने भाषाको प्रयोग भएकाले संवादमा विविधता पाइन्छ । संवादमा पाइने यही विविधता नै यस एकाङ्कीको महत्वपूर्ण पक्ष हो । थेबा र फुरीका संवादमा काम र मामको खोजीमा विदेसिएका निम्नवर्गीय जीवनका दुःखेसा र भोगेसाहरू छन् । पुलिस अफिसरका संवादले एउटा प्रहरीले साधारण गाउँको अशिक्षित व्यक्तिलाई गर्ने व्यवहारको अवस्थालाई झल्काउँछ । विशेष गरेर थेबा र फुरीका संवादमा तार्किकता र यथार्थता पाइन्छ । यिनीहरूका संवादमा ग्रामीण अशिक्षित व्यक्तिहरूले बोल्ने परिष्कारमुक्त बोली सजीव भएर आएको छ ।
एकाङ्कीमा कतैकतै लामा झन्झटिला भावुक संवादहरूको प्रयोग पनि गरिएको छ । पात्रहरूको स्तर, योग्यता, क्षमता र जातजातीअनुसारकै भाषिक संवादको प्रयोगले यसको कमजोरीलाई शिथिल बनाउँदा समग्रमा संवादयोजना सफल नै देखिन्छ । मुखियाको संवादकलामा सहजता, विशिष्टता र प्रतीकात्मकता पाइन्छ । साधारण बोलचालको कथ्यभाषा वा भाषिकाहरूको अत्यधिक प्रयोग गरिएको छ ।
४. वातावरण
प्रत्यक्षरुपमा यस एकाङ्कीमा दार्जिलिङे प्रवासी नेपाली श्रमजीवीहरूको वेदनापूर्ण कहानीले आर्थिक परिवेश तयार पारिएको छ । बिहान–बेलुकाको हातमुख जोर्न धौधौ पर्दा विदेसिन बाध्य भई दार्जिलिङ पगेका नेपालीहरूले जीवन धान्न गर्नुपरेका दैनिक सङ्घर्षहरूलाई यथार्थरूपमा प्रस्तुत गरिएको छ । त्यस्तै दानवीय शोषणका तीव्र पीडाहरू अनि निर्वासित जीवनका दारूण्यपूर्ण चित्कारहरू छन् । निरीह सोझा थेबा, फुरी, कालुसिंह, कलुवाजस्ता पात्रहरूको कारणिक कहानीलाई निखारेर व्यक्त गरिएको वातावरण छ । थेबा, फुरी, कालुसिंहका चरित्रमार्फत नेपालका र दार्जिलिङे समस्त श्रमजीवीहरूको व्यथावेदनालाई जीवन्तरूपमा प्रस्तुत गर्नु यस एकाङ्कीको सामाजिक पक्ष हो । प्रस्तुत एकाङ्कीका पात्रहरूको माध्यमबाट बोलीचाली, लवाइखुवाइ, वेषभूषा, धर्मकर्म, भाग्यवाद आदिका माध्यमबाट यहाँको सांस्कृतिक, शैक्षिक वातावरणको पनि राम्ररी उद्घाटन गरिएको छ । प्रहरी अफिसरलाई सराप्नु, हाम्रो भाग्य नै खोटो भन्दै भाग्यवाद मान्नाले यो कुरा पुष्टि हुन्छ ।
त्यस्तै दार्जिलिङको पुलिस स्टेशनको अफिस र त्यहाँभित्रका टेबलमा कागजपत्रको थुप्रो, कोठामा फलामे ढोका, ठूलाठूला तालाहरू, त्यही कोठाको भित्तामा टासिँएका विभिन्न अपराधीहरूका र गान्धीका फोटाहरू आदिको दृश्यचित्रले त्यहाँको सजीव वातावरण झल्काउँछ ।
५. द्वन्द्व
एकाङ्कीको एउटा महत्वपूर्ण तत्व द्वन्द्व हो । पात्र वा चरित्रहरूका बीचमा आ–आफ्नो उद्देश्यप्राप्तिका लागि चल्ने पारस्पारिक सङ्घर्षलाई द्वन्द्व भनिन्छ । प्रस्तुत एकाङ्कीमा पनि पात्रहरू आफ्नो उद्देश्यप्राप्तिका लागि आन्तरिक र बाह्यरूपमा सङ्घर्षरत देखिन्छन् । यहाँ मूलरूपमा विपन्नताका कारण वैयक्तिक जीवनले समाजसँग गर्नुपरेको वा यहाँका हरेक पात्रहरूले प्रतिकूल परिस्थिति, प्रतिकूल सभ्यता, प्रतिकुल विचार, भावना, संस्कृति, आदिसँग द्वन्द्व गर्नुपरेको छ । वर्गीय संरचनामा आधारित समाज भएको हुँदा यहाँका प्रत्येक निम्नवर्गका पात्रहरूले शोषण, अन्याय, अत्याचारविरूद्ध पनि सङ्घर्ष गरेको देखिन्छ । यिनै बाह्य द्वन्द्वले आन्तरिक द्वन्द्वको सिर्जना गरेको पाइन्छ तर मूलरूपमा बाह्य द्वन्द्व नै सफल र प्रबल देखिन्छ ।
यहाँका प्रायः सबै पात्रहरू शोषितपीडित छन् । उनीहरू समाज र अवस्थाप्रति द्वन्द्व गर्दै छन् । निम्नवर्गका व्यक्तिले उच्चवर्गका व्यक्तिसँग द्वन्द्व गर्दै छन् । कमजोर आर्थिक अवस्थाका कारण आफ्नो जन्मभूमि छाडेर विस्थापित भएका नेपाली दाजुभाई मुगलानमा गएर पनि द्वन्द्वात्मकहरूपमा संघर्षशील र क्रियाशील हुनै पर्दछ । आफ्नो मूल शत्रुका रूपमा गरिबी अगाडि पहाड बनेर उभिएको छ । थेबा, फुरी, कालुसिंह दार्जिलिङको जेलमा वेदनापूर्ण यातनाको शिकार हुनाको कारण पनि यही नै हो । यिनीहरू जेलबाट मुक्तिको चाहना राख्छन् तर प्रहरीबाट त्यति सजिलै विमुक्ति दिने सम्भावना देखिदैँन यहाँ पनि बाह्य द्वन्द्वको अवस्था देखिन्छ ।
६. उद्देश्य
प्रस्तुत एकाङ्कीको उद्देश्य निर्धनताले सताइएका काम र मामको खोजमा नेपालबाट विस्थापित भई दार्जिलिङ पुगेका निम्नवर्गीय श्रमजीवी नेपालीहरूको जीवनको खण्डित गाथा प्रस्तुत गर्दै एकाङ्कीलाई प्रभावोत्पादक बनाउनु हो । यो एकाङ्कीका बहुसङ्ख्यक श्रमजीवी पात्रहरू भोक र गरिबीबाट विमुक्तिका लागि सङ्घर्षरत देखिन्छन् भने यसमा एकाङ्कीकारको शोषणदमनरहित स्वस्थ समाजको सिर्जना गर्ने यथार्थवादी प्रगतिवादी अवधारणा प्रकट भएको पाइन्छ । यसमा विषम समाजका जड्वादी कुसंस्कारलाई पन्छाएर विकृतिलाई निर्मूल पारी अप्रजातान्त्रिक कुतत्वलाई आमूल परिवर्तन गर्दै समयसापेक्ष लोककल्याणकारी व्यवस्थाको स्थापना गर्नुपर्ने उद्देश्य पाइन्छ । एकाङ्कीमा तत्कालीन शासनपद्धतिको आडमा लुकेर उच्च सरकारी कर्मचारी र सामन्तवर्गहरूले निरीह गरिब र निर्दोष जनतामाथि गरेको क्रुर अन्याय र थिचोमिचोलाई देखाइएको छ । अत्याचार, उत्पीडन श्रमको नाजायज शोषण र मनमानी उपद्रवहरूलाई पीडित पात्रहरू थेबा फुरी कालुसिंहका चरित्रमा घटाएर छर्लङ्ग पार्ने लक्ष्य लिएको छ । त्यसको विरोधमा जनचेतनालाई उनीहरू मार्फत जागृत गरी सङ्घर्षको मैदानमा ओर्लेर आफ्नो हकहितलाई चिन्ने र त्यसको प्राप्तिका लागि एकजुट भई अघि बढ्ने सन्देशलाई प्रतीकात्मक रूपमा व्यक्त गरेको पाइन्छ । यस एकाङ्कीमा प्रयुक्त समाजलाई गरिबी, मूल्यहीनता बेरोजगारीजस्ता आर्थक समस्याले आक्रान्त पारेको छ । यही समाजको एउटा विषम संरचनालाई आमूल परिवर्तन गरेर आर्थिक असमानता र शोषणका कहालीलाग्दा क्षणहरूको अन्त्य गर्दै परिवर्तित शोषणरहित नयाँ समाजको निर्माण गर्ने चाहना राख्नु पनि यसको उद्देश्य हो ।
७. भाषाशैली
प्रस्तुत एकाङ्कीको भाषाशैली सरल सहज स्वभाविक र कलात्मक छ । यसमा सामान्य पाठकहरूले पनि बुझ्न सक्ने बोलीचालीको सम्पे्रष्य भाषाको प्रयोग गरिएको छ । सामाजिक जीवनको यथार्थतालाई अभिव्यक्त गर्ने यस एकाङ्कीको भाषा पनि यथार्थपरक नै देखिन्छ । परिवेश वातावरण र चरित्रको स्तरअनुसारको स्वभाव र अवस्थाअनुसारको भाषाको प्रयोगले गर्दा एकाङ्कीमा सजीवता, स्वभाविकता, रोचकता, कलात्मकता, अभिनयात्मकता आएको छ ।
समग्रमा हेर्दा मुखियाको भाषिक कला परिष्कृत–परिमार्जित नै देखिन्छ । अझ यसलाई रसिलो, स्वादिलो, चुट्किलो बनाउन विभिन्न हिन्दी तथा नेपाली उखान र टुक्काको प्रयोग गरिएको छ । यस्ता उखान र टुक्काको उचित प्रयोगले एकाङ्कीको मीठो स्वादलाई झुस्याइदिएको छ । त्यस्तै अनुकरणात्मक शब्द प्रयोग गर्नुका साथै दार्जिलिङमा बोल्ने बोलीलाई जस्ताको तस्तै थपक्कै राख्नाले एकाङ्कीको सफलता उत्कर्षमा पुगेको अनुभव हुन्छ । दार्जिलिङको जनजीवनलाई थपक्क टिप्न खोज्दा त्यहाँको जनजिब्राले बोल्ने हिन्दी, अङ्ग्रेजी शब्दको प्रयोग, व्याकरणगत विचलन, बचत, लिङ्ग, पुरूषमा कहीँकहीँ असङ्गति हुन पुगेको छ । यसरी भाषिक दृष्टिबाट हेर्दा साधारण कमजोरी देखिए पनि एकाङ्कीको सफलताका आधारमा हेर्दा स्वाभाविक नै देखिन्छ ।
उपप्रा. कृष्णप्रसाद कोइराला
पिण्डेश्वर विद्यापीठ, धरान–१४, सुनसरी
(स्रोत : साहित्यघर – निहारिका)