कविता : समयको अनुहार

~कुमार आले~Kumar Ale

समयको अनुहार खस्न नपाउंदै
अनुहार सम्हाल्न
विचारको खेती उमारेर
एउटै खलामा
अन्त्यहीन छलफलको सामना गर्न
आऊ
ए ! दाइ साइलाहरु!
तिम्रो आवश्यकता छ
आऊ
ए ! दर्जि साँहिला बा आऊ
तिमीले विचारको खोल सिउनु छ
ए ! विश्वकर्मा ठुल्दाइ घन र आरन लिएर आऊ
तिमीले मान्छेको मनबाट अहंकारलाई खोसेर मुर्ति जोड्नु छ
ए ! मिजार काका आरो र बाको लिएर आऊ
तिमिले देश हिडने जुत्ता सिलाउनु छ
ए ! माझिदाइ वहान बोकेर आउ
तिमीले मान्छेका भ्रमका बीचबाट डुङ्गा खियाउनु छ
आऊ
ए ! गन्धर्व दाइ सारंगी लिएर आउ देशको मिठो राष्टिय गित गाउन छ
ए ! थुप्रै थुप्रै अरनिकोहरु
आऊ
एक ध्रुवीय कम्पास बनाउनु छ
ए सबै सबै आऊ
यार्चागुम्बादेखि सिरिसको फूल फुलाउनु छ
आफ्नै भाषामा गाउदै खोलाहरु संगै बगेर आऊ
आफ्नै पहिरनमा सजिएर हावासंगै उडेर आऊ
आफ्नै देशको अनहार बोकेर आऊ
आऊ
तिम्रो आवश्यकता छ
आकाश एउटै ओढेर आऊ
आऊ एउटै माटो टेकेर
सगरमाथा तिम्रै हो
चन्द्र सूर्य झण्डा तिम्रै हो
अन्त्यहीन छलफलको सामना गर्न
आऊ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.