~डिल्ली मल्ल~
अचेल साँझ नपर्दै
पड्किन थाल्छन् सहर छेऊमै
“बहिस्कारवादी सकेट बम”हरु
र, तर्साउन खोज्छन् ब्यालेट बक्सहरुलाई
तर, किन–किन मलाई
बम पड्किदा पनि रमाइलै लाग्छ ।
अचेल हरेक बिहान
पड्किन थाल्छन् चोक–चोक र गल्लीहरुमा
व्यालेट बक्सधारी “अखबारी बम”हरु
र, जिस्काउँछन् आफ्नै प्रतिस्पर्धीहरुलाई
तर, किन–किन मलाई
बम पड्किदा पनि रमाइलै लाग्छ ।
हरेक साँझ
सकेट बम पड्किरहँदा
अखबारी बम बारुद पिसिरहन्छन्
सेलाउँदै जान्छ जब सकेट बमको “सुगन्ध”
गन्हाउन थाल्छन् अखबारी बमहरु
यतिखेर म
सकेट बमको धमका सुन्दै
अखबारी बमको बारुद पिस्दैछु
किनकि
सकेट बमको “सुगन्ध” नसेलाउँदै
छर्नु छ मैले सहरमा नयाँ “दुर्गन्ध”
च्यापेर पस्नु छ भोलि सबेरै
सहरका गल्ली–गल्ली
र, कोट्याउनु छ प्रत्येक सटरहरु
घुसाउनलाई अखबारी बमका पोकाहरु ।
अचेल
दुर्गन्ध र सुगन्ध छुट्याउँदै गाह्रो हुन थालेको छ
किनकि
सकेट बम र अखबारी बम उस्तै–उस्तै लाग्छ ।
२०७० कार्तिक २०
(स्रोत : रचनाकारको ब्लगबाट सभार)