कथा : एकदिन पक्कै सुदिन फर्किन्छ भाइ

~देबेन्द्र बस्याल~devendra-basyal

टोक्योको ब्यस्त सडक, प्रचण्ड गर्मी, सडक देखि केही भित्र सानो इन्डियन रेष्टुरेन्ट, बाहिर मानिसहरु खरेनान खान लाईन लगाइरहेका छन् । जापानीजहरुको बानी सानो कुरामा पनि ठ्याक्क लाइनमा बस्ने र पालो कुर्ने हुन्छ । काम गर्नेहरुले पनि कसैलाई पनि भेदभाव नगरी समानताका आधारमा सेवा उपलब्ध गराउने चलन छ । नाताबाद र कृपाबाद यहाँ चल्दैन । सबै बरावर भन्ने यहाँको मेन प्रिन्सीपल देखिन्छ । चन्द्रे र दले कुक किचनमा व्यस्त छन भने साहु वेटर गर्दछन हलमा । चन्द्रेले करी बनाउछ भने दलेले तन्दुरी हेर्छ । उनीहरुलाई भ्याइनभ्याइछ, रस्साकस्सी छ त्यहाँ ।

“यस्तो पनि नान हुन्छ ?” साहुले त्यही नानले कुकलाई हिर्र्काए तर दले तर्कीयो र बच्यो । उनी रिषको झोकमा आफै तन्दुरमा गएर नान हाने । तन्दुरको विटले हात पोलेछ साहुले पोलेको ठाउँमा चाटे । एक छिन पछि पहिला फ्याकेको नान भन्दा पनि नराम्रो नान तन्दुरबाट निकाले अनि कष्टम्वरलाई लगेर दिए । पहिलाको नानको विटमा थोरै काँचो जस्तो देखिन्थ्यो तर साहुले हानेको नानको टुप्पो डडेको बाङगो पछिल्लो भाग काँचै थियो । कुक अमिलो हुँदै देब्रेहातले पसिना पुछ्यो र तन्दुरी सेट गर्नमै व्यस्त रहयो । उस्ले कतिवेला ग्यासको राँको मिलाउछ त कतिवेला नुनपानीको घोल बनाएर तन्दुरमा पोछा लगाउछ । मैले के गर्ने माटाको तन्दुर भए जानेको थिएँ यस्तो सिमेन्टको तन्दुर उसमाथी लन्चमा ५०-६० जना एकैसाथ छिर्छन । दुई राउण्ड नान हान्यो कि तन्दुर सेलाउछ काम गर्न छाड्छ ।

दलबहादुरलाई सबैले दले दले भन्छन दले एक्लै पुटपुटायो । ५०–६० जना एकैपटक छिरेभने कसैले चिजनान खान्छन चिजनान बाक्लो हुन्छ २–३ वटा चिजनान हान्नेहो भने तन्दुर सेलाउन थाल्छ । पचास साठीवटा नान हान्दा ग्यासको तन्दुर मिलाउन नसकेर दले हैरान हुन्छ । त्यसैमा चिसो सिखकबाव, तन्दुरी चिकन, टिक्का पोल्नुपर्ने कष्टम्वरको अडर अनुसारको सेट मिलाउनु पर्ने भर्खर नेपालबाट आएको दलेलाई पर्नु पिर परेको छैन । कतिवेला साहुसंग रिष उठ्छ त कतिवेला तन्दुर देखेर फन्का छुट्छ उसलाई ।

“मैले त्यो डिग्री सजिलै कटाको हुँ तर नान हान्न निकै गाह्रो भो दाई”, करी सेफलाई हेरेर दलेले मुख खोल्छ ।

“त्यो पढाई हो यो ट्रराई हो नी भाई त्यसै कहाँ मिल्छ लाख”, चन्द्रे खिसिक्क सेता दाँत देखाएर हाँस्यो । “मलाई खुसि लाग्छ भाई तिमिसंग कामगर्न पाउँदा किन भने तिमि डिग्री होल्डर पर्यै म भने कोदालो र डाडु होल्डर हुँ । मैले खेतबारीको काम देखि करीनान सबै गर्छु तिमिलाई भने तन्दुरी समाल्न पनि हम्मेहम्मे परिरहेको छ ।” चन्द्रेले कुरा सक्यो ।

दलेले जवाफ फर्कायो “म बाटो बिराएको कुक हुँ दाई मैले यो कामको लागि भनेर पढेको हैन जीवनभरी यहीकाम गरेकोभए म पनि कम हुने थिईन तिमि भन्दा ।”

“काम नलाग्ने के भढिस त ?” फेरी चन्द्रेले झट्का हान्यो ।

“भो दाई यी पढाईका कुरा नगरौं काम धेरै छ नानको पिठो सकियो पिठो मुछ्नु छ । लसी सकियो दुई प्रशन जति होला । सलाद छैन, ड्रेसिङ छैन खाटीकुरा भन्नु पर्दा मलाई बोल्ने फुर्सद पनि छैन सक्छौ भने हेल्प गर दाई साहु कस्ता छन थाहैछ मितिलाई ।”

दलेले २५ केजीको मैदाको बोरा बोकेर ल्यायो, अण्डा, दुध, पानी, नुन, चिनी र वेकिङ पाउडरको घोल बनाएर मुच्छ्न शुरुगर्यो ।

“मेरो पनि मटन चिकन, किमा, ग्रेभी केके छ छैन हेरेको छैन भाइ । ल म ड्रेसिङ बनाईदिन्छु” चन्द्रेले दलेमाथी दयाको भाव देखायो ।

कालो भातगाउँले टोपी सेतो सट कालो पाईट लगाएको दले एप्रोन बाँधेर ठूलो हण्डीमा पिठो पुछ्दै छ । टोकियोका रेष्टुरेन्ट, साँगुरा किचन तपतपी पसिना पिठोमै चुहाउछ दलेले, पसिना पुछोस पनि कसरी दुवैहात पिठोमा रोमलिएको अवस्था छ पसिना नचुहाइ सुखै छैन पिठोमा ।

“खै कति दिन बाँचिन्छ र दाई यही गतीले जापानमा”, दलेले नैरास्यताको भाव पोख्यो चन्द्रे सामु ।

“सानो मन बनाउन हुन्न दले आटा र पिठो संग लड्नु नै हाम्रो कर्म हो । हरेस नखा पछि पछि सजिलो हुन्छ ।”

“काम सधैं यही हो साहुले मान्छे राख्दैनन् ज्यानले हरेष खाइसक्यो दाई मेरो त । साहु अडर आउन नपाउदै नान भन्दै आउछन नराम्रा गाली गर्दछन । तन्दुरीको चाल त्यस्तो छ । कसरी हुन्छ र दाई अ‍ैले” दले झन विह्वल हुदै भन्छ ।

“हेर भाई कहाँ सुख होला भन्दै म ३–३ ठाउँमा काम छोडेर हिंडे आखिरमा जहाँ गएपनि आफ्नो कर्म गर्ने हो झन यहाँ भन्दा पनि दुख पाईन्छ अनेत्र, काम छोड्ने कुरा नगर खुत्रुखुत्र दुईभाईले यही २–४ साल गरेर घर फर्कैाला नी”, चन्द्रेले आषाका फूल रोप्यो ।किचनको एक्जीष्टफ्यान चलायो अलि शितल आनन्दको महसुस भयो ।

“साहुले मार्लान नि दाई फ्यान चलाउदा”, दले डरायो ।

“तेरो त्यो हाल देखेर चलाको हुँ भाई पिर नगर”, चन्द्रेले ढाडस दियो ।

दलेले पिठो मुछ्यो र ढाकेर राख्यो । “दाई साहु कता गए ?”, दलेले चन्द्रेलाइ सोध्यो ।

“तेरा साहु त निष्के नी विचरा, कहाँ ह्याकुऐनको तरकारी र जुस पाइएला भनेर चहार्दै होलान् । कन्जुस साहु न स्टाफलाई राम्रो खाना दिन्छन न कष्टम्वरलाई आफुमात्र मोटाउदैछन यस्तो तालले यो रेष्टुरेन्ट कतिदिन चल्ला र ? हामीलाई मारीमारी ठूलो घर बनाउने दाउमा छन केटा तेरा साहु”, चन्द्रेले कटाक्ष हान्यो ।

“कुरा गरी साध्य छैन दाई हाम्रा साहुका, पछि कुरा गरौंला भ्याट्ट आएर सुन्लान सचेत हुनुपर्छ । मेरो त गर्नुपर्ने धेरै छ”, दले गुनगुनाउदै सलाद काट्न लाग्यो ।

“ल हेर्नुस दाई यो डाम्म्रीएको गाजर र भित्रभित्रै कुहेको लेटस, महेंलै भैसकेको बन्दाको कस्तो सलाद बनाउने हो मैले ? फ्याकौं भने साहुले जागीरै खाईदेलान भन्ने पिर नफ्याकौं भने मनै मान्दैन ।”, चन्द्रेले बीचमा कुरा टिप्यो “त्यतीमात्र हो र तैले फ्याकेको साहुले देखे भने नफाल राख त्यही भरे स्टाफको तरकारीमा हाल्न हुन्छ भन्छन” चन्द्रेले मुस्काउदै दलेतिर हेर्छ ।

दले हैरान परेको स्वरमा चन्द्रे तिर प्रश्न गर्छ , “यो होटल लाईन त सारैखराब पो रहेछ है दाई ?”

“हैन, तैंले नेपाली गीत सुनिनस् र भैंसी पालेर भन्ने, दुधमा पानी मिसाएर बेच्ने, बासीभातलाई साजी भनेर खुवाउने पैसा धुत्ने, यही हाम्रो होटलमा हेरन किन टाढा जाने यस्तै हो भाई । मटन, किमा, चिकन पकाएर राखेको एक हप्ता भैसक्यो । मम बनाएर राखेको ६ महिना भैसक्यो के गर्ने मान्छे नआएपनि मेन्युमा भएको बनाएर राख्नुपर्छ तत्काल बनाउन सकिदैन”, चन्द्रेले जे हो त्यही वास्तवीकता खोल्यो ।

“हो दाई”, दलेले सहि थाप्यो । दले कोमल मन भएको व्यक्ति छ समाज, व्यक्ति र व्यवहारलाई बुझेको छ आवश्यक कुरा बोल्छ अनावश्यक कुरा बोल्दैन । आज दलेले चन्द्रेसामु व्यवहारीक कुरा खोल्छ । “जापान आउदा लागेको १५ लाखको सामव्याज रिणले बस्न खान छैन दाई के गर्ने होला ? साहुले तलव नदिएको २ महिना भैसक्यो साथमा दैनिक खर्च गर्ने थोरै पैसा पनि छैन । कसरी हो चल्ने ? नानी बाबुसंग बोल्न मन थियो पैसा छैन । बुढीले कसरी चलाउदै होलिन घरव्यवहार संझेर ल्याउदा रातमा निद लाग्दैन । मरी मरी काम गरीन्छ समयमा तलव पाईदैन, नत राम्रो खाना नत राम्रो बोली व्यवहार, असिना र पसिना दिनरातको कडा काम ।”

“दले पिर नगर”, चन्द्रेले सम्झाउन थाल्छ, “जापानलाई बुझ, यो पूँजीवादी देस हो । यो देसको समय र स्थिरतालाई कावुमा पारेर नेपालीले नेपालीलाई नै ठग्ने धन्दानै चलेको छ यहाँ, धनदौलतका मामलामा पूँजीपतीहरुको बीचमा बेमेल छ आफन्तहरुको बीचमा पनि बोलचाल छैन, रिषारिष र पापापाप छ कुनै दिन निश्चितरुपमा धैर्यताको बाँध फुट्ने छ र श्रमजीवी कुकमज्दुरहरुको दिन खुल्ने छ । तर हामी एक हुनुको विकल्प छैन । संगठन विनाको सपना कल्पना गर्न पनि सकिन्न । हाम्रो एकताले सवै कसिंगर बगाएर लैजाने छ र मज्दुरहरुको सुखका दिन फिर्नेछन । हाम्रो सपना पुरा हुनेछ ।”

“हुन त हो दाई तर कहिले आउला हाम्रो दिन ?”

“चिन्ता किन गर्छस भाई यहाँ पनि विभिन्न समाज, सघं संगठन बन्दैछन, एकताका अवाज बुलन्द गर्दै छन, अहीले त जापान नेपाली एकता समाज खुलेको छ रे, त्यसले नै सबै कुकहरुका समस्यालाई जापान सरकार समक्ष राख्ने र यहाँका शामन्ती फटाहाहरुको घाँटीमा नाम्लो लगाउने हो रे भाई बरु हामी त्यो एकता समजमा सामेल हुनुपर्छ र आफ्ना पिरमर्का पोख्नुपर्छ ।” चन्द्रेले रातो खुम बनाएर बोल्यो ।

दलेले अझैपनि नैरास्यताका साथ बोल्छ, “हुन त हो दाई तर कसरी, न हप्तामा छुट्टी छ न कामगर्ने समयको हदवन्दी छ १२–१४ घण्टा काम गर्नु पर्छ । यो जोत्दा जोत्दै हलाक भएको गोरुको जस्तो जीवनले के गर्न सक्छ र? पहिला हाम्रो मुक्तीको कुरा गरौं, कमसेकम हप्तामा एक छुट्टी, राम्रो खाना, बस्न, तालिम, राम्रो बेतन यी यावत कुराहरुको कुरा गरौं दाई ।”

“हो त्यसैका लागि पहिला हामी एकजुट हुनुपर्छ विना एकजुट हामी केही गर्न सक्दैनौ । एकता नै बलहो भन्ने कुरा नभुलेर हामी अगाडी बढेको खण्डमा एकदीन सफल हुने छौं र शामन्तवाद माथी मज्दुरहरुको बिजय हुनेछ भाइ ।”

– देबेन्द्र बस्याल, जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.