औंलाम बिंडि च्यापेर
एकजोडा मान्छेहरु सडकको छातीबाट हिंडिरहेछन्
खडेरी परेका उदास-उदास
खेतहरुमाथि आकाश पानीको गीत गाइरहेछ
मातेर एक ट्वाक अमृत जलले
नौजवानहरु होटलबाट निस्किरहेछन्
भेलियम खाएर केटाहरु
चोकको फलैंचामाथि हल्ला मारिहरेछन्
म बबुरो दाईसंग अगुल्टो मागिरहेछु
म मुखमा मैनबत्ति सल्काईरहेछु
घरबाट बोलाउन आएकी
ए मेरी बहिनी, पर्ख !
म चेस खेलिरहेछु ।
मेरो टाउको तरकारी बसालेको अगेनो भइरहेछ
भूपरिबेष्ठित मुलुकलाई
दुवैतिरका भित्ताहरुले चेप्दै लागे झैं म चेपिंदै गइरहेछु
खेल सक्नै लागिसकेको छ
ऊँटले हात्ती खाइसक्यो अब
पिप्साले राजालाई चल न हल बनाइसकेको छ
म नदीका किनारामा प्रतिरक्षाका बाँधहरु ओच्छ्याइरहेछु
मेरो सर्पमाथि गरुडहरु उडिरहेछन्
म आगामी स्टेपहरु सोचिरहेछु
म चेस खेलिरहेछु ।
बादलहरु अकार्कामा ईर्ष्यालु आँखा हेराहेर गरिरहेछन्
हवांङ लुगा फुकाएर
आकाश कालो पोखरीमा पौडी खेलिरहेछ
बादलहरुले एक-अर्कामा युद्धको घोषणा गरिसके सायद
आकाशमा निरन्तर बमहरु पड्किरहेछन्
चट्याङहरु भाँडा माझिरहेछन्
हामी अलिक भित्र सर्ने प्रयत्न गर्न थालेका छौं
म
मुसोलोनीको खुल्ला ढोकातिर मन्त्री सारिरहेछु
म सोचिरहेछु
म पिप्सा बढाईरहेछु
म घोडाले राजाको टाउकोमाथि धावा बोलिरहेछु
म ऊँटले बिपक्षीको टाउको निल्ने असफल सुरसार गरिरहेछु
रात परिसक्यो, थाहा छ
तर, एकक्षण पर्ख है रोशन !
म चेस खेलिरहेछु ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)