कविता : आँगनमा आज मेरा प्रियतम आए…

~निर्मोही व्यास~Nirmohi Vyas

कस्तो हुन्थ्यो यो दिनलाई साँची राख्न पाए !
आजै जस्तो मेरो हजूर फेरि पनि आए !
छातीभरि छचल्किने आज खुसी कति
मन मेरो चुल्बुलिने आज अति अति ।

कस्तो हुन्थ्यो यस्तै मन सधैँ सधैँ पाए !
आजै जस्तो मेरो हजूर फेरि पनि आए !
यौटा रूप आँखाभरि आई बस्यो यस्तो
आँखाहरू कत्ति पनि नबिझाउने कस्तो !

कस्तो हुन्थ्यो यो रूपलाई थुनी राख्न पाए !
आजै जस्तो मेरो हजूर फेरि पनि आए !
जत्ति ठान्छु अघाएँ म उत्ति चाह जाग्छ
भन्नै गाह्रो आज मलाई कस्तो कस्तो लाग्छ !

कस्तो हुन्थ्यो मन खोल्न शब्दहरू पाए !
आजै जस्तो मेरो हजूर फेरि पनि आए !
आज मलाई नपाउनुको पीर कुनै छैन
केही पाऊँ भन्ने पनि रहर कुनै छैन ।

कस्तो हुन्थ्यो भावहरू सधैँ यस्तै पाए !
आजै जस्तो मेरो हजूर फेरि पनि आए !
आज मलाई नपाउनुको पीर कुनै छैन
केही पाऊँ भन्ने पनि रहर कुनै छैन ।

कस्तो हुन्थ्यो भावहरू सधैँ यस्तै पाए !
आजै जस्तो मेरो हजूर फेरि पनि आए !
आँगनमा आज मेरा प्रियतम आए…ए !
आजै जस्तो मेरो हजूर फेरि पनि आए !
आँगनमा आज मेरा प्रियतम आए…

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.