कविता : हिउँ र तिमी

~दिनेश अधिकारी~Dinesh Adhikari

न्यानो लाग्नेगरी
चिसो हिउँ परिरहेको छ
र, म तिमीलाई
हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झिरहेँछु
त्यसबेला
तिमी असाध्यै नरम र न्यानी थियौ ।

कपासजस्ता हिउँका कोमल फूलहरू
समय बित्दै जाँदा
कठोर चट्टानमा परिणत भएछन्
अहिले म
त्यही हिउँ-चट्टानमा उभिन आइपुगेको छु
जुत्ताको तलुवा छेडेर
खुट्टाको बाटो हुँदै
चिसो शरीरभरि फिँजिएको छ
प्रत्येकपल्ट पाइला टेक्ता चिप्लिने डरले
मस्तिष्क एक किसिमले काँपिरहेको छ
हाम्रो वर्तमानमा
एक पटक फेरि
म तिमीलाई सम्झिरहेको छु
अहिले तिमी
हिउँ-चट्टानभन्दा पनि कठोर लागिरहेकी छ्यौ!

हामी खेल्ने ठाउँको मौसमी हिउँ न हो यो
हिउँको कठोरता पनि
कहाँ धेरै दिन टिक्दोरहेछ र ?
अलि पर
तलतिर
विस्तारै विस्तारै
पग्लँदै
पानी भएर हिउँ बग्दै गरेको देखिरहेँछु
र, मनमनै कामना गरिरहेँछु-
हिउँको यो स्वभाव
चाँडै तिमीमा पनि सल्कियोस्
विश्वास छ,
हाम्रो आगामी भेट अगावै
हिउँ-चट्टानबाट
तिमी कलकलमा परिणत भइसकेकी हुनेछ्यौ ?
न्यानो लाग्नेगरी
चिसो हिउँ परिरहेछ
र, म तिमीलाई
हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्भिरहेँछु
त्यसबेला
तिमी असाध्यै नरम र न्यानी थियौ ।

-पो.ब.नं. ९४४३, काठमाडौँ

(स्रोत : मधुपर्क २०६५ चैत)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.