~प्रणिका कोयु~
गते, बार, बजे
याद छैन
याद छ त यही कि त्यो दिन
मेरो सास अड्किएको थियो
अविश्वासमा कि घमाइलो बिहानी
अँधेरो बन्यो एक्कासी त्यो विरानो देशमा
अनि मेरो आतंक सर्यो
पिलिक पिलिक मेरा दुइ साथीको इनबक्समा
चाल मार्न नजानी-नजानी
ढोकाबाट निस्केर छिमेकको चियोलाई तान्दै
बिच सडकमा बुटको तुना कस्दै थिंए
त्यो आवाजले मलाई प्रश्न सोध्दा
“बहिनी कता जान लाग्नु भएको?”
र दौडें बेतमास उत्तर नदिइ कहालिंदै फोन थिच्दै
के गरें मैले त्यसपछि?
सोचिरहन चाहन्न
एक्लिएर अनि अलमलिएर
एउटै ट्रेन स्टेशन पो भित्र-बाहिर गरिन कि?
१०१ नम्बर थिच्दै-काट्दै पो गरिन कि?
वेबसाइटमा मेट्रो पुलिसको शिकायत पो लेखिन कि?
के गरिन मैले त्यसपछि?
सोच्न चाहन्न म कहाँनिर चुकें त्यो बेला
एक्लिएर अनि अलमलिएर
म भौंतारि हिड्दा भरोसाका हाथहरूले मन भाँचिदिए हजारौं टुक्रामा
कोशौं टाढा भएका मायालु साथहरू पहेंलिए र बिलाए सदाका लागि
मौसम त्यसै बेरंगी त्यो ठाउँमा
झनै उजाडिए बाँकी दिनहरू
एक्लिएर अनि अल्मलिएर हिंड्दा
यि दौरबाट गुज्रेका छाँयाहरू अघिल्तिर उभे
मनको कुनै कुनामा ओत लागेर बसेका उनीहरू
सुमसुमाउँदै मलाई दुख भरिएका स्नेहले
असरल्ल बगिदिए र बगाए मलाई सँगसँगै
एक्लिएर अनि अल्मलिएर हिंड्दा
मैले के बुझें?
मैले के देखें?
कसलाई होला थाहा
कसलाई होला इच्छा
मेरो मन मर्यो त त्यही बेला
त्यही दिन
समय, बार, गते याद छैन मलाई
छ त यही कि त्यो दिन
मेरो सास अड्किएको थियो
अविश्वासमा कि घमाइलो बिहानी
अँधेरो बन्यो एक्कासी त्यो विरानो देशमा
अनि म कहालिंदा पनि सिर्फ दुइले सुने मेरा कुरा
अरूले त चुप लाग भने र
म चुपचाप
एक्लिएर अनि अल्मलिएर हिंडे
आज पनि यि खै भन्न सकिन त
किन म मरें त्यही क्षण, त्यही दिन!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)