~डा. आनन्द जोशी~
यद्यपि शब्द चेसको गोटी होइन
तैपनि शब्दलाई
कहिले यता, कहिले उता उफारी उफारी
कहिले दौडाएर, कहिले रोकेर, कहिले घुमाएर
चव्रmव्यूहमा कैद गरिरह्यौ तिमीले –
जिन्दगीलाई ।
अचेल जिन्दगीको इच्छा
पानीविनाको पोखरीमा फ्यालिएको माछा साबित भइसक्यो ।
ओहो ! के यही अन्तिम नियति हो कि !
शब्दहरु न त चेसकै गोटी हुन्
न जेलिएको बाटो हो, न गतिलाई थुन्ने खोर हो
प्रयोग गर्न मात्र जान्नुपर्छ
त्यो त हतियार भइदिन्छ – अन्यायलाई अन्त्य गर्न
त्यो त विद्रोहको झन्डा भइदिन्छ – बाँच्ने अधिकारका लागि
त्यो त निर्णायक आवाज भइदिन्छ – स्वतन्त्रताका लागि
मैले त शब्दलाई पानी सरि बगाएँ परिवर्तनको स्रोतका रुपमा
हावा सरि ओहोरदोहोर गराएँ जीवनको शक्तिका रुपमा
घाम सरि फैलाएँ विस्तृत विचारसँगै बाँच्न
चेतनाको हात बनाइ स्पर्श गरेँ जिन्दगीलाई
शब्दको प्रयोग गर्दै लेखिरहेँ मैले कविता र हाइकु
सङ्घर्षको र विजयको
मान्छे मान्छेबिच सम्बन्धको र सार्थकताको
स्वतन्त्रताको र मुक्तिको
यसको अर्थ
जीवन्त प्रयोगमा नै
शब्दको अस्तित्व ।
जीवन्त प्रयोगले नै
जन्मन्छ आस्था
बाँच्ने आधार भएर ।
– – – – – –
(स्रोत : शब्दाङ्कुर, बर्ष १५, अंक ३, पूर्णाङ्क १७१, पुस २०७२, पेज ५ )