कविता : खाल्डोभित्रको गुहार

~गोविन्दप्रसाद आचार्य~

मृत्युले चुसेका छोक्राहरू माटोले खाने गर्छ
छोक्रा खाएर माटो पोषिलो बन्छ
झारबोटहरू माटोको रस चुसेर पोषिला बन्छन्
पोषिला बोटहरू फुल्दै रसिला फल्ने गर्छन्
खाल्डोभित्र मात्र मुर्दा गाडेको थाहा छ
निरिह चिहान देखेर मन डराएको थाहा छ
कल्पनाको भूत देखाएर
मन, दिल सोचाई हृदय मुर्दा बनाउँनेलाई
बाघ बनेर भम्टिन मन लाग्छ
भूत प्रेतले चपाएका मनभरी
निडरताको मल्हम लगाएर निको पार्न मन लाग्छ
पाइलापिच्छेका तर्सावटहरू
माटोका जिम्मा लगाउन मन लाग्छ
सुनेको छु
भूतसँग जिउँदो मान्छेले गरेका वार्तालापका कथाहरू
सुनेको छु
भूतले मान्छेसँग हार्दिकता गाँसेर निमाएका कर्तव्यहरू
भूतसँग कतै हार्दिकताको नाता छ
कतै मनभरी त्रासको टाटा छ
मनभित्र भूत बसेको छ
जीवन, जगत, भूतले डसेको छ
प्रकृति अनि सोचाई हेराईभरी भूत टाँसिएको छ
यस्तै–यस्तै वादविवादका तानातानभित्र मन अल्झिएको छ
विश्वास गरौँ माटो बोल्दैन
विश्वास नगरौँ खाल्डोभित्र कसैले गुहार मागिरहेछन्
आवाज मान्छेको जस्तो छ खाल्डोभित्र कराउँछ
मन, भूतले थिचिदिन्छ आवाज गुहारको सुनिन्छ
मान्छे हुँ कसैलाई गुहार दिनुपर्छ
जाउँ भूतले बाटो छेक्छ
नजाउँ मभित्रको मानवता मर्छ
त्यो बाटो कति पथिकहरू हिँडे होलान्
आवाज सुन्दा कति मन झस्किए होलान्
सोचाई मान्छेको खाल्डोभित्र चिच्याउन सक्तैन
सोचाई खाल्डोभित्र मान्छेको आवाज हुन सक्दैन
सुन्नेहरू भूतको आवाज भन्ने गर्छन्
मन भूतले पालेजस्तो
सङ्कटहरू भूतका छेकवारमा विलापको आँशु पोखेजस्तो
मानवता मार्ने भूतलाई समात्ने साहस कसैले गर्दैैन
खाल्टोभित्र जति चिच्याए पनि
गुहार दिन कसैले सक्दैन
मान्छेले बनाएको भूत मान्छेलाई चपाउन छाड्दैन
गुहार माग्दा किन चुप छन् मान्छेहरू ?
अति तर्सिएर होला बेवारिसे छन् गुहारहरू
दिलको माटो समाएर निस्कन खोज्दा
माटो खसेर जीवन पुरिने डर लाग्छ
घाँसको त्यान्द्रँे समाएर निस्कन खोज्दा
उखेलिएर उल्टै पछारिन्छ
कति निष्ठुर छन् मान्छेहरू
कसैले डोरी समाउन दिए हुन्थ्यो
कति डरपोक छन् मान्छेहरू
अलिकति मानवता पलाय हुन्थ्यो
लाग्छ, मान्छे त्यस्तो होइन, भूतले झुक्याएछ
भूतले सताएका कथा दिमागभरी छन्
आवाज सुन्दा झन् झस्किने गर्छ
चिच्याउँदा–चिच्याउँदै ओठ–मुख सुके, कसैले पानी दिन्न
खाल्डोभित्र मान्छे चिच्याउँछ, कसैले मान्छे भन्दैन
खाल्डोभित्र मान्छेको होस उडेको छ
मुटुले ठाउँ छोडेको छ
झन्–झन् रात पर्दैछ
बिचरो खाल्डोभित्र छट्पटिन्छ आवाज कोही सुन्दैन
निस्कने उपाय छैन
यो खाल्डोभित्र अझै सर्प पस्न सक्छन्
यो निरिह जीवन अझै डस्न सक्छन्
किन सुनसान छन् वस्तिहरू चिच्याउँदा सुन्दैनन्
स्याल कराउँछ, हुइयाँ भन्छन्
मान्छे चिच्याउँछ, भूत भन्छन्
यो खाल्डोभित्र शीत पर्दा
आकासले सरापेर थुके झै लाग्छ
नरकको कथा सुनेको मान्छे
साँच्चै नरक साक्षात्कार भएझैँ लाग्छ
यमराजको सजाय यसभन्दा कडा हुँदैन होला
मान्छे जिउँदो मुर्दा बनाएर
खाल्डोमा पुरिएर भूत बन्नुको पिडा अर्को हुँदैन होला
मान्छे मान्छेदेखि कति टाढा भाग्छ
मान्छे मान्छेले कल्पना गरेको भूतको कथामा दर्ता भएछ
किन भागिरहेछन् मान्छे देख्दा पिच्च थुकेर
किन घिनाइरहेछन् कहिल्यै नछुने सङ्कल्प बोकेर
बिचरो हात जोडेर माफी मागिरहेछ
किन स्वीकार्दैनन् मान्छेहरू ?
मान्छे छुट्याउँने पर्खाल अति अग्लिएर दुरी बढ्छ
किन भत्काउँदैनन् मान्छेहरू ?
किन सुनसान छन् मान्छे उफ्रने मैदानहरू
किन मौन छन् बीच सडकहरू
मुर्दावाद र जिन्दावादका चर्का आवाजहरू
त्यो मान्छेले त्यो मान्छेलाई देख्दा बारीको सुर्का बेचिएको याद आउँछ
ती आँखाका आँशुभरी
पेट पाल्ने खेतको कूलो भाँचिएको सम्झना बग्छ
यो हावा त्यो मान्छेको गन्दा डकार बोकेर चलिरहेछ
सदावहार सोच्ने जीवन किन खाल्डोभित्र चिच्याइरहेछ
त्यो मान्छे देख्दा लठेप्राले मुन्टो बटारेछ
त्यो आवाज सुन्नुपर्दा बैराले कान थुनेछ
नाक ताछिएको कुरूप मान्छे देख्दा
कुनै जङ्गलबाट अनौठौ मान्छे संसारमा आएजस्तो लाग्छ
यस्तै अनौठौ मान्छे देख्नुपर्दा
खाल्डोभित्र साच्चै भूतले गुहार मागेजस्तो लाग्छ
भकारी रित्तिएको देख्दा घरभित्र अलक्षित पसेझैँ लाग्छ
भूतको अछन्दिलो नाच देखेर
हरियो प्रकृति रुँदै विदा मागेर उजाडिने गर्छ
नाङ्गो भूत देखेर होला लाज, शरम मरेको घोषणा गर्दै
माथिदेखि तलसम्म नाङ्गो स्वरूप देखाएर
पात अनि बोक्रा फ्याँकिरहेछ
जिउँदो मान्छे भूतका संसारमा पुगेछ
देख्दा जो पनि डराउँने गर्छन्

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १२ – Jan. 25, 2012 – २०६८ माघ १०, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.