कथा : भीजिट भीसा

~केसरी अम्गाईंं~

साँच्चै यस्तै हुन्छ भन्ने थाहा पाएको भए ऊ यहाँ आउदैनथ्यो ।

यो मरुभूमिको देश तातो घाममा भक्भकी पाकेर सास्ती खानुभन्दा आफ्नै घरमा गुन्द्रुक र ढिंडो खाएर भकारा सोर्नु धेरै बेश– उसलाई यस्तै लाग्दै थियो । चालीस चालीस दिनसम्म दुबईको सारा चाहार्दा पनि काम नपाए पछि निरास प्रविण पार्कमा बसेर आफ्नै अतितलाई सम्झदै थियो । यहाँ आएकोमा आफैलाई धिक्कार्दै, पछुताउदै थियो तर अब पछुताएर कुनै अर्थ थिएन ।

दुबई अन्तराष्ट्रिय विमानस्थलमा पाइला टेकेको दिन उसको भुईमा खुट्टा थिएन । सपनाको देशमा आइपुगेपछि सबै कुरा तुरुन्त ठीक भईहाल्छ । “दुबइ ओर्लिए पछि मलाई फोन गर्नु विमानस्थल भित्रबाट निःशुल्क फोन गर्न पाइन्छ, म लिन आउने छु ।” गाउँले दाजुको कुरालाई सम्झिरहे पनि ओर्लनासाथ उसले फोन गरेन । दुबई आइपुगेको खुसीमा नेपालको विमानस्थलमा भोग्नु परेको झमेला र सास्ती उसले बिर्सिएको थियो । ऊ सम्झदै छ त्यो क्षण–
हातमा बोइङपास टिकट र काँधमा हाते झोला बोकेर टर्मिनल भवनको अध्यागमन विभाग तर्फ प्रवेश गर्न खोज्दा घाँटीमा परिचयपत्र झुण्याएको त्यहीँको एक कर्मचारीले रोक्यो “ए हजुर उता उता, त्यहाँ देखाएर जानुहोस् ।” उसले श्रम अनुगमन विभाग तर्फ देखायो ।

ऊ श्रम अनुगमन तर्फ लाग्यो र आफ्नो भीसा कपि देखायो । “ए तपाईं भीजिटमा जाँदै हुनुहुन्छ ? खै पासपोर्ट दिनुहोस् त ।” भीसा हेरेजस्तो गरेपछि त्यहाँको कर्मचारीले भन्यो ।

प्रविणले आफ्नो पासपोर्ट देखायो । पासपोर्ट लिएपछि त्यस कर्मचारीले भन्यो “ल तपाईं त्यहाँ बस्दै गर्नुहोस् ।” उसले नजिकै रहेको कुर्चीतिर औल्यायो ।

“किन ?”

“तँपाईंसँग केही सोधपुछ गर्नु छ ।”

भीजिटमा जानेलाईं विमानस्थलमा झमेला दिने कुरा उसले सुनेको थियो । त्यहाँ अफ्नो व्यक्तित्व र निडरता प्रस्तुत गर्नुपर्ने कुरो पनि सुनेको थियो । यिनीहरूसँग कसरी प्रस्तुत हुने मानसिक रुपमा तयार हुदै ऊ कुर्चीमा बस्न पुग्यो । अरु दुई जना पहिला नै त्यहाँ बसिरहेका थिए ।

“तँपाईं पनि भीजिटमा हो ?” उनीहरूले सोधे ।

“हो, अनि तँपाईंहरू ?” प्रविणले सोध्यो ।

“हामी पनि भीजिटमा । यहाँ राखेको आधाघण्टा भइसक्यो, खै पठाउँदैन ।” त्यहाँ रहेका दुईजना मध्ये एउटाले भन्यो ।

“के भन्छन् ?”

“पैसा खान खोज्छन् ।” दुवैले एकैचोटि भने । “एकजना साथी चार हजार तिरेर छिरिसक्यो ।” एउटाले भन्यो ।
एकछिनमा एउटा कर्मचारी त्यहाँ आयो ।

”के हो सर, आफ्नो पैसामा घुम्न जान्छु भन्दा पनि नपाइने !?” एउटाले प्रश्न गर्‍यो ।

“हेर्नुहोस् आजभोलि अलि गाह्रो छ । तँपाई्रहरू भीजिटमा भने पनि आखिर काम गर्न नै जाने हो, सबैलाई थाहा भएको कुरा, हैन र ? श्रम स्वीकृति नभइ काम गर्न जान दिदैन सरकारले । त्यसैले भीजिटलाई रोक्छन् यिनीहरू । घुम्न जान खोज्नेहरूलाई पनि शङ्का गर्छन् यिनीहरू ।” त्यो कर्मचारीले भन्यो ।

“हैन अब के हुन्छ, छिटो गर्न पर्‍यो सर । कति खेर हुने हो सोधपुछ ?”

“त्यो सबै सकिए पछि ।”उसले काउन्टरतिर देखायो । “भएन भने क्यान्सिल पेपर तयार गरेर फिर्ता पठाइदिन्छ ।”

“तपाईहरुको पैसा जाने हो र सर ? मिलाउनु पर्‍यो नि ।”

“ऊ उहाँ सँग कुरा गर्नु’स् , उहाँले पठाउन सक्नुहुन्छ ।” परतिर हिडिरहेको कर्मचारीलाई देखायो ।

उनीहरु दुबैजना उठेर गए । त्यो कर्मचारी प्रविणसँगै बस्यो र सोध्यो, “अनि तपाईं पनि भीजिटमा, घर चाहीँ कहाँ पर्‍यो नि ?”

“रोल्पा” प्रविणले छोटो जवाफ दियो । भीजिटमा हो भनिरहनु आवश्यक ठानेन । त्यो कर्मचारीले पेशा, बसाइ, दुबईमा रहेको आफन्त सबै नालीबेली सोध्यो अनि भन्यो “के गर्नु आफ्नै नयाँ राजधानीको पर्नुभएछ, पहिला थाहा भएन । नत्र सजिलो पथ्र्यो नि, अहिले कति गाह्रो छ । तपाईंले देखिहाल्नु भयो । अब पैसा नखुवाइ त्यहाँ बाट पासपोर्ट निकाल्न गाह्रो छ ।”

“किन दिने पैसा ? के हाम्रो घुम्ने हैसियत हुदैन । उनीहरु खरदार सुब्बा होलान्, कति हुन्छ खरदार, सुब्बाको जागिर ? अनि आफ्नो हैसियत पुगेन भनेर अर्कोलाई रोक्न मिल्छ ?”

“के गर्ने हामीले भनेर नमिल्ने । तपाईनै विचार गर्नुहोस्, मैले त आफ्नै क्षेत्रतिरको हुनुभएकाले सुझाव दिएको मात्र हुँ ।” त्यो कर्मचारी अर्कोतिर लाग्यो ।

प्रविण उठेर मान्छे जम्मा भएको कुनातिर लाग्यो । त्यहाँ विभिन्न कुराहरू हुदै थिए– “पैसा छैन भने ट्राभल चेक भए पनि हुन्छ । बरु छिटो गर्नुहोस्, समय कम छ ।”

“सय डलर त मसँग छैन ।”

“त्यो भन्दा कमले त हिसाब मिलाउनै सकिदैन तपाईलाई छिराउन सबैलाई दिनु पर्दछ ।”

यहाँ सहि गर्नुहोस् यहाँ, “यता कुनामा आउनुहोस नदेख्ने गरेर दिनुहोस् । नत्र गाह्रो पर्छ ।”

“पैसा दिएको कसैलाई नभन्नुहोला ।”

“चाहिदैन चाहिदैन, त्यहाँ पुगेपछि तँपाईंलाई ट्राभल चेक चाहिदैन ।”

त्यस कुनामा अध्यागमनबाट भित्र पठाउन लेनदेनको कारोबार भइरहेको थियो । विमानस्थलका कर्मचारीहरु दलाली गरिरहेका थिए । सोझा र गरिब आफ्नै दाजुभाइहरुलाई डर र धम्की देखाएर विमानस्थलका कर्मचारीले ब्रम्हालुट गरिरहेका थिए । केही भाग नपाएका कर्मचारी सिनो नभेटेका गिद्घ झै कतै सिनो लुछ्न पाइन्छ कि भनेर सोझा विवश यात्रुको खोजीमा थिए । उसलाई लाग्यो– विवशताको फाइदा उठाउदै कसरी चुस्दै छन् उडुसले रगत चुसेझै गरीब नेपाली दाजुभाइहरुलाई, कसरी हारालुछ गर्देछन् गिद्घले सिनु लुछे झै !

ऊ काउन्टरमा फर्कियो र आफ्नो पासपोर्ट माग्यो । काउन्टरका कर्मचारीले विभिन्न बहाना बनाएपछि उसले कड्केर आफ्ना कुराहरु राख्यो र पासपोर्ट फुत्कायो । अध्यागमनमा सोधिएका बाँङ्गा टेढा प्रश्नको पनि नअकमकाइ जवाफ फर्काएपछि ऊ उडान स्थलसम्म सजिलै पुग्न सक्यो ।

“डाँकाहरु” उसले लामो सास फेर्‍यो । कसैले पचास, कसैले साठी डलर, कसैले ३/४ हजार नेपाली, कसैले सय डलरको ट्राभल चेक बुझाएछन् कमसेकम आपूmले तिर्नु परेन त्यसमा नै ऊ ढुक्क थियो । दुबईको स्वप्निल कल्पना मनमा सजाएर ऊ विमानमा बस्यो । उसमा एउटा कौतुहलता, एउटा जिज्ञासा थियो– “कस्तो होला हवाइजहाज चढ्दाको अनुभव !” विमानभित्र मिान परिचारिकाले मृदु मुस्कान सहित स्वागत गर्दा उसको ध्यान भने दुबईको कल्पनामा डुबिरहेको थियो ।

जहाजका ढोकाहरु लागे । त्यसपछि आवाज आयो “नमस्कार यहाँहरुलाई आर ए ९०१ मा यहाँहरुलाई स्वागत छ । अहिले नेपालको दिनको ठीक ३.३० भएको छ अबको केहीबेरमा नै हामी दुबइतर्फ उडान गर्नेछाँै । यात्रु महानुभावले जहाजमा रहदा ख्यालगर्नु पर्ने कुराहरु ध्यान दिएर सुन्नुहोला ।”

विमानमा जोडिएको माइकबाट विस्तारै आवाज आइरहेको थियो । बोली नेपालीमा भने पछि त्यही कुरालाई अङ्ग्रेजीमा दो¥याइथ्यो । नजिकै ढोकामा परिचारिका उभिएकी थिई ।

“कति राम्री यार ।’ साथमा रहेको साथीले कानमा साउती मार्‍यो ।

उसले मुन्टो हल्लायो, केही बोलेन ।

विभिन्न परिस्थितिमा अपनाउनु पर्ने सावधानी बारे आवाज आइरहेको थियो । ढोकामा उभिएकी परिचारिका आवाज अनुसार अभिनय गरेर देखाउँदै थिई ।

जहाजले धर्ती छाड्यो । प्रविणलाई कता कता डर पनि लागि रहेको थियो र आनन्द पनि । ‘बादल माथिको यात्रा, कस्तो देखिन्छ जमिन ?’ उसले झ्यालबाट जमिनतिर चियाएर हेरेको थियो । तुवाँलोको बीचमा तमतन्न परेको जमिनमा पहाड र मैदान बाहेक केही स्पष्ट देखिदैनथ्यो । अनुमानको आधारमा नदी, बस्ती, सडकहरू र शहरहरू छुट्याउन सकिन्थ्यो । कहिले घनघोर कालो बादलमाथि जहाज प्रवेश गर्दा धर्ती छेकिन्थ्यो, कतै सिमलको भुवा छरे झै सफेद बादलका टुक्राहरू देखा पथर् कतै एक नम्बरकोे कपास चाङ लगाएर पहाड निर्माण गरेजस्ता सेता चट्टानको विशाल पहरा जस्तै सेता बादलका विशाल थुप्राहरू देखा पर्थे, निश्चल अटल चाँदीको पर्वत जस्तो । फराकिला विशाल नदीहहरू साना गोरेटा जस्ता, निलो सागर डरलाग्दो काली दह जस्तो– यिनै दृष्यहरूको अवलोकन र कल्पनामा हराउँदा चार पाँच घण्टा बितेको उसले पत्तै पाएन ।

दुबई अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेपछि पनि उसले तुरुन्त फोन गरेन किनकि ऊ नेपालको विमानस्थलको नाजुक अवस्था र यहाँको अत्याधुनिक सुविधा बीच तुलना गर्दै थियो । जहाजकै ढोकामा जोडिन आइपुग्ने टर्मिनल प्रवेशमागर्, यस्तो लाग्थ्यो कतै जहाज घर भित्र नै रोकिएको हो कि ! लिफ्ट ओच्छ्याइएको स्वचालित बाटाहरु, विशाल क्षेत्रबीच अलमलिरहेका अनगिन्ती यात्रुहरु, फरक फरक भाषामा कुरा गरिरहेका फरक फरक अनुहार, यस्तो लाग्थ्यो संसार भरका मान्छेहरु यही आईरहेका छन् । शुरुमा ऊ त्यही रौनकमा रनभुल भईरहेको थियो । सँगै आएका साथीहरु मेसो नपाएर ओहोर दोहोर गरीरहेका थिए । मेसो त उसलाई पनि कहाँ थियो र ? ऊ पनि साथीहरुलाई साथ दिदै थियो । आखिर आजै त हो अलमलिनु पर्ने, भोलिदेखि त काममा लाग्नु परिहाल्छ । उसले कति सजिलै सोचेको थियो काम पाइन्छ भन्ने कुरा मानौ कसैले ठिक्क बनाइदिएको छ । तर यथार्थतामा कति भिन्नता रहेछ ऊ अहिले चेत्दै छ ।

टर्मिनल भवनभित्र सबै काम सकिएपछि उसले दाजुलाई फोन गर्‍यो र विमानस्थलबाट बाहिरियो । दाजुको कोठामा त्यस दिन बास बसेपछि भोलिपल्टबाट कामको खोजीमा हिड्न थाल्यो ।

किन हिड्ने ,? शुरुमा त उसलार्इृ अनौठौ पनि लागेको थियो । “के काम पहिलेनै ठिक्क बनाएर राखेको हुन्छ भन्ठान्छस् । काम त आएपछि खोज्ने हो । यत्रो शहरमा कामको के समस्या भयो र, काम जति भने पनि पाइन्छ । जाने सि.वि. दिने, अन्तर्वार्ता दिने, कतै न कतै भइहाल्छ नि । तर व्यक्तित्व भने देखाउनै पर्छ । ज्याउरे भएर हिड्यो भने कसले दिन्छ काम ? यो देखाउने ठाउँ हो । ”

उसले ठानेको थियो यो ठाँउमा प्रवेश गरेपछि सोचे जस्तै काम पाइन्छ तर कहाँ त्यसो हँुदो रहेछ र । “कामको समस्या हुदैन’’ गाँउले दाजुको आश्वासनले ऊ ढुक्क थियो, “आखिर कमाउन आएको न हो, जे काम पाए पनि गरीहालिन्छ ।”

भोलिपल्ट आफ्नो सर्टमा आइरन लगायो, घाँटीमा टाई झुण्डायो र आफ्ना प्रमाणपत्रका प्रतिलिपिहरु बोकेर एउटा अफिसमा पुग्यो दाजुको साथ लागेर । दुबईमा उसको पहिलो हिडाइ थियो र पहिलो अन्तर्वार्ता पनि । उसमा आत्मविश्वास थियो । त्यहाँ काम मिलेपछि राम्रो कमाइका लागि मिहिनेत गर्नु त छँदैछ तर त्यहाँ ऊ छनौटमा परेन र निराश फर्कन पर्‍यो ।

“नआत्ती, यस्ता ठाउँ कति छन कति यहाँ ।” दाजुले ढाढस दिए । त्यस पछिका थुप्रै दिनहरुमा यही क्र्र्रम चल्दै गए तर सफलता हात लागेन । कतै यो भएन भन्थे कतै ऊ । कामदार दाता कम्पनी कोरा मान्छे भन्दा अनुभवी मान्छे राख्न चाहन्थ्यो । प्रविणसँग त्यस्तो अनुभव केही थिएन न त कुनै सीप नै । नेपालमा सीप सिकेको प्रमाणपत्रलाई यहाँ विश्वास पनि गरिदैनथ्यो । कहिले गाउँले दाजुको साथ लागेर, कहिले अन्य साथीहरु त कहिले एक्लै पनि थुप्रै ठाँउहरुमा पुग्यो अन्तवार्ताका लागि तर अहँ हाता लाग्यो सून्य ।

तालु पोल्ने चर्को घाम क्षण भरमा पसिनाले निथ्रुक्क हुन्थ्यो । गर्र्मी त्यस्तै उखरमाउलो, पहाडी क्षेत्रको चिसो हावापानीमा हुर्किएको उसलाई त्यो सहन साह्रै कठिन भइरहेको थियो । त्यसमाथि खाने बस्ने ठेगान पनि हुदैनथ्यो । कम्पनीले दिएको कोठा बाहिरको मान्छेलाई राख्ने अनुमति हुदैनथ्यो । एक दुई दिनको बसाइमा नै प्रविणले त्यो कुरा थाहा पाइसकेको थियो । त्यसैले प्रताप दाइको कोठामा काम नपाइन्जेल सधै खान बस्न पाइदैनथ्यो ।

“आज यहाँ चेकिङ हुन्छ तिमी फलानु कहाँ जाऊ है ।” प्रतापले साथीहरुलाई फोन गथ्र्यो । “एउटा भाइलाई त्यहाँ एक दूई दिन राखिदिनु पर्‍यो ।” प्रतापले उसलाई अर्को साथी कहाँ पु¥याइदिन्थ्यो । त्यहाँ पनि बसाइ त्यति सजिलो कहाँ हुन्थ्यो र, दुबईको महङ्गो ठाँउ एउटै कोठाको ३÷४ हजार तिरेका हुन्छन्, आठ/दश जनाको एउटै बसाइ, पाहुनालाई सुताउने ठाउँ कहाँ हुन्थ्यो र !

“प्रवासको ठाउँ यस्तै हो, बसाइ दुखजिलो गर्ने हो मित्र” चिन जान ,भलाकुसरी पछि उनीहरु भन्थे ।

कस्तो अफ्ठेरो– लुकेर बस्नु पर्ने ! न त काम पाइन्छ न त निर्धक्कसँग बस्ने ठाउँ नै उसलाई दिक्क लाग्न थालेको थियोे अनि बेकार आइएछ भन्ने लागिरहेको थियो । प्रदेशको ठाउँ प्रतापको फुर्सद पनि सधै कहाँ हुन्थ्यो र ? त्यसैले प्रविण एक्लै झोक्राएर बस्थ्यो । कुनै अफिस धाएको दिनमा त दिन अलि सजिलै बित्थ्यो, कार्यलय भवन भित्रको एसिमा कमसेकम गर्मी त सहनु पर्देनथ्यो । अफिस नधाएको दिन दिनभर पार्कमा पल्टेर तातो घाममा सेकिनु पथ्र्यो, गर्मी खानु पथ्र्यो ।

पार्कमा पनि निर्धक्कसँग पल्टन कहाँ पाइन्थ्यो र । खै कताबाट कति खेर पानी आउँथ्यो निथ्रुक्क भिजाउने गरी, कुनै ठेगान नै हुदैनथ्यो । पार्कलाई हराभरा राख्ने बगैचेहरुले दिनमा चार पाँच पटक पानी छर्ने गर्थे । नेपालमा जस्तो पानी पाइपले तानेर हातले छर्कने भए सायद उठाउँदा हुन् तर यहाँ एकातिर स्वीच खोलेपछि स्वचालित रुपमा पार्कभरि पानी छर्कने भएकाले पार्कमा पल्टनेहरु भिज्न बेर लाग्दैनथ्यो ।

“तपाई भीजिटमा आउनु भएजस्तो छ ?” बगैचामा काम गर्ने नेपलीले सायद अनुहारको आधारमा नेपाली भएको अनुमान गथ्र्यो ।

“कसरी थाहा पाउनु भयो ।” परिचयको आदान प्रदान पछि उसले सोध्थ्यो । दिउँसो पार्कमा डुल्नेहरु प्रायः यस्तै हुन्छन्, कुनै काम हुदैन र बस्ने ठाँउ पनि । अनि पार्क टहल्ने ठाउँ बन्छ ।”

“अझ त्यति मात्र कहाँ हो र उखर्माउलो गर्मीमा प्याक प्याक तिर्खा लागेको बेला पानी पनि पिउन पाइदैन यहाँ ।” उसलाई थप्न मन लाग्थ्यो तर अर्के गुनासो गथ्र्यो “साह्रै गाह्रो रहेछ काम पाउन यहाँ ।“

“भिजिटमा भन्दा वर्किङ्ग भीसामा आउनुभएको भए हुने थियो । भीजिटमा आउनेहरुले साह्रै हण्डर पाएको देखेको छु मैले । कति मान्छेहरु दुई दुई महिनासम्म निकै सास्ती खेपेर फर्कनु परेको पनि देखिन्छ । साथीहरु भनेर आयो कतिदिन सहयोग गर्ने साथीहरुले पनि ? उनीहरु पनि दिक्क हुन्थे र वास्ता गर्न छाडिदिन्थे । साथमा पैसा हुदैन, बस्ने ठाँउको ठेगान हुदैन, दिन भरि भोक भोकै यो मरुभूमिको गर्मीमा ठाउँ ठाउँमा भौतानिुपरेको देखेको छु मैले ।”

“साथ र सहयोग दुःख पर्दा चाहिने न हो ।”

“कतिलाई सहयोग गर्ने ? यहाँ दैनिक दशकौँ नेपाली प्रवेश गर्छन, कति हुन्छन हुन्छन दुःख खेप्नेहरु । तपाईसँग चिनजान भयो, एउटा नेपाली भएको नाताले एक छाक खुवाउँला, एक रात बस्न दिउँला तर त्यतिले मात्र तपाईको समस्या समाधान हुन्छ र ? भोलि फेरि तपाईको समस्या यथाबत् रहन्छ ।”

समुद्र किनारमा अवस्थित एउटा पार्कमा बसेको प्रविणको दृष्टि समुन्द्रको छालमा एकनासले एकोहोरिएको थियो भने मनमा अतितका कुराहरु खेलिरहेका थिए । ऊ रुखको फेदमुनि अवस्थित बेन्चमा रुखको छहारीमा बसेको थियो तर शितलताको कुनै अनुभूति थिएन । उसको निधारमा चिटचिट पसिना आइरहेको थियो भने शरीर पसिनाले च्याप च्याप भइरहेको थियो । तातो हावाको गतिसँगै समुद्रमा उठेका छालहरू किनारसम्म आएर ‘छप्् छप्लाङ’ को आवाज दिन्थे । ऊ अतित र वर्तमानको दोसाँधमा आफ्नो कल्पनालाई पिङ खेलाइ रहेको थियो ।

“यहाँ दुःख र सास्ती खेप्नु परेपनि घरमा फोन गर्दा सब ठीक छ भन्नु पर्ने यो कस्तो बाध्यता ?” ऊ सोच्दै थियो ।

“नडराऊ न, तिम्रो भीसा सकिन अझै बीस दिन बाँकी छ, कतै न कतै त भैहाल्छ नि । भीसाको लागि दश बाह्र दिन भए पुगिहाल्छ, किन आत्तिन्छौ ? नभए भीसा नेपाल पठाइहाल्छ ।” प्रतापको ढाडसप्रति पनि अब त विश्वास लाग्न छाडिसकेको थियो ।

“काम पाइन पनि त पर्‍यो, कति दिन काम पाइने आशामा भौतारिने !”– उसलाई लाग्दैछ । “आज आज, भोलि भोलि भन्दा भन्दै चालीस दिन बितिसक्यो ।” ऊ साह्रै चिन्तित थियो, साह्रै निराश थियो । आजको दिन त बितिहाल्यो, भोलि उन्नास दिन बाँकी हुन्छ, काम पाइने के ठेगान छ र ? यदि त्यतिकै फर्कनु पर्‍यो भने कसरी मुख देखाउने गाउँमा ? कसरी ऋण तिर्ने ?” एउटा अज्ञात पीडा, एउटा अदृश्य त्रासले उसको मन त्यसै त्यसै व्यकुल थियो । उसले शून्य मनले किनारमा ठोक्किएर फर्किएको छालसँग चौडा समुद्रको पर परसम्म दृष्टि पु¥यायो ।

२०६४ मंसिर १८, मङ्गलवार ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.