कविता : तारा

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

निशिको बेला, चल्छु अकेला,
मिरमिर सडककिनार ।
अरण्य सदृश यो जगतीतलको
फोटो खिच्छ गगनले जलको,
जनमन–आँशु हजाराँ !
पवन, रुदित शिशु, शिथिल निदाउँछ,
घोप्टी द्रुमको सहारा !
थोपा चुहाउँछ कहिलेकाहीँ,
मूर्छित स्मृतिको किनारा !
बुद्ध चलेथे यी जलकण भनी
फोटो निहारी निज उरको,
मुकुट उतारी, मलम लिनाकन
निमन्न घाउ सब नरको !
यही सडकमा मौन चले मुनि,
सृष्टिदेवीका दृगमा हेरी,
सलिल स्रावको धरको !
शहीद चलेथे जननी जल गनी,
प्रातः समाउन युग परको ?
अन्धकारका पार तरौँ भनी,
स्वर्गमा मागन हक नरको !
वसुन्धराको आत्मा निदाउँछ,
स्वर्ग छ जागा, जल–झलझल !
वेदनाको सागर लहरमा
हेर्दछ झिम्की, तर्सी पलपल
हृदय जलीकन दृगभर जलकण
लिन्छ कि, रुन्छ कि सुरपुर सारा !
निशिको बेला चल्छु अकेला
मिरमिर सडककिनारा !
एक इसारा हृदय बोलाउँछ,
निद्रा भगाउँछ पर सारा !
सेतो, पहिलो राप चढाउँछ ।
आदिदेवका आत्मा जलेथे,
भारत व्योममा जसद्धारा !
नचिकेताको आत्मा बोल्दछ
अग्नि–तत्वको सार खुलाई
जलेर जलको कणीझैं वर्तुल
चम्कन इच्छा लाग्छ मलाई
अन्धकारमा छाम्दछु अमृत
—ज्वालाहरुका लप्का सार !
निशिको बेला चल्दछु अकेला !
मिरमिर सडककिनारा !
तिमिर–भस्ममा तर परिणत दिन
ढुँढ्दछ नव छवि जलधि मनि !
शिवले पिउँछन् गरल निशाको,
मथिई निक्ले चन्द्र पनि ।
आत्मा हो यो प्रलयोल्लङ्घक
अमर, अमिट रे सौरकणी !
जलको बिन्दुभित्र अटाउँछ, जसमा यसले महल बनाउँछ,
द्यौ–अवलम्बी, तल अवनी !
शहीद–समाधि झैं निशा उपर छन्
देही छविला जिउँदा सारा !
अहो ! निसासिस् किन ए काँतर !
अन्धकार पौडिन केवल,
ज्योति छ यसको दूर किनारा !
जब छन् राती, यस्ता साथी !
छैनस् अकेला ! जल् सारा !
जीव ए ! शिव हो ! जीव ए शिव हो !
चम्किरहेछन् तारा, तारा !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.