~केशव सिलवाल~
ङा नाङकाइ झाकङल
अर्थात म तिमीलाई मन पराउँदिन
कारण –
म चेपाङ हुँ
च्यापिँदा च्यापिँदा चेप्टिएको
ओडारमा लुकि राखेको
चे ग्वेभारा बन्न नसकेको चे
तर पनि म सँग छ मेरो आत्मीय पाङ
अर्थात वाण
जुन तिमीतिर सोझिन सक्छ
लगाई दिउँला म आफ्ना छोराछोरी लाई पनि
स्याउलाकै लुगा
तर मेरो छालाको
दौरा सुरुवाल लगाउने अधिकार
कसैलाई छैन
म खोजरहेछु
केहि छाक गिट्ठा भ्याकुर तरुल र सिस्नो
तर उस्तै उस्तै देखिन्छ हैन
मेरो हातको गिट्ठा र कोतको ग्रीनेड?
थाहा पाउनु
गिट्ठा टिप्ने हातले ग्रीनेड पनि बोक्न सक्छन
के नै नयाँ छ र म सँग ?
मनाउन सक्दिन म छोनाम
मनाउँदिनँ सङ्क्रान्ती पनि
न मान्छु अब यो कुलदेवता
जस्ले कुलको नास मात्र गराउँछ
गर्दिन भूमिपुजा पनि
जुन तिमीले लुटेका छौ
बजाँदिन यो ढ्याङ्ग्रो
जुन ठोक्ता ठोक्ता प्वाल परेको छ
बेचिएका नदिमा
वर्जीत छ बाहाबिस मनाउन
हो म शिकार खेल्न सक्छु
काँधमा बोकेर धनुकाँड
तर के को शिकार खेलौं
मलाई लाज लाग्छ
कि हामी एउटै देशमा छौँ
र तिमी हाम्रो करङ्को भर्याङ चढेर
अझ माथी माथि जाँदै छौ
तिमीले कुल्चिएपछी बेस्सरी
दुखेको मेरो ढाड
अझै ठिक भएको छैन
तिमी लाई पर्ने मुक्का थापेपछी
दुखेको मेरो छाती
अझै ठिक भएको छैन
दिक्क लाग्छ
मेरो नजिक नपर
ङा नाङकाइ झाकङल
अर्थात म तिमीलाई मन पराउँदिन
ङि गरिब मुना
अर्थात हामी गरिब छौं
यसको मत्लब हामी बेचिन्छौं भन्ने होइन ।