~पुरुषोत्तम सुवेदी~
थिए तिनका कुनै घडी सिखा टुपिका – जुल्पी लर्काउने भए ।
थियो सोझो जमाना शान्त पटलमा – नेता भनाउदा भए ।।
थान्कोट देखी सुरुहुने भुमि जनतालाई – बुझाई नेपालको थियो ।
शोझा जनता देउतासरी थिए त्यसबखतमा – सास्ती राणाले दियो ।।
गाउमा रगरग मुखिया जिम्मुवालको – जिल्लामा काजीसाप ठालु ।
बिना सित्तै तिरोभरो उठाइखान्थे तिनले -फलाउथे तालुमा आलु ।।
मुद्धा अधिक हुन्थे अड्डा अदालतमा – गाउमा फटाहाको हुल ।
बन्थ्यो तमसुक ५० लाई सुन्य थपेर – ५०० मा औठाछाप कबुल ।।
स्कूल पढ्थे भनाउदा ठुला ठालुले – थिएन गरिवको भलो ।
पाएनन जनताले कुनै राज्य सुबिधा -बरु पाउथ्यो कुकुरले कलो ।।
बाइसे चौबिसे राज्य सबै ढलिगए – मासिय राजारजौटा पनि ।
चौबिसै राज्य आउदैछन नानाथरिका-भांडतन्त्रलाई गणतन्त्र भनी ।।
झगडा हो यो ओडार सामन्तिको -कही कतै नभेटिदाको पल ।
बडा बाद नौलो ल्याउने जनहरुले – गर्दैछन जनतालाई छल ।।
जन्मायो भारतले कुकुर बिराला नेपलमा -अहित नेपलकै हुने गरी ।
बने दुत पराइहितमा दलाल भरौटेहरु-रुवाउदैछन नेपाली धरधरी ।।
धोकै धोका ७ -१७-३६ छयालीसमा -जनतानिरास बनिगए ।
कोही थरी आए बोकेर छडि जादुको -देश जग नै कम्प बनाए ।।
देखे न यिनले सभ्यता कही कतै – न सिके राज्यको बागडोर ।
पारे खाडलमा सिंगो देश नेपाललाई-परिसके यी पनि जनखोर ।।
सहजै घर चलाऊन नजान्ने जनबिच- पुग्यो राज्यको लगाम ।
प्रकृतिले दियको सौन्दर्य सगुन पनी – भयन यिनलाई हजम ।।
फाटो पारे बिभिन्न थरबिच जाति हुन – अग्रपङ्तिमा देखिदा भए ।
समाली सक्नु साध्य भयन अहिले-घांटीमा बल्झेको हाडसरी भए ।।
न रह्यो बांस सुन्दर नेपालको – न बज्यो खै सुरिलो बांसुरी ।
भेट्न सके जतिका बेचेसबै यिनले-हात्ती गैंडादेखी सबै कस्तुरी ।।
कंगाल बनिसक्यो आज विश्व बिच – संस्कृतिको धनी देश नेपाल ।
नास्तिकहरु बिर्सें धर्म संस्कार पनि -हिड्छन बोल्दै जय नेपाल ।।
-कलङ्की, काठमाडौँ