समीक्षा : रुद्र ज्ञवालीका कथाहरुलाई हेर्दा

~नारायणप्रसाद पौडेल~

समसामयिक नेपाली कथाका क्षेत्रमा कलम दगुराउने सशक्त स्रष्टा हुन् रुद्र ज्ञवाली । वि.सं. २०२० कार्तिक १ गते गुल्मीको ग्वादीमा जन्मेका ज्ञवालीका निर्वासन कथा संग्रह (२०५८), सपना फुल्ने रातहरु गजल संग्रह (२०६१),विवरुका कथाहरु संयुक्त लेखन (२०६६) प्रकाशित रहेका छन् । अत्यन्त प्राचीन र रोचक विधा कथा मानवीय संवेदनालाई रोचक ढंगले प्रस्तुत गर्ने भएकाले यो पछिल्लो समयमा लोकप्रिय हुँदै गएको देखिन्छ । छोटो किस्सा, सीमित पात्र, सीमित उद्देश्य, सीमित परिवेश र कल्पना भन्दा बढी यथार्थ प्रकट हुनु कथाको मूल विषेशता हो । कथाकार ज्ञवालीले यिनै कुराहरुलाई समेटेर कथा लेख्ने गरेको पाइन्छ । अझ विषेशगरी उनले आफ्ना कथाहरुमा हराउँदै गएको मानवीयता, अस्तित्वविहीन जीवन , दैनिक रुपमा घट्ने घटनाको यथार्थ चित्रण, जुनसुकै शासन पद्धति प्रारम्भ भए पनि सर्वसाधरण जनताहरुले सास्ती खेप्नु पर्ने बाध्यता आदिलाई कथाको विषयमा समेटेको पाइन्छ ।

यस लेखनीमा कथाकार रुद्र ज्ञवाली सहित विजय सागर र वनमाली निराकार द्धारा संयुक्त रुपमा वि.सं. २०६६ सालमा प्रकाशित विवरुका कथाहरु नामक कथा संग्रहमा संकलित पाँचवटा कथाहरुको संक्षिप्तरुपमा शयर गर्ने जमर्को गरिएको छ । उनका यस संग्रहमा उत्खनन,मिस्टर एलर्जी, अखबारको मान्छे ,गेलहीको गनतन्तर र कुइँकेल बाजेको सपना संकलित रहेका छन् । सरकारी सेवामा आबद्ध कथाकार ज्ञवालीले यी कथाहरु मार्फत आफूलाई एक सिद्धहस्त कथाकारका रुपमा उभ्याएका छन् । तीखो विषयवस्तु , खारिएको भाषा शैली, नेपाली समाजको उचित शल्यक्रिया, जीवन शैली ,नेपाली समाजमा विद्यमान अन्धसंस्कार छर्लङ्गरुपमा परिवेशको झ—झल्को आदि साझा विषेशताहरु उनका यी पाँचवटै कथामा पाउन सकिन्छ ।

यस संग्रहमा कथाकार ज्ञवालीको पहिलो कथा उत्खनन रहेको छ । यसमा स्पष्ट रुपमा मित्रतालाई उत्खनन गर्ने वा त्यसको बारेमा उचित महत्व देखाउँदै खोजी नीति , अन्वेषण गर्ने काम गरिएको छ । यहाँ प्रथम पुरुष कथनपद्धतिको ढाँचा प्रयोग गरि कथाकारले अप्रत्यक्षरुपमा आफ्नै आत्म कथा प्रस्तुत गरेजस्तो महसुश हुन्छ । गाउँबाट अध्ययनका लागि सहर पसेको सोमनाथको अनितासँग मित्रता कायम हुन्छ । जीवनमा सहयात्रा गर्ने प्रण गरेका यी दुइको चाहना पूरा हुँदैन। अनिता विदेशको लवजमा परिवर्तित भई अन्न बनेकी हुन्छे । यसमा गाउँ र सहर दुवै परिवेशको चित्रण गरिएको छ । कथामा मित्रताको महत्व कति हुन्छ भन्ने गम्भीरतालाई प्रस्तुत गरिएको छ । राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय परिवेशमा आधारित यस कथामा मित्रता लगायत अन्य कुरालाई पनि समेटिएको छ । गौतम बुद्धको जन्म स्थान लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमै ख्याति भएको तर यसको पुनःनिर्माणका नाममा कृत्रिमता दिएर यसको अस्तित्व हराउँदै गएको कुरालाई इङ्गित गरिएको छ । यसै गरि बन्द हडताललाई देशको निको नहुने रोगका रुपमा देखाइएको छ । यसले देशको विकास हुन नसक्ने बताइएको छ ।

आधुनिकताका नाममा कृत्रिम र तडकभडकका पछि लाग्न नहुने , आफ्नोपन र मौलिक पन आत्मसात् गर्नुपर्ने यस कथामा सन्देश दिइएको छ । सरल ,सहज,सुकोमल र प्रवाहमय भाषाशैली मार्फत पछिल्लो समयको नेपाली समाजको यथार्थतालाई प्रकट गरिएको छ । हाम्रा राष्ट्रिय गौरवका सम्पदाहरुप्रति गम्भीर संवेदना हुनुपर्छ । देशको गौरवमाथि खेलवाड गर्नुहुँदैन । यसरी उत्खनन कथामा मित्रतालाई विषय बनाई अनेक आयामबाट नेपाली समाजको चित्रण गरिएको पाइन्छ । राष्ट्रिय प्राकृतिक सम्पदाहरुप्रति संरक्षण, संबद्र्धन ,चिन्ता र चासो संधैं रहनुपर्छ भन्ने सन्देश दिंदै व्यक्तिको जीवन ठ्याक्कै सोचेजस्तो हुँदैन, अप्रत्याशित जीवन भोग्न वाध्य हुनु पर्छ भन्ने पनि देखाइएको छ ।

त्यस्तै उनको दोस्रो कथा मिस्टर एलर्जी रहेको छ । यस कथामा देशको समसामयिक अवस्थालाई विषय बनाइएको छ । यस कथाको प्रमुख पात्र मिस्टर एलर्जी हो । जुनसुकै कुरामा उसले गहिरो खोजी नीति गर्ने हुनाले ऊ समाजमा लुतो अर्थात एलर्जीका नामले परिचित छ । उ पेसाले पत्रकार हो । यहाँ म पात्र र मिस्टर एलर्जीका संवादका माध्यमबाट देशमा अपराधीकरण बढ्दै गएको , राजनीतिक अस्थिरताले देशको अवस्था जर्जर भएको घरायसी सामान्य झगडा राष्ट्रिय मुद्दा बनेको , लेखकीय मान्यताहरुको ह्रास हुँदै गएको , राज्यको चौथो अंग पत्रकारितामा हस्तक्षप बढेको आदि जस्ता विविध पाटाहरुको प्रस्तुति पाइन्छ । संवादात्मक र वर्णनात्मक शैलीमा परिवर्तशील समाजको परिकल्पना गर्ने प्रगतिवादी विचार यहाँ पाउन सकिन्छ । यसै गरि समाजमा विकासको मुख्य बाधक बनेको जातीय विभेद , धार्मिक मतभेद तथा वर्गीय विभेदको अन्त्य हुनु पर्नेमा जोड यो कथाले दिएको छ । देशमा भ्रष्टाचार मौलाएको ,नातावाद, कृपावाद व्याप्त रहेको, देशको दुर्गम गाउँमा अभावै अभाव रहेको, दशवर्षे सशस्त्र युद्धले देश छिया छिया भएको कुरा उल्लेख गरिएको छ ।

यी माथिका यावत समस्यालाई कथाकारले विकृति र विसंगतिको संज्ञा दिंदै यसको अन्त्य हुनु पर्नेमा जोड दिएका छन् । भोको पेटलाई भाषण र रोग निदानका लागि गोष्ठी यहाँको राजनीतिको संस्कृति भइसकेको छ भन्दै कथाकारले देशको विद्यमान अवस्था र शासक वर्ग प्रति आक्रोश व्यक्त गरेका छन् । कथाको मुख्य पात्र मिस्टर एलर्जी निडर पात्रका रुपमा देख्न सकिन्छ । यहाँ उसको माध्यमबाट विरोध गर्यो भने समाप्त हुनु पर्ने अवस्था रहेको, लेखकीय अवमूल्यन रहेको, संक्रमणकालीन राजनीतिक व्यवस्थामा देशमा जहीँ तहीँ वेथिति मौलाउँदै गएको , समाजमा खबरदारी गर्ने मानिसको स्थान नभएको देखाइएको छ । सरल भाषा शैलीमा गहन विचार व्यक्त भएको यो कथा प्रथम र तृतीय पुरुष कथनपद्धतिमा आबद्ध रहेको छ । विरोध गरेकै कारण, निडर भएकै कारण, सत्य तथ्यको वकालत गरेकै कारणबाट यहाँ मिस्टर एलर्जी बर्बरपूण हत्या भएको छ । कथा दुखान्तमा टुङ्गिएको छ ।

त्यस्तै कथाकार ज्ञवालीको यस संग्रहमा संकलित तेस्रो कथा अखबारको मान्छे रहेको छ । यस कथामा मुख्य विषयवस्तु दशवर्षे सशस्त्र युद्ध र त्यसले समाजमा पारेको असर रहेको छ । देश र जनताको मुक्तिका लागि लडेका योद्धाहरुको कुनै कदर नभएको कुरालाई यस कथामा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कथाको प्रारम्भ घरमा एक्लै रहेकी सुनमायासँग मध्यरातको समयमा युद्धरत बटुवाले बास मागेको बाट गरिएको छ । सुनमाया योद्धाकी छोरी हो । अनकण्टार गाउँमा उसको बसोवास छ । उसको बाबु देशको लागि लड्दा लड्दै मरेको छ । तर सहीद हुनबाट वञ्चित भएको छ । यता बटुवा राज्यका तर्फबाट मस्ट वान्टेड सूचीमा छ ।

आफ्नो व्यक्तिगत सबै स्वार्थ छाडेर राष्ट्र र जनताको खाँतिर लडिरहेको त्यागी व्यक्तिका रुपमा यहाँ देखिएको छ । विगत द्धन्द्धको समयमा धेरै संख्यामा निर्दोष नागरिकहरुले ज्यान गुमाए, शास्ती पाए । निर्धक्कपूर्वक आफ्नो गरि खान पाएका थिएनन् । द्धन्द्धको समयमा बर्दीवाला र बर्दीविनाका व्यक्तिहरुले विभिन्न बहानामा सर्वसाधरणहरुलाई कष्ट पीडा दिएको कुरा यहाँ उल्लेख छ । द्धन्द्धको घाउ अझै निको भई नसकेको परिवर्तनका लागि वलिदानी दिएका मानिसको अवमूल्यन भएको , जनताले राज्य र सरकार छ भनि अनुभूत गर्न नपाएको यथार्थ चित्रण यहाँ गरिएको छ । सरल भाषा शैलीको प्रयोग भएको यस कथामा प्रथम र तृतीय पुरुष कथन पद्धतिको प्रयोग भएको छ । युद्धको परिवेश यसमा समेमिटएको छ । थोरै पात्रको प्रयोग भएको यस कथामा देशको भयभीत अवस्थाको चित्रण गरिएको छ ।

त्यसैगरि कथाकार ज्ञवालीको चौथो कथा गेलहीको गनतन्तर रहेको छ । यहाँ गेलही तराई मुलको पात्रका रुपमा आएको छ । गणतन्त्र शब्दलाई स्थानीय जनबोलीको अझ भनौं निरक्षर मानिसले प्रयोग गर्ने गनतन्तर शब्दका रुपमा प्रयोग गरिएको छ । ०६२।०६३ सालको १९ दिने जनआन्दोलन पश्चात देशमा नयाँ परिपाटीको स्वरुप गणतन्त्र स्थापना त भयो तर निम्नस्तरका नेपालीहरुको समस्या जहाँको त्यहीँ रहेको कुरा यस कथामा मुख्य विषयवस्तु बनेर आएको छ । यहाँ तराईको एउटा दुर्गम गाउँमका बासिन्दाले कस्तो नारकीय जीवन बिताएका छन् भन्ने छर्लङ्ग पारिएको छ । राज्यका सरकारी संरचना जस्तै अस्पताल, शैक्षिक संस्था, सरकारी कार्यालयहरु जताततै अस्तव्यस्त रहेको, चुस्त व्यवस्थापन नभएको , त्यहाँबाट हुने सेवाप्रवाह अत्यन्तै नाजुक रहेको कुरा यहाँ उल्लेख गरिएको छ । यहाँ गेलहीको कान्छो छोरा सिकिस्त बिरामी परेर अस्पताल भर्ना गरेको देखाइएको छ । अस्पतालमा जता ततै दुर्गन्धै दुर्गन्ध छ । आधा दर्जन सन्तान मध्ये सबै मरिसकेका छन् । अब कान्छो छोरा मात्र बाँकी छ । एकसरो आङ्ग ढाक्न, एक मानो खान धौ धौ गेलही चरम आर्थिक चपेटाबाट ग्रसित रहेको छ । छोरालाई तङ्ग्राउनका लागि चाहिने खुराक ऊ सँग केही छैन । यस्तै यस्तै पीडामा ऊ छ । भारतको सीमावर्ती गाउँमा गेलहीको एउटा सानो छाप्रो छ । जग्गाको प्रमाण पुर्जा ऊ सँग केही छैन ।

जमीनदारको शोषणमा ऊ परेको छ र अरुहरु पनि ऊ जस्तै मारमा परेका छन् । निश्चित व्यक्तिका हातमा तराईका जमीन वा भनौ सारा सम्पत्ति,सुख सुविधा रहेको छ । बहुुसंख्यक व्यक्तिहरु गेलहीको जस्तो पीडित जीवन बिताउन वाध्य छन् ।त्यस्तै उसका गाउँको शैक्षिक अवस्था नाजुक छ । कुपोषण ग्रस्त गाउँले केटाकेटी स्कुलमा भन्दा बढी आहालमा भेटिन्छन् । गेलही जस्ता आम नागरिकले गरिब भएकै कारणबाट नेपाली नागरिकताको प्रपाण पत्र पाउन सकेका छैनन् । आञ्चलिक कथावस्तु रहेको यस कथाको भाषा शैली सरल र सहज रहेको छ । आम गरिब नागरिकहरु रोग, भोग,सोख जस्ता पीडाबाट मुक्त हुन पाउने गणतन्त्रात्मक व्यवस्थाको प्रतिक्षामा छन् भन्ने सन्देश यस कथामा पाइन्छ ।

यसै गरि कथाकार ज्ञवालीको पाँचौ अर्थात अन्तिम कथा कुइँकेलबाजेको सपना रहेको छ । यस कथामा कुइँकेल बाजे मुल पात्रका रुपमा आएका छन् । यहाँ छोरा र छोरीमा गरिने भेदभावलाई मूल विषय बनाइएको छ । कुइँकेल बाजे छैठौं पटक पनि छोरी जन्मेपछि निराशा हुँदै पुत्र प्राप्तिका लागि अनेक तीर्थ वर्त,पुराण,भाकल,धामी झाँक्री गर्छन् र सातांै पटक पुत्र लाभ हुन्छ । छ वटी छोरीहरुलाई वेवास्ता गर्दै त्यही छोरा प्रति उच्च सपना देखेका छन् । यस कथामा नेपाली समाजमा व्याप्त अन्धविश्वासलाई उजागर गरिएको छ । छोरी जन्मदा पुर्पुरो समाउने छोरा जन्मदा हर्षविभोर भै रमाउने नेपाली प्रवृत्तिलाई यहाँ व्यङ्ग्यात्मक पाराले प्रस्तुत गरिएको छ । छोरा प्राप्तिमा जीवन मै सुखद क्षणको अनुभूति गर्ने नेपाली जनमानस प्रति तीखो प्रहार गरिएको छ । कथाका पात्र कुइँकेल बाजेले छोरा हरिवंश जन्मने वित्तिकै ऊ प्रति अनगिन्ती सपना देखेका छन् । ज्यादै चनाखो भएर छोेराको रेखदेख, स्याहार सुसार हुन्छ । शिक्षारम्भ हुन्छ । छोरीलाई भन्दा भिन्नै स्तरीय तरिकाले शिक्षा दिइन्छ । तर छोराले बाबु तथा परिवारले आशा गरे भन्दा विपरीत दिशा तर्फ लाग्छ । ऊ उग्र व्यहार गर्दै जान्छ । विस्तारै कुलतमा लागी कडा दुव्र्यसनीमा परिणत हुन्छ । बाबुको सपनामा तुषारापात हुन्छ । उता अपमानित तरिकाले शिक्षा हासील गराइएकी कान्छी छोरी उच्च शिक्षामा उत्कृष्ट अंक हासील गरि छात्रवृत्ति ग्रहण गर्दै विदेशमा गई अध्ययन गर्ने अवसर प्राप्त गर्छे । यसरी यस कथामा मानिस कुनै चीज प्रति निर्लिप्त हुन हुँदैन भन्ने सन्देश दिइएको छ । आखिर कुइँकेल बाजे निसन्तान त थिएनन नि । होनाहार स्वभावका छारीहरु थिए । सरल भाषा शैली मार्फत यस कथामा छोरा र छोरी प्रति समान व्यहार गर्नुपर्ने सन्देश दिइएको छ । कुइँकेल बाजे जीवनको उत्तरार्ध तिर निराश भएका छन् । उनलाई आफूले गरेको व्यहार प्रति पश्चाताप छ । नेपाली समाजको यथार्थ परिवेशमा यो कथा केन्द्रित रहेको छ । छोरीहरु प्रति पनि सपना देख्न सक्नुपर्छ , छोरी पनि आँटी र साहसी हुन सक्छन् । बाबु आमाको सपना पुरा गर्न सक्छन् भन्ने सन्देश यहाँ पाइन्छ ।

यसरी कथाकार रुद्र ज्ञवालीका उपर्युक्त पाँचवटा कथालाई सतही रुपमा अवलोकन गर्दा नेपाली समाजका समसामयिक गतिविधिलाई समेटी समाजको चित्रण गरेको देखिन्छ । द्धन्द्धले नेपाली समाजलाई पारेको असर,अन्धविश्वासको परिणाम, मानवीय अवमूल्यन,ह्रासोन्मुख मानवतावादी,समाज सुधारको चाहना, शान्ति प्रतिको उत्कट चाहना,प्रगतिवादी विचार जस्ता विशेषता यी कथामा पाइन्छ । कथाकार ज्ञवालीका यी कथाले समसामयिक नेपाली कथाका क्षेत्रमा उत्कृष्ट स्थान हासील गर्ने निश्चित छ । यिनै कथामार्फत कथाकार ज्ञवालीले आफूलाई एक उत्कृष्ट, परिष्कृत कथाकारको पङ्क्तिमा उभ्याउन सफल भएका छन् भन्न सकिन्छ ।

(लेखक श्री शिवालय उ.मा.वि.कुश्मा पर्वतमा प्राध्यापनरत हुनुहुन्छ ।)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.