कथा : स्काईपले गर्दा

~महादेव अधिकारी~Mahadev Adhikari

म काठमाण्डौबाट भैरहवाको बसमा चढे। मेरो सिटमा एउटा बच्चा थियो र आडमा एउटा बच्चा काखमा लिएकी एउटी अधबैँसे नारी थिइन्। ती दुबै बच्चालाई काखमा लिनु भन्नपनि मानवियताले दिएन र म लामो यात्रामा उभिएरै जाने सम्भव पनि थिएन। ती दुबै बच्चा राम्रा भए पनि सफा थिएनन् त्यसैले काखमा लिउ-लिउ जस्तो लागेको थिएन। तर पनि बिबश भएँ म।

‘यो सिटकी छोरीलाई तपाई काखमा लिनुस् त्यो सानो छोरो मलाई दिनुस् त्यसो गर्दा ठीक होला एउटै सिटमा परिएछ’ मैले भने। मलाई त्यो बच्चा लिएपछि “मेरो सानू साथी” कथा को याद आयो अनि मैले रूमाल ले सबै भन्दा पहिला त्यो बच्चाको सिगान पुछिदिएँ। मिनिरल वाटरको बोटलमा भएको पानीले हल्का रूमाल भिजाएर बच्चाको शरीरको अन्य ठाउँमा भएको फोहोर सफा गरिदिएँ। झोलाबाट सेन्ट झिकेर थोरै बच्चाको कपडामा र आफूले पनि हाले। अब भने त्यो बच्चा काखमा लिएर खेलाई रहूँ झै लाग्ने भयो। मैले कुरकुरे खोले र बच्चालाई एकदुई पिस खुवाएँ। उसका अगाडिका दाँत मात्र उम्रेका थिएँ। अरू गिजाले मेरो औला किलिकिलि पारेर टोकि दिदाको अपूर्व आनन्दले म रोमान्चित थिएँ।

गाडी थानकोटको ओरालो लाग्यो। पहिलो घुम्तिमै मोड्न लाग्दा दुर्भाग्यवस स्टेयरिङ त फुक्लेर ड्राईभरको हातमा पो आयो। झ्याप्प ब्रेकलाग्दा बच्चाको चिउडो र ओठ अगाडिको सिटमा ठोकिन पुग्यो मैले हातले सेफ्टि दिएँ उसको अगाडिको दाँतले मेरो औला थोरै काटियो; उसको मुखबाट रगत आयो। धन्न फेरी खप्प राख्दा पहिलाको जस्तै भएर स्टेयरिङ मिल्यो र फेरी मोडेर बस अगाडि बढ्यो। ‘हत्तेरिका झण्डै खसेन नि बस’ मैले भने। ति नारीले बल्ल मुख खोलिन् ‘ मरे पनि के हुन्छ र उसै पनि मर्नै हिँडेको हो हामी त’ भनिन्। म अचम्ममा परे । ‘क् के भन्नु भयो, मर्न हिँडेको अरे के भयो र? तिनले भनिन् ‘ के हुनु र हजुर त्यो स्काइपको ठाडाले बर्बातै पार्यो नि।’ मतलब? मैले सोधे। उनले आफ्नो कहानी सुनाउन थालिन्। ‘ म चितवनमा जन्मेर हुर्केकी थिएँ। एक पटक पारी निकुञ्जको एक जना सिपाहीसंग प्रेम भयो उसले विवाह गर्ने बाचा पनि गर्यो मैले पनि विस्वास गरे उसले मेरो सबै कुरा लुट्यो। मैले पनि सुम्पिदिए। परिणाम हाम्रो प्रेमको निशानी रह्यो। त्यो कुरा थाहापाए पछि उ अन्तै सरूवा भएर गएछ मैले कति खोजे। भेटिन। आखिरमा म कुमारी आमा बने। यो छोरी त्यसैको निशानी हो।

त्यसको डेढवर्षपछि फेरी आर्को एक जना हवल्दार आयो र मलाई फकाउन थाल्यो मैले वास्तै गरिन। उसले यो छोरीलाई पनि मै पाल्छु। तिमीलाई पनि माया गर्छु भनेर प्राण हत्य गर्यो। तलब पनि मलाई नै ल्याएर दिने छुट्टिमा हाम्रै घरमा आएर बस्ने गर्न थाल्यो। बुबा आमालाई पनि छोरी मानीदिए हुन्थ्यो जस्तो लाग्न थाल्यो र मैले पनि स्वीकार गरे। त्यसपछि मलाई र छोरीलाई जहाँ जहाँ सरूवा भयो त्यही त्यही लिएर जानु भयो। अति नै माया गर्नु भयो। उमेरले म भन्दा आधै जेठो भए पनि लायकको हट्टा कट्टा भएकोले हेर्दा त्यस्तो फरक देखिन्थेन। यो छोरो गर्भमा थियो उहाँ जागिर छोडेर इराक जानु भयो। म चावाहिलमा डेरा गरेर बसेकी थिएँ। यो छोरो जन्मिएको खबर पाएपछि। घरमा नेट जोडन छोरालाई स्काईपमा हेर्न पर्यो भन्नु भयो। मलाई त्यस्तो केही थाहा थिएन। त्यो केवलवालाले नै आएर सबै सिकाईदियो। घरमै भाँडो भएपछि त चलाउँदा चलाउँदै जानिदो रहेछ। छोरो जन्मिए पछित बुढाले पैसा पठाएको पठायै गरिरहे। पैसाले मेरो बैंस मातिएछ हजुर सबै कुरा भयो पोई साथमा भएन अनि जे साथमा छैन त्यसैको बढी चाहना हुने रहेछ। काम केही थिएन दिन रातै नेटमा झुण्डीन थाले म। अनेकका मान्छे अन लाईनमा आउन थाले होलो हाई गर्न थाले। गर्दा गर्दै मेरो त बानीनै बिग्रेछ । एक दिन एउटा राम्रो अनुहारको केटाले जिस्कोयो तनि मैले पनि मनै थाम्न नसकेर गफ गरिदिए। उ पनि बिदेशमै रहेछ। दिनदिनै त्यसले त मेरो मनपेट आन्द्राभुडि जम्मै छाम्यो। खै उसको पनि कस्तो काम जति बेला पनि अनलाईनमै भै रहन्थ्यो मेरो बुढो त समय नै पाएको छैन भनि रहन्थ्यो। बिस्तारै त्यस्ले मलाई त नङ्ग्याएरै छोड्यो। हेर्ने नहेर्ने सबै कुरा स्काईपबाटै हेर्यो।

एक रात त्यसरीनै छोराछोरी सुतेपछि नेट खोलेर स्काईपमा त्यो र म आ- आफ्ना अवयवहरू देखाएर गफगरिरहेका थियौँ फ्याट्ट बुढाले पनि स्काईपमा घण्टी हान्यो म त आत्तिएर फ्यट्टै रिसिभ गर्न पुगेछु।उसले मेरो र उसको दुबैको चर्तीकला थाहापायो। त्यस पछि त आर्मीन भयो सनक्क सन्केर फोन काटेको मान्छे । अहिले छ /सात महिना भयो फोन पनि लाग्दैन पैसा पनि पठाउदैन। घरभाडा पचासहजार नाघी सक्यो घरबेटीले पनि घरबाट निकाली दियो अब उपाए छैन। जान्छु माइतीको नजिकै नारायणीमा पसेर मर्छु भनेर हिँडेकी म त कस्तो दिनमा भेटिएछ त्यो मुर्दार मेरो त जिन्दगी नै बर्बाद भयो भो यो स्काईपमा त कसैले पनि गफ नगरोस।’

कुरा सुनेर म रनभुल्लमा परे। बस धार्के बजारमा आइपुग्यो ल चिया नास्ता गर्नुस् भन्दै खलासी कराउन थाल्यो भित्ता पट्टिको होटल अगाडि ड्राईभरले बस रोक्यो। के खानी हो? मैले उनलाई सोधेँ केही पनि नखानी उनले भनिन्। म बाहिर निस्केर फलफूल लिएर आएँ। ति छोरीले खपाखप खाईन् उनले लिन मानिनन् तैपनि मैले कर गरेपछि लिईन् । त्यो छोरालाई मैले दाँतले बोक्रा टोक्दै गुदीगुदी स्याउका टुक्रा खुवाएँ। मेरो मुखमै उसले जिब्रो लगाएर खाएको थियो परेवाको बच्चाले जस्तो। उसको जिब्रोले मेरो मुखर ओठमा चाटिदिदा म आर्कै संसारमा पुगेको थिएँ।

‘तपाईको बुढाको नाम के हो नि? मैले सोधे। ‘हरिशरण हो’ उनले भनिन्। त्यसपछि मैले तिनको अनुहारमा चिहाएँ। हरिशरण मेरै साथि थियो। रामेछापको। उसकी पहिलाकी श्रीमती बच्चा जन्माउने बेलामा जण्डीस भएको थियो त्यस्तोमा उसले उपचार गर्नुको साटो झन् मासु पकाउदै खानदिदै गरेर श्रीमती र बच्चादुबै गुमाएको थियो। मैले मेरो मोबाइलमा फेसबुक खोलेर उसको फोटो देखाउदै भने यही हो ? तपाईको बुढा । उनले हो भनिन्। मैले तुरून्तै हरिशरणलाई ईनबक्समा मेसेज पठाएँ। हरिशरणले जवाफ पठायो। मैले उसको घरपरिवाकरको बारेमा सोधेँ। उसले सबै ठीक छ राम्रो छ भनेर ढाट्यो। अनि मैले उसलाई सम्झाएर सबै कुराहरू भने उसले भयो यार मलाई यो जुनिमा मलाई श्रीमतीको साथ लेखेको रहेनछ। हुन दे भो त्यस्तो कुरै नगर भन्यो। मैले भने कहिले काही दिन दशा बिग्रन्छ बुद्धिमा बिर्को लाग्छ। तर बेलैमा सम्हालिन सक्यो भने जीवम संकट र बिपत्तिबाट बच्न पनि सक्छ। यस्ता कुरा अहिले मात्र होईन चारै युगमा भइ रहेका छन्। साधारण मान्छेका मात्रै होईन सम्राट र राजामहाराजाका रानीहरूबाट पनि यस्ता गल्ती नभएका होईनन्।

यहाँसम्मकी देवता र ऋषिमुनिका पत्नीहरूमा पनि यस्तो भएको थियो। भगवान विष्णुले गौतम ऋषिकी पत्नी अहल्या राम्री देखेर कुकर्म गर्दा ऋषिको श्रापले कसैसंग मुखदेखाउन नसकेर मानसरोवरमा गएर लुक्न परेको थियो। तिम्री श्रीमतीको त केबल स्काईपमा हेराहेर मात्र भएको हो त्यसैले यीनको बिचल्ली नपार अब यीनले पनि चेति सकेकी छन्। त आफ्नो अतीत पनि सम्झी याद छैन भने म याद गराई दिउला भने। तिनीहरूको फोटो खिचेर तुरून्तै इनबक्समा राखेर पढाईदिएँ। यी बच्चालाई हेरेर पनि जीवनसंग सम्झौता गर भनेफछि मुस्किलले उ मान्यो। त्यतिबेलासम्म बस नरायणघाटमा पुगेर रोकिएको थियो।

हामी छुट्टिने बेला भयो उनले आँसु खसाउँदै मेरो खुट्टा समाउन खोजिन्। मैले आफू पछि हटेर उनलाई उठाउदै भने अब जीवनमा हरेक पाईलाहरू सम्हालिएर चाल्नु । जीवनमा यस्तो उतारचढाव हुँदै गर्छ निराश नहुनु मैले पनि यो यात्रामा एउटी बहिनी भेटे भनेर म तिनीहरूलाई छोटेर बुटवल तिर लागे। त्यो सानो बच्चा ले मलाई हात हल्लाएर ता ता ताता भनि रहेको थियो।

-महादेव अधिकारी
तनहूँ/ काठमाण्डौ
हाल: दुवई

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.