~पदम गौतम~
पहेँलो साँझमा रोयौ, सुनौलो घाम बाँकी छ
अँध्यारो रातले के भो, उषाको लाम बाँकी छ
चढाई फूल च्यातेर, भयो के लौ बताऊ है
ढले त्यो मन्दिरै के भो, मनैमा राम बाँकी छ
बुझे हुन्थ्यो घुमी बस्ने, तिमीले मौसमै प्यारी
र पानी पर्खिँदै बस्ने, बसन्ती याम बाँकी छ
म एक्लै पुग्छु भन्दैथेँ, तिमीलाई यतै भेटेँ
अँध्यारो छोप्न खोज्दैथेँ, अझै त्यो काम बाँकी छ
नदी-आकाश-धर्ती नै, जलेमा फेरी भन्ने छु
मलाई राख छातीमा, म बस्ने धाम बाँकी छ