कविता : आनन्द जोशीको स्वतन्त्रता

~डा. आनन्द जोशी~

परिवर्तनको छालसँगै
सम्पूर्ण रुपमा स्वतन्त्र भएर बाँच्न खोजें मैले
बाँध भत्काएर
पर्खाल ढालेर
सिमाना मेटेर
मानौं म त्यो घोडा हुँ
जो आफूखशी बाँच्छ
आफूखुशी दौडिरहन्छ / उफ्री-उफ्री हिँड्छ
जसले अस्वीकार गर्छ लगाम लगाएर बाँँचिदिन / बाँच्न
जसले अस्वीकार गर्छ कसैले गरेको दिशा–संकेतमा अघि बढ्न ।
हो, मैले
स्वतन्त्रताको परिभाषालाई बदल्न खोजें / बदलेँ
स्वतन्त्रताको परिभाषालाई
विस्तृत पार्न खोजें / विस्तृत पारेँ
स्वतन्त्रता : सीमाहीन
स्वतन्त्रता : बन्धनमुक्त
स्वतन्त्रता : स्वच्छन्द
पाण्डोराबक्स खोजें मैले —
स्वतन्त्र पारें कीटाणुहरुलाई,
बन्धनमुक्त गरिदिएँ साँढेहरुलाई —
उन्मुक्त भई डुलिहिँडन / जुधिहिँंड्न,
मानचित्रका देश–देशका सीमारेखालाई मेटिदिएँँ —
जथाभावी कुल्चिहिँड्न !
मैले नै ठड्याएका हूँ
अग्ला–अग्ला घर (विनाजगका !)
मैले जन्माएको हूँ हूल (अर्थहीन !)
यही वर्तमान / यही स्थितिमा बाँचे म
गर्वित म आफ्ना प्रयत्न / उपलव्धि देखेर ।
…… …….. …….. ………. …….

अहो ! स्तब्ध म
आफ्ना प्रयास / कार्यहरुको परिणामसित –
मैले बाँध भत्काएर मुक्त गरिदिएको पानी
नदी भएर बग्नुपर्ने हो
आफ्नो प्रवाहसित कहाँ बग्यो र त्यो पानी
त्यो त भुइँमा सर्दै–सर्दै सुकिगयो ।
मैले ढालेको पर्खाल
यद्यपि भौतिक रुपले अस्तित्वहीन भए तापनि
जीवित नै रह्यो मान्छेभित्र–भित्र
एक–अर्काबीच
एक–अर्काका कुरा र कार्यबीच ।
मानचित्रमा मेटिदिएको सीमारेखा पनि
बाँचिरह्यो / फेरीफेरी पुनर्जीवित भई नै रह्यो
देश देशबीच / मान्छे–मान्छेबीच
धर्म, जात, छुवाछुतबीच, रंगबीच
कोरी नै रह्यो सिमाना
कोरेर मात्र सन्तुष्ट नभई युद्ध गरी नै रह्यो
बम, विस्फोट गरिरह्यो ।
अब त थाकिसकेंँ
यो क्रम / यो व्यवस्थासित बाँचेर
जहाँ न ‘स्व’ छ
न ‘तन्त्र’ छ
केहि छ भने सिर्फ ‘वाद’ मात्र छ
एकबाट अर्केा वाद, अर्कोबाट अर्को वाद
आ–आफूबीच कलह / संदेह
अनिश्चित भोलि ।
+ + + + + + + + + + + + + +
म यो युगको मान्छे
मजस्तै —
हावा पनि स्वतन्त्र छ
तर कहाँ त्यसले घर भत्काई हिँडेको छ आफूलाई छेके पनि ।
नदी पनि स्वतन्त्र छ
तर कहाँ त्यसले किनारहरु भत्काएर हिँँडेको छ आफूलाई छेके पनि ।
अब अस्वीकार छ मलाई —
फेरि–फेरि स्वतन्त्रताको नाउँमा आँखा चिम्लेर दौेडिनुपर्ने दौड
स्वच्छन्दताको नाउँमा मत्ता हातीझैँ बाँच्ने क्रम
सीमाहीनताको नाउँमा मूलधारबाट बिस्थापित भएर हराउनुपर्ने यातना
बन्धनमुक्तको नाउँमा आफूलाई सर्केनीले कस्नुपर्ने बाध्यता
हो, अहिले त मैले
एउटा अलग्ग युद्घ लडनुपर्ने छ —
खुम्चिन्दै गएको स्वतन्त्रताको विरोधमा
दिशाहीनहरुको दिशासंकेतको विरोधमा
आफैले जन्माएको बिम्वको बिरोधमा ।
म बाँच्छु अब —
खुम्चिएर होइन, आकाश भएर बाँच्छु
पोखरी होइन, नदी भएर बाँच्छु
आफैले जन्माएको दिशामा अघि बढेर
आफू आफैँ भएर बाँच्छु
‘म’ बाँच्न सक्ने स्वतन्त्रतासित बाँच्छु
म आनन्द जोशी

(स्रोत : शारदा, कार्तिक २०७३, पेज ११ — १२ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.