~उमेश लुइटेल~
नयाँ स्वर्ग फक्राउने
फाइलहरु निलेर
आकाशिएका छन् पेटहरु ।
निर्लज्जताको खराउ पूजेर
ख्याउटे जिउहरु पुष्ट भैरहे
र रमाउँदै
अर्काको आँसुमा होली खेलीरहे ।
कालो चश्मा पहिरिएर
दृश्य देख्नेहरु
आश्वासनको बर्को ओढाएर
कपट साट्नेहरु
चौरस्तामा व्यस्त छन्
मान्छेको गिदी लट्ठयाउन ।
चिप्ला शब्द फलाकेर
अविश्वासको खुकुरीले
टाउको गिँड्दै
दिन बितिरह्ये
यता पूर्खाको
गौरव र इतिहास दुर्वलिरह्ये ।
सर्पले भ्यागुतो निले झैँ
मुखहरु भवन निल्दैरहे
छेपारोमा अनुदित भएर
सिङ्गो देश चपाउँदै
सुसेलीरहे झुटका सुसेलीहरु ।
गोहीका आँसु चुहाउँदै
गुलिया आदर्श छाँटेर
मान्छेको पसीना पिउँदै
मायावी भएर बस्तीमा
प्याखोभमा परिवर्तित भैरहे मनहरु ।
***