कथा : क्यान यू हेल्प मि?

~निरज थापा~niraj-thapa

अक्षरगञ्जलाई थन्क्याएँ थाकमा। बासुदेवकोबाट ल्याएको मोक्षान्त:काठमान्डु फिबर-को सिल्भिया पढेर फेसबुक खोलेँ। सिल्भिया सिलिङफ्यानमा झुन्डिएकोले फ्यानसितै घुमेको दृष्यले आङ जिरिङ्ग भएको छ। फेसबुक खोलेँ अनि ग्रीन टि बनाउन थालेँ।

टि पिउँदै कवि भाइ ज्ञानेन्द्र यक्सोसित समावेशी सङ्कथनमा लागेँ। च्याट चल्दैछ ज्ञानेन्द्रसित मेरो। समावेशी र नागरीय जीवन सौन्दर्य-लाई विचार्दैछु म। हाम्रो चर्चा चलिरहेकै छ।

फेरि जनान्दोलनको कुरा छ नि के हुने हो?

-एकजना हितैसीले इनबक्समा सोधे।

मलाई साह्रै था,भएन। राजनैतिक एनालिसिस गर्नेमा पत्रकार साथीहरू अनिल तेलैँजा, मनोज बोगटी र सचिन चामलिङलाई धेरथोर थाहा हुनसक्छ, तेतै सम्पर्क गर्नोस्न ल। – लेखेँ।

मध्यमार्गले समावेशी– बारे सोधेको प्रश्नको पनि चर्चा गर्दैथ्यौँ हामी।

एकक्षिण मलाई उत्तर आधुनिक ऐना-को स्वर्गीय ज्याक डेरिडाप्रति हेर्ने इच्छा जागेकोले हेरिपठाउँछु। साथीहरू भने ग्रुप च्याटिङमा धमाधम औँली ठाडो पार्दैछन्।

मलाई कुनि किन यो रचनाले तानिबस्छ। फुर्सदको बेला यसलाई पल्टाई नै रहन्छु।

………

ज्ञानेन्द्र यक्सोले गार्सियाको वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड बारे भन्दैछ मलाई फोनमा। हामी फोनमा कुरा गरिरहेका छौँ। घरि घरि ग्रिन टिको स्वाद पनि लिँदैछु म।

अँ। मैले पोहेर मात्र पढेको। चर्चा भएन भने त बिर्सिइँदो रहेछ नि – भन्दैछु उसलाई।

अन्नोन नम्बरको वेटिङ हुँदैछ अघिदेखि।

एकक्षिण ल ज्ञानु कसको हो कुन्नि फोन आउँदैछ। भरै कुरा गरूम् ल – भनेर फोन काटेँ।

फेरि कल आयो।

कल रिसिभ गरेँ।

आवाज छैन उताबाट पनि मबाट पनि। दुवै मौन।

न उताबाट क्यै छ न त एताबाट।

फोन डिस्कनेक्ट। आ.. यो के हो के हो फोनको जमाना! कोइबेला त बिहानै टाउको दुखाउने, मनै बिगार्ने खाल्को कल आउँछ। कोइबेला त यो मोबाइल पनि नराखेकै ठिक लाग्छ। तर सप्पैले हन! एउटा फोन पनि राख्न नसक्ने भन्छन् र पो त फेरि। भएन आजकल सप्पै थोक त मोबाइलबाट हुन्छ। भारत देशमा अहिले ईमेलभन्दा बढी अरू एप्स नै प्रयोगमा छ। क्यै चाहियो वाट्सेप्। सप्पै त वाट्सेपमा विद्यमान छ अचेल। कुराहरू, पिँडाहरू, आवश्यकताहरू, आवाजहरू, ज्ञानहरू। सप्पै साटासाट गर्ने माध्यम नै यो मोबाइल फोन।

टाउको दुखाइँदैन एस्तो कुरामा – सोँचेर सिमोन दि वुवाको सेकेन्ड सेक्स– लाई पल्टाउन थालेँ। तथापि फेसबुक भने खुल्लै छ डेक्सटपमा।

इन्बक्समा रातो नोटिफिकेसन हुने क्रिया भने निरन्तर नै छ।

यो जिस्टो चाहिँ टिएमसीमा जान्छ कि जाँदैन होलाऊ?

-एकजनाले फेरि राजनैतिक प्रश्न इन्बक्स गरेछ। अघि भर्खरै एकजनालाई पन्छाएको फेरि अर्को सोध्ने आइपुगेको रहेछ। अब के उत्तर दिने उसलाई। चुपचाप भएँ म।

वालमा साथीहरूले पोष्ट गरेका रहेछन् – नभएमा टिएमसी जोइन गर्ने भन्ने कुरा जिस्टोको

भोक लाग्दा भात पनि माग्नुपर्ने यो देशमा खै के भन्नु र।– भनेर लेखेछ कमेन्टमा एकजनाले।

अधिकारको कुरा त झन् नगर्दा भो। यो देश के देश! – जस्ता कमेन्ट्स लेखेछन् अरूरूले।

सिएमले तीन महिनामा पाहाडलाई स्वीजरल्यान्ड बनाउछु भनेको त धेरै भएछ हैँ?– सोधेको कि भनेको लेखेछ अर्कोले।

कम्ती आउदैन त हौ सिएम पनि विकासको पोका फेँक्छ र जान्छ तर मुखले मात्र रैछ हौ प्रोजेक्ट पनि। विभागसित सोध्यो अर्डर नै आको छैन मात्र भन्छ त अन्त। विथ्थामा। हैट.. – भनेर लेखेछ अर्कोले चाहिँ।

आ..यो सप्पै कुरामा पस्नुअघि जान्नु ठिक होलाऊ, ठानेर फेरि सेकेन्ड सेक्स पढ्न थालेँ।

यस्तैमा:

क्यान यू हेल्प मि?

ढ्राङ्ङङङ्ग  

वाक्यसहित एकजना राम्री स्त्री अलि हट टाइप पोजमा देखापरी इन्बक्समा। हाँ!… भइरहेँ एकक्षिणसम्म म।

हाई। हल्लो। हाऊ आर यू?- हरू अस्तितिरै भएको रहेछ। साथी पनि बनेका रहेछौँ हामी। तर मैले नोटिस नै नगरी थिएछु। प्रिभियस च्याट हेरेर म दङ्ग भएँ। आजको डिपिले चाहिँ मलाई तान्यो। म झ्वाम्मै पसेँ उतिर। उसको कुरातिर। आँखामा नक्सा र दिमागमा हटनेस गाडिएछ।
कस्तो हेल्प भनन। – सोधेँ।

– हैन होस् तपाईँले अर्कै सोच्नु हुन्छ?
– राम्रो काममा कस्सैले नराम्रो सोच्दैन। प्लिज टेल मी। काम कुनै नराम्रो पनि त हुँदैन। नराम्रो त मान्छेको सोंच मात्र न हो।
– हैन, बाबा पनि बित्नु भो। आमा पनि हुनुहुन्न। दिदीकोमा बसेर पढ्दैछु।

– ए.. सरी। कैले बितेको?

– चार महिना भयो। तपाईँ के गर्नु हुन्छ?
– टिचिङ।
– ए सर पो हुनुहुन्छ?
– हो त।
– मलाई ओब्बर मन पर्छ टिचर। हाम्रो टिचरहरू पनि सप्पै राम्रो छ।
– हो र । ए..ओके
– सुन्नु न हेल्प गर्नु न हौ मलाई।
– ओके। भन न त। के गर्नु पर्ने मैले?
– सरले ट्यूसन फिस माग्दैछ। गाइडहरू पनि किनेको छुइनँ। साह्रो परिराछ।
– अन्त भनन त मेलै के गर्नु पर्ने?
– आबो के र। मान्छेलाई केको खाँचो पर्छ।
– लौ। के को नि…. खानाको । लुगाको। ओढ्ने ओछ्याउनेको। स्नेहको।
– हैट। तपाईँ त। हेल्प गर्नु न हौ। नजिस्किनु न।
– साँच्ची भनेको?
– अँ… अप्ठ्यारो छ र त भनेको । मान्छेलाई सप्पै कुरामा के चाइन्छ, क्यास् होइन। त्यै भनेको। हेल्प गर्नु न।
– साँच्चै भनेको?
– अँsss।
– कति भन त?
– कति सक्छ तपाईं?
– हैन भन न।
– कति दिन्छ तपाईँ?
– कति भन न त?
– भन्नु न हौ कति दिनुसक्छ?
– १,२,३ सम्म।
– मात्रै? टिचरकोमा त निक्कै पैसा हुन्छ त। हाम्रो सरहरले त गाडी किनेको छ। ठुल्ठुलो घर बनाको छ।
– हो र ! धनी रहेछन् ति सरहरू। नत्र त टिचर काम गरेर धनी भएको घटना त बिरलै हो भारतमा।
– आ…. भन्नु न हौ कति दिन्छ? अलिक धेर दिनु न।
– भन न त !
– ८ दिनु सक्छ?
– हाँ!!!

म अत्तालिएँ। मेरो मस्तिष्कमा सिल्भियाको जस्तो काल्पनिक नक्सा घुम्न थाल्यो। यी स्त्री पनि सिल्भियाजस्ती त हैन आफ्नै क्रियाकर्म गराउन भोजको निम्तो दिने? म कुन्नि कसरी तानिन थालेँ उतिर। अघिसम्म राजनीतिका कुराहरूले दिक्क भइरहेथ्योँ। अहिले फेरि यो सहयोगको कुरामा चाहिँ के मेरो उदार हृदय जागिउठेको हो? कि उसको नसालु पोजले तानेको?हँ!! अहिले मलाई ज्ञानेन्द्र यक्सोसित गार्सिया, ग्राम्सी, हरिशंकर परसाईहरूकै चर्चा गरिरहेको भए ठिक हुनेथियो, लागिरहेछ। किन लाग्दैछ यस्तो? लौ!  कि म सेकेन्ड सेक्स पढेकैले आकर्षित् हुन लागेको!? हैट.. यो विचार पनि।
………

फेरि:

-प्लिज हेल्प गर्नु न हौ।
– अन्त पैसा चै मैले कसरी दिनु? मो चिन्दिनँ पनि तिमीलाई?
– म पनि त तापाईँलाई चिन्दिनँ।

– घर कहाँ हो तिम्रो?

– घर जानेर के गर्नु हुन्छ?

– स्कुल?

– अब सरलाई भनेर मलाई नराम्रो गर्ने विचार तपाईँको?

– भन्नु न तपाईँ हेल्प गर्छ कि गर्दैन। तपाईँलाई मन परेर पो भनेको त। राम्रो लागेर पो भनेको त अरूजस्तो भा त कहाँ भन्थेँ र!  तपाईँ चाहिँ बुझ्नुहुन्छ, भन्ने लागेर पो भनेको!

– हो र। के मनपर्छ मेरो?

– एब्रीथिङ। लुक्स। गेटप। पोएम्स्। स्टोरी।

– हो?

– हो त।

– कुन पढेकी छौ? भन त?

धरातलको आयुबिएमडब्ल्यू

– ओके। धन्यवाद पढेकोमा।

– धन्यवादले काम चल्दैन। भन्नु न तपाईँ हेल्प गर्छ कि गर्दैन?
– हैन! तिमीलाई पैसा साँच्ची नै चाहिएको हो?
– साँच्चै र त भनेको। पुरा अप्ठ्यारो भैराछ र त। हेल्प गर्नु न। म मिलाएर लिन आउँछु।
– कहाँ?
– तपाईँ जाँ बस्छ त्यैँ।

– हाँ! के भन्छ?

– अँ! फिक्स गर्नु न तपाईँले जाँ भन्छ त्यैँ लिन आउँछु।
– ८ त सक्दिनँ न नि।
– कति सक्छ?
– हेरूँ न।
– हेरूँ पो हरे! भन्नु न हौ, नत्र अरूतिरै खोज्नु पऱ्यो नि त।
– ओके, आइ विल ट्राइ।

– अप्पुई! ट्राई पो हरे। भन्नु न।

– ओके, आइ विल म्यानेज।
– पक्का भन्नु न ।
– ओके भने त। आइ विल ट्राइ।
– ढुक्कै भयो। प्लिज हेल्प गर्नोस् ल। तपाईंलाई धन्यवाद।

– तिमी खुशी भयौ मलाई राम्रो लाग्यो।

साँच्चै मलाई मज्जा लाग्दैथियो। मज्जा लाग्दै गयो। आफुले पनि अप्ठ्याराहरू देखेर हो कि किन म आकर्षित् भइरहेको छु उसित।

-लभ यू। तपाईँले मलाई हेल्प गर्छु भन्नु भयो। ढुक्कै भयो ठुलो समस्या हट्यो मेरो। थैङ्कू.. लभ यू, लभ यू, लभ यू सो मच्।

– हाँ।

मैले के गरेर एति धेरै माया? यी केटीले मलाई के गर्दैछे। म असमञ्जसमा परेँ।

-साँच्चै ल म भर परेँ तपाईँमा बरू तपाईँले जे भन्छ त्यै गर्छु । जे माग्छ त्यै दिन्छु। भन्नु ल म समय मिलाएर आउँछु।

– हाँ……

……..

अघिसम्म त मलाई केहीजस्तो पनि लागेन। च्याट गरिरहेँ ऊसित। ऐले भने म अत्तालिएँ। हैट,के भनी उसले।
प्रोफाइल कोट्याएँ उसको । भर्खर दुई हप्ता मात्र भएको रहेछ अकाउन्ट बनाएको।
अत्तालिएँ।

नक्सा हेरूँ- खोजेँ । एउटा मात्र रहेछ, त्यही हट पोज दिइरहेकी। राम्रो ठिम्याइनँ त्यो उसकै हो कि हैन! दोधारमा परेँ। कतै टाइमलाइनतिर छ कि हेरेँ। अहँ छैन।

…….

के गरूँ, कसो गरूँ-को दोसाँधमा अघिदेखि पढ्दै गरेको सेकेन्ड सेक्स-लाई पल्टाएँ।

नभएर टेरेस चढेँ। हावामा एकक्षिण शान्त भएर बसेँ। झरेँ। रूम पसेर मोबाइल टिपेँ अनि हठात्साथीलाई फोन गरेँ। भनेँ- तलाईँ जरूरी कुरा भन्नु छ।
– भन् न।
– एउटी केटीले मेरो सातो नै लगी।
– के भन्छ। काँ? कोस्ले?- साथी पनि अत्तालियो फोनमै।
– फेसबुकमा हौ?

-कैले भन् त ?
– ऐले ।
– लिङ्क पठा त। को हो ? हेरूँ।
– लु हेर् ल।
………………….

………………

पाँच मिनेटपछि फोनमा:

–    हैट। त्यै केटी पो रहेछ बज्जिया। मलाई अस्ति चारदिन अघि सुत्नै नदेको पैसा मागेर मागेर। यो गर्छु त्यो गर्छु भन्छ। चिन्ता नगर्नू सप्पै गर्छु भन्छ, तपाईँलाई स्याटिस गर्दिन्छु पो भन्छ गाँठे।

मलाई त लोभ पनि लागेको नि…

–    हौ तेसरी लोभिन्छ र त…

लामो सास तानेर फेरि भन्नथाल्यो त्यो साथीले:

      सुन् त आजकल सामाजिक सञ्जालबाट देहब्यापार गर्दैछ रे। लेटेस्ट कुरा हो यो। होसियार बस। तेरो निद्रा, भोक,प्यास सप्पै लुट्न सक्छ। मो त अस्ति दुई दिन नसुतेको।

–    हो र!!!!
तेस्तो रैछ। हैट। हैट। धन्न! म बाँचेछु ।

…………

हत्तार हत्तार उसलाई ब्लक हानिदिएँ।

कहाँ के गर्दै गरेको मान्छेलाई । हैट!

मन भने चि…सो भइरहेकै छ अहिले पनि। तपाईँहरूको नि…..???

…………………………………………………………..

सिलगढी/ १० /८/ २०१६

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.