~बिस्नु प्रवा सापकोटा~
म भित्र
सम्भावानाका ढोकाहरु बन्द छन भन्ठानेर
शहर बसेका
मुग्लान पसेका
मेरै कोखका उत्पादनहरु
आक्कल झुक्कल
पर्यटक झै म कहाँ आइपुग्छन
एक सागर पसिनासँग साटेको
एउटा क्यामरा बोकेर
त्यसैले खिच्छन मेरो तस्बिर
अनि हतार हतार
फर्काउछन उनिहरुका बाङगा पैतालाहरु
उतै,
सपनाको देशतिरै
सहर पुगेर
त्यहि तस्बिर
टाँसिदिन्छन
फेसबुकको भित्तोमा
र तस्बिरलाइ
साइबर भूगोलका जनहरुले
लाइक ठोक्छन
कमेन्ट खासल्छन
‘आहा! कस्तो राम्रो गाँउ’
मेरा सन्तान
तिनै कमेन्ट हेरेर मख्ख पर्दै
निकोटिनले पहेलिएको ओठ्को आगनमा
बिदेशी मुद्राले किनेको मुस्कान
प्रदर्शन गर्छन
के दिन आयो यस्तो?
मेरै सन्तानलाई
म भन्दा क्यामरामा कैद
मेरो तस्बिर प्यारो लाग्न थाल्यो ।
यो चैत्रको खडेरीमा
आफ्नै सन्तानले
फेसबुकको भित्तोमा टाँसिदिएको
आफनै तस्बिर हेरेर
आफैलाई प्रस्न गर्छु:
मेरो घरको पिढी किन मेरै सन्तानका यात्राहरुको बिसौनी हुन सकेन?
किन भर्न सकेन मेरो माटोमा उब्जेको कोदोले उनीहरुको पेट ?
किन मेटन सकेन मेरो झरनाको पानिले मेरै सन्तानको तिर्खा ?
किन मेरै घडेरीमा बन्न सकेन मेरै सन्तानको घरको जग ?
निरुत्तर
फेसबुकको भित्तामा आफ्नै तस्बिर हेर्छु
र रुन्छु
भित्र कतै आफ्नै सन्तान प्रति
क्रोधको आगो पैदा हुन्छ
औलाले होइन मुड्कीले
फोटोको मुनि अनलाइक बटन दबाउन मन लाग्छ
तर
आफ्नै सन्तानले तिरस्कृत गरेको मलाइ
फेसबुकले किन माया गर्थ्यो र?
फोटो अनलाइक गर्ने बटम पनि राखिदिएनछ .
बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)