~गोपाल झापाली~
यात्रीको खचाखच भिड । लखनपुर देखि दमक सम्मको यात्रा । सानो, थोत्रो ट्याक्सिका वरिपरि झुण्डिएर पनि गन्तब्यमा पुग्न आतुरहरु । मानौं एउटा मरेको फटेङ्ग्रोलाई कमिलाको गोलाले तानिरहेको छ । साँगुरो सडकमा दगुर्ने रिक्सा र उस्तै थोत्रा ट्रक तथा बसलाई बाटो छोड्दै गुडेको अर्थात म झुण्डिएको ट्याक्सि कोल्टिएर उत्तर लाग्दा हातैपो फुत्किएलाकि भन्ने औडाहाको कुडुँलोले मन बाँधेको छ । यो जोखिममा पनि एउटा १२,१४ वर्षको झै लाग्ने ठिटो भाडा उठाउँदैछ ।
पुर्व पश्चिम राजमार्गमा पाडाजुङ्गिी– गौरिगञ्ज सडकको अैजेरु पलाएको ठाँउ । पाडाजुङ्गिीमा ट्याक्सि रोकियो । अगाडिको थुतुनाको घपनि उठाएर चालकले ईन्जिमा पानी हाल्न थाले । धापिएको ईन्जिनले पानी पिउँदा उडेको वाफ र उसले उडाएको चुरोटको धुँवाको सम्भोग पनि मलाई त कामुक लाग्दै थियो । बिद्यालयको पोशाक लगाएकी ,त्यहि भाडा उठाउने ठिटाकी दामले नानी ट्याक्सिबाट उत्रिन र भाडा सोधिन । कति दिनु ? उस्ले लजाउँदै भन्यो – ‘ भो पर्दैन ?’
सिटमा बस्दै गरेको चालकले छिल्लिदैं भन्यो –‘ जाउ जाउ बहिनी, कान्छाले अहिले भाडा होईन पछि अरुनै थोक माग्छ । ’ दुवै जना सर्माएर र आँखा जुधाए । स्कुले नानी दक्षिण लागिन , ट्याक्सि र त्यसमा झुण्डिएको भाडा उठाउने भाइ , म र वाँकि उत्तर । उसले अर्को मोड नआउन्जेल भाडा उठाउन छोडेर दक्षिण तर्फ हेरि रहयो ।
भाडा दिने पालो मेरो आयो । १० को नोट दिँदै भने –‘ भाइ, त्यो बहिनीसँग किन भाडा नलिएको ?’ धकाएझैँ गरेर भन्यो –‘ के गर्नु दाइ, म पनि पढेको भए त आज यसरिनै स्कुल जान्थे नि, स्कुल जाँदा एक रुप्पे पनि नभर कस्तो साह्रो पर्छ ,के भाडा लिनु ?’ पुन ः प्रश्न –‘ तिमी त्यो बहिनी सँग सँगै पढेको हो ?’ पुनः उत्तर –‘ हुन त होईन तर मैले पनि अर्काको भाँडा मोलेर पढ्न त पढेँ नि ७ कक्षासम्म । के गर्नु अर्काको घरमा बसेर सधै पढ्न नपाईने । ३ वर्ष भो , छोडि देँ मैलै त । ’
रतुवाको पुल काटेर ट््याक्सि दमक प्रवेश गरि सकेको थियो । तल सिटमा बसेकी कुनै महिलाको आवाज आयो । ‘ भाइ, गेउरिया देखिको भाडा कति ? ’ उसले पढाई प्रतिको मोहको कुरा सकेकै थिएन ।
‘ म पनि पढेको भए त कतिमा पुग्थे होला ? ’ सायद आँफै सँग प्रश्न गरेको होला तर मैले सुने । ति महिलाको पुनः प्रश्न आयो –‘ होईन यो भाइ भाडा लिँदैन कि क्याहो , मेरो भाडा कति ?’ उसले औँला भाच्दै चिच्यायो –‘ दश । ’
– लखनपुर, झापा