~रामचन्द्र कार्की~
बास्ना पो दिउँ कसरी, ओईलाई सक्या फूल म त,
यात्रुहरु किन आउथे, भाँचिई सक्या पुल म त ।
स्वार्थी यो दुँनियाँमा, आफ्नै भाग खोज्छन् सव,
ओड्ने आशा कस्ले गर्ने, च्यातिई सक्या झुल म त ।
सवले लात्ती हानी हिड्छन, बगरको ढुङ्गो परेँ,
साथ पाउनु त लंका भयो, आखिर म त बुङ्गो परेँ ।
आँधी हुरी मै माथी, चर्को घाम र झरी पनि,
सवको आँखा तारो अनि, साउने भेलको डुङ्गा परेँ ।
घाउ निको पार्नलाई ,सडिसक्या मलम म त,
कस्ले राख्थ्यो खल्ति भित्र, चुचो भाँच्या कलम म त ।
सवलाई देख्छु झिलीमिली, मरुभुमी म त,
हिरा, सुन, मोती होईन, गलिसक्या फलम मत ।
रंगिन यो दुनियाँमा, दृष्टि बिहिन खाँखा मेरा,
मनको बोझ पोखुँ भने, स्वर बिहिन भाका मेरा ।
सबलाई राम्रो बन्नुपर्छ, जिउन पिउन पनि,
ब्यर्थ स्वाद किन खोज्छौ ,रस चुस्या चाका मेरा ।
सबले घना शहर खोज्छन्, म सालघारी परेँ,
गोडमेल गर्ने कस्ले, उजाड उजाड बारी परेँ ।
चारैतिर हरियाली, छङ छङ नदी नालाहरु,
गैरी खेत होईन म त, सुख्खा टारी परेँ ।
रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की
(स्रोत : रचनाकारको ब्लगबाट सभार)