~अनन्त निरौला~
मर्मले
चोटले
तिरस्कारले
मान्छे जिउँदै
चाना चानामा परिणत भएको देखेको छु।
निकै मै हुँ भन्नेहरु पनि अन्तत:
फत्रक्क भुइँमा गिरेको देखेको छु।
म छताछुल्ल हुन दिन्न
म विखण्डित भएर छरपस्ट हुन दिन्न
म खण्ड खण्डमा विभाजित हुन दिन्न
म यसै मेरो मूल्यवान जीवन
तिम्रो कटु शब्दहरुको शिकार हुन दिन्न
तिम्रो भक्षण प्रवृत्ति को आहार हुन दिन्न।
केही नलागे
म मर्मलाई कविताको कुलेसो दिने छु
चोटलाई कथाको पात्र दिने छु
तिरस्कारलाई गीतको शब्द दिने छु।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )