~मणी भट्टराई~
आफ्नो छोरो ‘सि’ ग्रेड र आफ्नै घरको एउटा कोठामा ४/५जनाको सिंगो परिवार बस्दै आएको डेरावाल इन्द्रजीत को छोरो सुन्दरलाल ‘ए प्लस’ ग्रेडमा पास भएको सुनेपछि घर मालिकले पहिलो पटक आफ्नो घर बाहिर उभिएर आफ्नो बडेमाको घरलाई धेरैबेर नियालिरह्यो । घर भित्र पसेर छोरालाई र बुढीलाई हेर्यो । सबै कुरालाई अनौठो पाराले हेरिरह्यो र अन्तत: बाथरूममा गएर आफ्नो अनुहार हेर्यो । चिट्चिट् पसिना आइरहेको थियो ।
पल्ला कोठामा छोरालाई पढ्न बाधा हुन्छ भनेर बेलैमा टिभी निभाएर सुतेको सम्झ्यो । डेरावालका छोराछोरीको संगत नगर भनेर छोरालाई हप्काएको संझियो । उसले छोरालाई पढाउन गरेका हर मेहनत संझेर ल्यायो । त्यसपछि डेरावाल ईन्द्रजीत र उसको एउटा सानो कोठा, टिभी त्यही, भान्सा कोठा त्यही, दुई-दुई वटा बेडहरू त्यही, पाहुना आउँदा खाटमुनि आफू सुतेर पाहुनालाई खाटमाथि सुताउनु पर्ने उस्को अवस्था एक एक संझियो । आफ्नो पटक-पटक श्रीमतीसँग झगडा परेको तर ईन्द्रजीत र उसकी श्रीमती एक अर्कोमा कहिल्यै चर्को स्वरले बोलेकोसम्म नसुनेको एकसाथ संझियो। आफ्नो अधिकृतको जागीर र ईन्द्रजीतको सामान्य मजदुरी पेशा पनि एकैचोटी संझियो । त्यो अस्तव्यस्त सानो कोठाभित्र पढेर पनि ‘ए प्लस’ ग्रेड ल्याउने ईन्द्रजीतको छोरा सुन्दरलाललाई संझिने धेरै कोसिस गर्यो । डेरावालका छोराछोरी भनेर उस्ले उति ध्यान पनि दिएको रहेनछ ।
ऊ आज ईन्द्रजीत र उस्को परिवारलाई संझेर पहिलो पल्ट भावुक मात्र भएन, भित्रैबाट श्रद्दाले भरिएर आयो । फटाफट् तल झर्यो, ईन्द्रजीतसँग पहिलो पल्ट हात मिलायो र सुन्दरलालको हातमा बधाईस्वरूप केही थमाईदियो । उस्ले निक्कैबेर सुन्दरलाललाई हेरिरह्यो । “मलाई टाढाको नसंझनु, हामी एउटै घरमा बसेको धेरै भयो” ईन्द्रजीत तिर फर्केर कृष्णमानले भन्यो- “मलाई दाजु जस्तै संझिए हुन्छ।”
अनि सुन्दरलालको टाउको सुम्सुम्याउदै भन्यो- “म तिम्रो बडाबा हुं ।”
यतिखेर कृष्णमानको भरिएको आंखाहरु छचल्किन खोज्दै थियो । त्यसपछि ऊ माथि तलातिर गयो । ईन्द्रजीत र उनको परिवार आफ्नो घरधनीलाई छक्क परेर हेरिरहे ।
घर मालिक्नीले यो सबै संबाद सुनिछन् क्यारे ! ऊनी आफ्नो लोग्नेसँग चर्को-चर्को स्वरमा बोलिरहेकी थिइन् । घर मालिक पनि जंगिरहेको सुनिन्थ्यो ।
– मणी भट्टराई ।