~मिलन तिमिल्सिना~
३२ लटको बाइक, शुक्रबार तेल भर्ने पालो । बिहीबार पालो हुनेहरुले मंगलबार नै लाइनमा राखेका थिए । आफूले नि यसो नगरे पेट्रोल नपाउने डर । त्यसैले बिहीबार अफिसबाट फर्कने बेला सरोज सिधै पेट्रोलपम्पतिर लाग्यो । पम्पमा आजै पालो भएका बाइकले तेल भर्न पाएका छैनन् । सडकको वल्लो छेउमा आज पालो हुनेको लाइन, पल्लो छेउमा भोलि पालो हुनेको लाइन । घण्टौं लाइनमा बसेर बल्लतल्ल तेल भर्न पाएकाहरु युद्ध जिते झैं गरी फर्किंदैछन् ।
‘हेलो अँ भरें, अब फर्किंदैछु, खाना थोरै बनाउ, फर्किंदा एक किलो लड्डु ल्याउँछु’ पेट्रोल भरेर फर्कन लागेका एकजनाले मोबाइलमा कुरा गरेको सरोजले सुन्यो । ‘मैले पनि भोलि तेल भरेपछि फर्किंदा यसैगरी लड्डु लैजानुपर्ला’ सरोजले मनमनै सोच्यो र पल्लो पट्टिको लाइनको पछिल्लो छेउ खोज्न अघि बढ्यो ।
……………………
हुन त सरोजले अहिलेसम्म पेट्रोल भएन भनेर बाइक थन्क्याएर राख्नुपरेको छैन । वल्लोपल्लोघरका सबैले महिना दिनदेखि बाइक थन्क्याएर हिँड्दा सरोज बडो शानसँग बाइकमा हुईंकिरह्यो । घरबाट निस्कँदा र फर्किंदा सडकमा लखरलखर हिँडिरहेकाहरुलाई उ पल्याकपुलुक हेर्ने गर्छ । बाइक नरोकिकनै जाने हो भनेर सोध्छ पनि । कसैले मलाई पनि अलि पर पुर्याइदिनोस् न भन्दा सुन्दै नसुनि हुईंकिन्छ । कुनै युवती एक्लै हिँडेको भेट्यो भने चाहिँ बाइकको स्पिड घटाउँछ । यसै गरीगरी उसले केही युवतीलाई लिफ्ट पनि दिइसकेको छ ।
फेसबुकमा लिफ्ट दिनेहरुको चर्चा सुनेपछि उसले पनि बाइकको अघिल्तिर ‘कीर्तिपुरदेखि रत्नपार्कसम्म जानेलाई एक सिट’ भनेर एकपटक लेख्यो । बाइकमै लेख्न थालेपछि चाहिँ भित्रैदेखि मन नपरेपनि उसले केटाहरुलाई पनि लिफ्ट दिन पर्यो। केटाहरु चढेको बेला यसो फोटो खिचेर फेसबुकमा राख्नु है मेरो पनि तस्बिर आउनेगरी भनेको थियो । तर कसैले पनि फेसबुकमा उसले लिफ्ट दिएको कुरा राखेनन् । त्यसपछि सरोजले बाइकको अघिल्तिर टाँसेको कागज च्यातेर फ्यालिदिएको छ ।
छिमेकका अरु लखरलखर अफिस ओहोरदोहोर गरिरहँदा बुढो शानसँग बाइकमा हुईंकिन थालेपछि श्रीमतीको पनि भाउ बढ्न थाल्यो । कामै नपरेपनि उनी श्रीमानसँग बाइकको पछिल्तिर बसेर धेरैपटक बजार ओहोरदोहोर गरिन् । छरछिमेकीलाई देखाउनेगरी बाइकमा बसेर घरबाट निस्कँदा र फर्किंदा उनलाई साह्रै आनन्द लाग्छ ।
दसैँमान्न घर जाने बेला भयो । बसमा सिट पाईंदैन । श्रीमती र केटाकेटीलाई बसमा पठाएर आफु बाइकमा जाने सरोजको सुर थियो । श्रीमतीले मानिनन् । चिनेको डिएसपीबाट मिलाएको पेट्रोल अब चार लिटर मात्र बाँकी छ । घर सम्म त पुगिएला, तर फर्कने कसरी ।
बरु बाइक थन्क्याएर सबैजना खाँदिएरै भएपनि बसमा जान सरोजले प्रस्ताव गर्यो । तर श्रीमतीले मानिनन् । घरसम्म जसरी नि बाइकमै जाने । माइत पनि जाने, बरु फर्किंदा म दाइहरुलाई भनेर तेल मिलाइदिन्छु भनेर श्रीमतीले ढिपी गरिन् । ससुरालीमा तेल मिलाइदिनुपर्ने शर्तमा उ बाइकमा श्रीमतीसँगै घर जान राजी भयो ।
छोराछोरीलाई दाइको साथमा पठाइदिएर उनीहरु बाइकमै घर पुगे । दसैँमा गाउँका छरछिमेकीको अघिल्तिर बाइक चढेर आएको भनेर देखाउन पाउँदा सरोजभन्दा श्रीमती चाहिँ बढी खुशी भइन् ।
घरतिरका छिमेकीलाई मात्र होइन, माइतमा पनि बाइक चढेर आएको देखाउनुथियो उनलाई । सरोजले यसपाली नजाऔं, पेट्रोल पुग्दैन भन्दैथियो । तर श्रीमतीले ढिपी गिरन् । ‘उता चितवनमा ब्ल्याकमा जति भने पनि पाइन्छ रे दाइले भन्नुभएको, म मिलाइदिन्छु’ भन्दै उनले सरोजलाई लगेरै छाड्नि । ससुरालीले ४ लिटर तेल पनि मिलाइदिएकै हुन् । तर दसैंपछि काठमाडौं फर्किंदा सकियो । एकपटक फेरि चिनेका डिएसपीले तीन लिटर मिलाइदिएका थिए । डिएसपीले अब सबैले थाहा पाए, फेरि फेरि चाहिँ सकिँदैन भनेपछि सरोज लाइनमा बस्न बाध्य भएको हो ।
…………………………….
आजै भर्ने पालो भएकाले रात पर्न लाग्दासम्म भर्न पाएका छैनन् । आजको लाइनको पल्लो छेउ उ परैसम्म छ । भोलि पालो हुने बाइकको लाइन हेर्दै सरोज निकै पर पुग्यो । कसैले थोत्रो बाइक राखेका छन्, कसैले बाइकको ट्याँकी मात्रै पनि राखेका छन् । कसैकसैले त ढुंगो राखेर पनि ठाउँ ओगटेका रैछन् । सबैतिर नियाल्दै हिँडेको सरोजले बल्लतल्ल लाइनको पछिल्लो छेउ भेट्यायो । यस्तो तालले भोलि के तेल भर्न पाइएला, बेकार आइएछ, फर्कौं कि क्या हो भन्ने उसलाई लाग्न थाल्यो । तर लाइनको पछिल्तिर स्कुटी देखेपनि उसको मन प्रफुल्ल भयो । स्कुटी मात्रै होइन, एउटी युवती पनि सँगै थिइन् । उनको चाहिँ ३४ नम्बर लटको रैछ ।
‘खै भोलि के तेल भर्न पाइएला र’ स्कुटीसँगै आफ्नो बाइक हार मिलाएर राख्दै सरोजले कुराकानीको मेसो सुरु गर्यो । ‘त्यही त बोर भैसक्यो, म त फर्कौं कि क्या हो’ युवतीले भनिन् । ‘अब आइसकेपछि के फर्कनु, भरेरै जाउँला’ केहीबेर अघिसम्म फर्कने सोच बनाएको सरोजले जवाफ फर्कायो । ‘बाइक हराउने हो कि, खै के गर्ने के’ युवतीले भनिन् । ‘मैले बाँध्ने चेन पनि ल्याएको छु, दुवैको संगै बाँधेर लक गरौंला नि’ सरोजले मनाउन खोज्यो । अघिल्तिर लाइनमा भएकाले पनि यसैगरी चेन बाँधेका थिए । कोही कोही त रातभर यतै बस्ने सुरमा आएका थिए । सरोजले राती यतै बसौं न आगो तापेर भन्न खोजेको थियो, तर भन्न सकेन ।
‘खै म दुवै बाइकमा हुनेगरी चेन बाँधिदिन्छु’ सरोजले झोलाबाट चेन निकाल्दै भन्यो । ‘हुन्छ नि त त्यही गरौं’ युवतीले भनिन् । ‘भोलि बिहानै आउनुपर्छ, मैले त अफिसमा बिदा मिलाएको छु’ सरोजले भन्यो । ‘म पनि भोलि अफिस जान्न, आउन ढिला भयो भने तपाईंले हेरिदिनोस् है’ युवतीले भन्न नपाउँदै सरोजले भइहाल्छ नि भन्ने जवाफ फर्कायो । त्यहीबेला उसको मोबाइलमा घण्टी बज्यो । श्रीमतीको रैछ । ‘कति फोन गरेकी, आइहाल्छु नि’ भनेर फोन राख्यो ।
उसलाई एकछिन अझै बस्न मन थियो । तर युवतीले दाइ लिन आउनुभयो, जान्छु है भनेर हात हल्लाइन् । उसले पनि हात हल्लायो र हातमा हेल्मेट बोक्दै घरतिर लाग्यो ।
भोलिपल्ट राम्ररी उज्यालो नहुँदै उ बाइकको लाइनमा पुग्यो । पछिल्तिर पनि बाइकको ठूलै लाइन भैसकेछ । छेउमा अरु बाइकवाला आगो ताप्दै रैछन् । आफ्नो र युवतीको बाइक हेरेपछि सरोज पनि आगो ताप्न लाग्यो ।
‘दिउँसो कुनबेला बाँड्न थाल्ने हो, कति बस्ने यार’, ‘म त हिजो रातभर यहीँ बसेको’, ‘मैले त भात नि खाएको छैन’, ‘म चाहिँ भात खाने बित्तिकै आएको’, ‘राती त यतै पिसाब गर्न पाइएको थियो, दिउँसो कहाँ जाने ?, ‘यस्तो तालले कसरी देश चल्छ यार ?’ ‘खै बिहारको चुनाव सकिएपछि मोदीले नाकाबन्दी खुलाउँछ भन्छन्’, ‘ओलीले पनि केही गरेनन्’, ‘६, ६ जना उपप्रधानमन्त्री बनाउँछन्, देशको समस्यातिर ध्यान दिंदैनन्’…थरीथरीका गफसँगै उज्यालो भयो । बाइकवाला थपिंदै गए । सरोज युवती आउने बाटो हेर्न थाल्यो । बिहान अबेरपछि मात्र युवती हातमा हेल्मेट बोकेर आइन् । सरोज बाइक भएको ठाउँतिर गयो ।
‘थ्याँक यु है बाइक कुर्नुभएकोमा’ युवतीले भनिन् । ‘मैले कुर्नै परेन, मेरै बाइकले तपाईंको बाइक कुर्यो रातभर’ सरोजको जवाफ सुनेर युवती मुस्काइन् । ‘जाउँ चिया खान’ सरोजले प्रस्ताव गर्यो । ‘हैन मैले भर्खर खाना खाएर आएको’ युवतीले भनिन् । ‘ओहो मैले त चिया पनि खाएको छैन’ सरोजले युवतीलाई जान बाध्य पार्यो । दुवै नजिकैको कफी शपमा गए ।
‘कहाँ काम गर्नुहुन्छ नि’ सरोजले गफ सुरु गर्यो । ‘नबिल बैंकमा’ युवतीले जवाफ दिइन् । ‘ओहो पैसै पैसा हुने ठाउँमा काम गर्नु हुँदो रैछ’ भन्दै सरोज हाँस्यो । युवती पनि मुस्काइन् । सरोजले पनि आफ्नोबारेमा भन्यो । कफी पिइसकेपछि युवतीले पैसा दिन खोज्दै थिइन् । तर सरोज आफैले दियो ।
‘पेट्रोल बाँड्ने कुन बेला म एकछिन बाहिर गएर आउँछु नि’ युवतीले भनिन् । ‘बाँडिहाल्छ कि के थाहा’ युवती नजाओस् भन्ने ठानेर सरोजले भन्यो । ‘छिटै आउँछु नि, त्यसमाथि तपाईं भैहाल्नुहुन्छ’ युवतीले फेरि भनेपछि सरोजलाई नाईंनास्ती गर्न सकेन । एकछिन युवती गएको बाटोतिर हेरिरह्यो, अनि बाइक माथि आएर बस्यो । यतिबेलासम्म त पारिलो घाम लागिसकेको थियो ।
युवती फेरि आइन् । तेल बाँड्न थालिसकेको थियो । बाइक बाँधेका चेन झिकेर उनीहरु पनि तेल भर्ने पालो पर्खेर बसे । लाइन मरिगए सर्दैन् । अघिल्तिर पालो मिचेको, पछि आएर बाइक छिराएको भन्दै होहल्ला भैरहेको थियो । युवती सँगै भएकाले सरोजलाई त्यति हतार थिएन । लाइनमा बसुञ्जेल उनीहरुले गफ गरिरहे । युवतीले लगाउको परफ्युम परैसम्म बास्ना आउँथ्यो । सरोज त्यसै त्यसै मख्ख थियो ।
युवतीको स्कुटी पनि उसैले सार्यो । साँझ मात्र पालो आइदिए हुन्थ्यो भन्ने सोच्दै थियो । त्यहीबेला कपाल अलि छोटोछोटो भएको केटा आयो र युवतीलाई भन्यो, ‘धत् तिमी यहाँ लाइनमा बसिरहेको, खै स्कुटी, हिँड मसँग, अर्को बाटोबाट जानुपर्छ, म मिलाइदिन्छु ।’ युवती सरोजलाई हेर्दैथिइन् । त्यही केटाले स्कुटी घिसारेर लगेपछि उनी पनि बाइ भन्दै पछि लागिन् । सरोज हेरेको हेर्यै भयो । आफुले पनि चिनेको डिएसपीबाट तेल हालेको सम्झियो ।
अब चाहिँ कतिबेर पालो आउँछ भनेर उसलाई छटपटी हुन थाल्यो । बल्लतल्ल राती ९ बजे पालो आयो । ५ लिटर पेट्रोल भरेर उ लखतरान पर्दै घर पुग्यो । ‘खै त लड्डु ल्याउँछु भन्नुहुन्थ्यो नि हिजो’ श्रीमतीले भनिन् । ‘के को लड्डु न सड्डु, मान्छे यहाँ दिनभर लाइनमा बसेर हैरान’ सरोज झोक्किंयो । केटाकेटी सुतिसकेका रैछन् । ‘खै खान पस्क’ भन्दै उ बाथरुमतिर छिर्यो ।
(स्रोत : उज्यालो अनलाईन डट कम)