~निर्मोही व्यास~
आँखाहरू रातदिन हजूरकै स्वप्न देख्छन्
नजिकिन पाउ चाल्दा काँडाहरू बाटो छेक्छन्
एकान्त यो दुख्छ मलाई भीड झनै साह्रो दुख्छ
आँसु लुक्छ हाँस्दा–बोल्दा मन हजूर कहाँ लुक्छ
सम्झनाको सारङ्गीमा हजूरकै धून खेल्छन्
नजिकिन पाउ चाल्दा काँडाहरू बाटोे छेक्छन्
कहाँ जाऊँ ! कसो गरूँ ! कोसित म बह पोखूँ !
पिर्ती फुल्ने कलेजीमा पीरैपीर कति बोकूँ !
ढुक्ढुकीले छातीभरि हजूरकै नाउँ लेख्छन्
नजिकिन पाउ चाल्दा काँडाहरू बाटो छेक्छन्