~ध्रुबकुमार सापकोटा~
म सागर हैन
मेरो कुनै छाल छैन
मेरो कुनै तरंग छैन
मेरा निम्ती के औँशी
के चाँदनी रात
मेरो छातीमा ज्वारभाटा उठदैन
म सधैं एक नास -एउटै धुनमा
लम्पसार छु
तर म सुन्दर छु
त्यसैले त तिमी
मेरो छातीमा जलक्रिडा गर्छौ
म फेवा ताल हुँ !
म पहाड हैन
म हिमाल हैन
हिउँदमा जम्दिन
गर्मीमा पग्लिन्न
नदी बनेर सुसाउँदिन
बर्खा -भेल बनेर गड्गडाउँदिन
म सधैं उस्तै छु मूर्तिवत
तर पनि सुन्दर छु
त्यसैले त तिमी
मेरो एक नजरको निम्ती
लालयित हुन्छौ
म फेवा ताल हुँ !
मेरो सीरमा त्यो अनूपम सुन्दर
धौलागिरी मुस्कुराउँछ
मेरो छातीमा त्यो जलपरी
माछापुच्रे निधाउँछे
हरेक दिन झिस्मिसेमा
एक हुल मलेवाका बथानहरुले
मेरो आकाश ढाक्छन्
दिनभरीको थकान पछी
हरेक साँझ पंक्षिहरु
मेरो छाती माथि बाट
मेरो सेरोफेरोलाई रमणीय पार्दै
आफ्नो गुँड तर्फ फर्कन्छन्
अनि त तिमी रमाउँछौ
हरदम
मेरो नजिक आउन खोज्छौ
म फेवा ताल हुँ !
मेरो तलाउमा माझी दाईहारु
सूर्योदयको लालिमा सँगै
जाल हान्छन्
अनि प्रितीका लाखौं जोडीहरु
डुंगा खियाउँदै
प्रेमालाप गर्छन्
म प्रेमको भवसागर हुँ
म फेवा ताल हुँ !
ध्रुव कुमार सापकोटा
द नेदरल्यान्डस्
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)