छन्द : झ्याउरे
चुनावी नारा सबैका प्यारा सपना बुनेका
भविष्य राम्रो नेपाली हाम्रो भनेझैँ चुनेका ।
गीतका भाका चुनावीताका सुनेरै जुरुक्क …
मानिस मन जाग्दो छ अहो ! उमङ्ग फुरुक्क ।।
माइक सुन्ने को छैन यहाँ निकै नै घन्किन्छ
तालीको पालि आएछ क्यार पटट्ट पट्किन्छ ।
परेको पानी रोकिन्न उस्तै बाटो नै हिलो छ
चुनावी चाल कसले भन्छ आफैमा ढिलो छ ? ।।
बजेका बाजा सुनेर जाग्ने अनेक थरी छन्
गाउँ र बेँसी सहर नाच्छन् चुनावैभरि झन् ।
अनेक पार्टी अनेक व्यक्ति सबैले जितेझैँ
खुसीको चाड देखिन्छ आफै चुनावै बितेझैँ ।।
कसैले पाए टीसर्ट नौला कसैका टोपी छन्
साडी र चोलो बाँडेको हो कि सबैका एकै छन् ।
चुनावी चिन्ह लोगोझै टासी छाती र निधार
नेताका साथ झुमेको देख्दा चुनावी तयार ।।
सुनिन्छ पैसा बाँडेर मात्रै जितिन्छ चुनाव
डर र धम्की लालसा लोभ भोटका किताब ।
असल व्यक्ति पछाडि छन् रे चलाख अगाडि
गुनासो सुन्दा चुनावी शैली अझै छ पछाडि ।।
कसैले केही नपाए भोट नदिने भन्दै छन्
कसैले केही दिएको भन्दै दिएको गन्दै छन् ।
विचार रोजौँ नेतृत्व खोजौँ ं देशका खातिर
अमूल्य भोट बुझेर हालौँ चुनाव आखिर ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)