कविता : बत्ती निभेको साँझ

~गोविन्द गिरी प्रेरणा~

बत्ती निभेको साँझ !
आफ्नो बचेरालाई
सर्पले आहारा बनाएर
रित्तो पारेको गुँडमा
टामाटुमी परेका
ढुक्कुरका जोडीको
उदास आँखाजस्तो
बत्ती निभेको साँझ ।

गाउँदा गाउँदैको गीत
ओठबाट झरेर
आँसुझैं तप्केको
र मुस्कान हराएर
कलेटी परेको
सान्नानीको ओठ र आँखाझैं
गहिरो र उदासउदास
बत्ती निभेको साँझ ।

सबथोक
समाप्त हुन्छ एकदिन
सुख-दुःख
यो जिन्दगी
यो जिन्दगीका आरोह-अवरोह
त्यही सोचेको क्षणझैँ
उद्धिग्न
अपसोसको पोका
दृष्टिभरि बिछ्याएर
वषर्ा हुनुअघिको आकाशझै
बत्ती निभेको साँझ ।

कर्‍याङकुरुङहरू
परदेश लाग्दा
तिनै कर्‍याङ्कुरुङसित मिसिएर
परदेश जाने चाहना बटुलेका
तम्मे ढुक्कुरले
परदेशबाट तिनै कर्‍याङकुरुङ
स्वदेश फर्केको देखेपछि
झल्याँस्स ब्यूँझेर
आफ्नो चाहना नपुगेको
दुर्भाग्यका निम्ति
दुःखी र उदास भएको क्षणझैँ
बत्ती निभेको साँझ ।

बत्ती त निभ्छ बल्छ
जिन्दगी निभेपछि
फेरि बल्दैन
रातको प्रहारपछि
दिनझैँ उदाउँदैन
कसको हातमा छ
जिन्दगीको बत्ती
क्यै थाहा छैन
त्यही अज्ञानताको
कालो ओडारभित्र
घाम छल्न पसेको
थकित पथिकझैँ
बत्ती निभैको साँझ ।

हाल मनासस, भर्जिनिया,अमेरिका

(स्रोत : मधुपर्क पुष, २०६५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.