~विनोदविक्रम केसी~
यो देशको ठूलो लेखक
बुढेसकालमा
किन उठ्छ बिहान चार बजे
किन बागी मजदुरी गर्छ किबोर्डमा
र, पहरो फोर्छ अखबारमा?
इतिहासले सुम्पेको
के त्यस्तो अभिभारा छ
उसको काँधमा?
देशमा अचेल बदनाम छ
खगेन्द्र संग्रौलाको काँध
जसजसलाई बोक्यो यसले
त्यसत्यसले दिए धोका
(जनमत यसै भन्छ)
सडकमा जोजो थिए जुझारु
जसजसका थिए नारा जीवनवादी
जोजो थिए अँध्यारो मास्न चाहने
जसजसको थियो भाषा आँधीको
आफूमाथि चढायो सबैलाई
खगेन्द्र संग्रौलाको काँधले
बरु भुल्यो होला
खुद खगेन्द्र संग्रौलालाई बोक्न
तर, छुटाएन एउटै इनकलाबीलाई
र, आज…क्या बिस्मातको कुरो छ !
खगेन्द्र संग्रौलाको काँध चढेर
माथि माथि पुगेका कस्तूरीहरू
दुम्सी बने
(जनमत यसै भन्छ)
र, आज…क्या अफसोसको बात छ!
खगेन्द्र संग्रौलाको काँध चढ्दा
देशलाई सर्प र बिच्छीहरूको जंगल बन्न नदिने
प्रण गरेका थिए जसले
उनीहरू स्वयं सर्प र बिच्छी भए
(यो पनि जनमतकै निष्कर्ष हो)
काँध चढ्नेका खुट्टाले बनाएका
कोखाको घाउ देखाउँदैन खगेन्द्र संग्रौला
बस्, काढ्छ कहिलेकाहीँ सुस्केरा–
‘मान्यवर, गणतन्त्रको योद्धाले चटके हुन पाउँछ?’
तथापि, तिमीसँग एक झिल्को मात्र भए पनि
एजेन्डा छ भने उज्यालोको
तम्तयार छ बोक्न तिमीलाई
खगेन्द्र संग्रौलाको एक थान काँध ।
(स्रोत : नेपालखबर पत्रीका)
क्या लेख्न सकेको।