~खिमानन्द पोखरेल~
एक्लो जीवनमा
बाँच्नेहरूको
निराशालाई हेरेँ
मलिन अनुहारका
परेलीहरूलाई हेरेँ
परेलीभित्र छरिएका
प्रतिविम्बित आकृतिहरूलाई हेरेँ
आकृतिभित्र छरिएका
छायाँहरूलाई हेरेँ
मभित्रको छट्पटाहट र उकुसमुकुसतालाई हेरेँ
छट्पटाहटबाट छलाङ मार्ने
प्रकृतिलाई हेरेँ
पीडैपीडाले जेलिएको
एक्लो जीवनलाई हेरेँ
अनि
यिनै हेराइको हरेक कथाका
पानाहरू पल्टाउँदै हेरेँ
र
एक्लो जीवनलाई
दिन र रातसँगै
साट्ने कोसिस गरिरहेँ ।
(स्रोत : मधुपर्क २०६८ असार)