~प्रकाश प्रधान~
त्यत्रो बलिदान, उपादान र अभयदानपछि
त्यत्रो हर्षोल्लास समारोहबीच
सबै मिली बालेको दिव्यज्योति फहराएको विजय पताका
त्यो महायज्ञको पुर्वाङ्गमा नै
साङ्गे नहुँदै निभ्ने ढल्ने त होइन कतै भन्ने डरले
मलाई किन हो अचेल सताइरहन्छ
यो डरबिना कारणको नहोला
दैनिकी काम चलाउन पूजा प्रसादको बेला
सानोतिनो भाग भतेर उछिनाउछिन
बेमौका बेमतलब बेमेल
दाउपेच घोचपेच
सानो-सानो कुरा-घमासान तानातान
समयको ख्यालै छैन, वचनको ठेगानै छैन
मनमुटावको पराकाष्टा
आयोजन र समायोजका हर्ताकर्ताबीच ।
यस्तो निरन्तरता कहिले छोटिएन
यस्तो आश्वासन कहिले पुर्ती भएन
यस्तो अनमेल कहिले उल्टिएन
यस्तो परिवेशमा प्रारम्भ भएको महायज्ञ
बीचैमा भताभुङ्ग भएर तुहियो भने
हामी कहाँ जाने कहाँ बस्ने काहाली यस्तैलाई भन्ने होला
महान् राष्ट्रिय जीवन ग्रन्थरूपी दस्तावेज कसरी पाउने
जसको दिव्य आश्रय/आलोकमा
हामी सशक्त नयाँ महल खडा गर्ने
सुनौलो सपना कसरी साकार गर्ने हो
धेरै जानिफकार-विचारको टक्कर
निष्कर्षा पुग्न सगरमाथा आरोहण समान
कहिल्यै सरल बहस वार्ता सहज देखिएन सुनिएन
यो के हो – स्वार्थको टक्कर हो कि
बौद्धिक सङ्घर्ष
त्यत्रो लामो यात्रा छ
लक्ष्य पूर्ती-संविधानको आधार स्तम्भ पुग्न
नयाँ नेपालको जग बसाल्न
मनमस्तिष्ककै यस्तो बेहाल
बेमेल, कसरी पूर्ण होला
यसको विकल्प असम्भव जस्तो नभए के होला
कसैको धैर्य सङ्कल्प र अखण्ड प्रयास
एकाएक टुट्न गयो भने
बाँध तटबन्ध फुटेको कोसी नहोस्
अथवा फर्काएको खोलो पुरानै बाटो प्रतिक्रान्ति
वायुमण्डलमा मडारिएको भान हुँदाहुँदै
आपसी सङ्घर्षमा तल्लीन बहादुरहरू
लक्ष्य कसरी बिर्सन सक्ने होला –
कस्तो विडम्बना
त्यसैले त्रिशङ्कुको अमलेख वा उपनिवेश क्षेत्रजस्तो भाग्य खेप्न नपरोस्
त्यस्तै त्यस्तै भयले सताइरहन्छ मलाई
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)