~प्रणिका कोयु~
सादा कागजमा
तिम्रो नाम लेखें धेरै चोटी
मायाले लेखें
रीसमा लेखें
खुशि-दु:खमा लेखें
आशा-निराशा दुवैमा लेखें
लेखिरहें यसरी मैले धेरैचोटी सादा कागजमा तिम्रो नाम!
आकाशका सबै रंग
घामका सबै ताप
पानीका सबै गति
जूनको सधैंको लुकामारी
ताराको टिमटिमाई
यी सबमा मैले तिमीलाई खोजें
कहिले
तिमीलाई सोचेर नै खोजें
कहिले
त्यहाँ तिमी त्यसै नै हुन्थ्यौ
तर,
लेख्दालेख्दै तिम्रो नाम
खोज्दै-पाउँदै तिमीलाई जहीं पनि
थाहा पाएँ मैले एक सत्य
तिमी मेरो हैनौ
तिमी मेरो हुँदै होइनौ
निर्वाद बग्न कसैलाई मभित्र यसरी
हावी हुन कसैलाई मेरो मन र मष्तिष्कमा यसरी
कसरी दिन सक्छु म स्विकृति
थाहा पाउँदापाउँदै कि
कागज, मसी, दृश्य
बदलिन्छ त आखिर समयसँगै!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)