~शिव भुसाल~
…..र अचानक धनेमाथि कसैले खुकुरी हान्यो । धनेकी दिदी उम्लन लागेको दध छाडेर आई । दाउरा चिदैँ गरेको बुढो बाबु बन्चरो समातेर धनेको बचाउमा आयो । यो सबैलाई एकतमासले हेरिरहेकी धनेकी आमा पारु, जो स्वयं चार वर्षदेखि दमले थलिएकी थिई, ऊ यसपटक न उठन सकी, न त गुहार माग्न नै । अपराधी एक्कासी फरार भयो र ऊ को थियो, कसैलाई थाहा भएन ।
एक निमेषमै सारा गाउँ धनेको आँगनमा उपस्थित भयो । सबैको आआफ्नो गाइँगुइँबीच सुवेदार कान्छी बोल्न थालिन –‘यो धने तल्लो जातको भए पनि आजसम्म केही बिराम गरेको थाहा छैन । चुपचाप बसेको छ । खाएको छ । द्यौताजस्तो मान्छेलाई …….’
पुलिसको भ्यानले सुबेदार कान्छीको आवाज रोक्यो । पुलिसको नाम सुन्दै तर्सिने धने थरथर काँप्दै भन्न थाल्यो – ‘साब मेरो केही गल्ती छैन । मैले कसैलाई केही गरेको छैन । मलाई बचाउनुस साब ।’
‘कसैमाथि शङका छ कि ?’, पुलिसले सोध्यो । दुई दिनअघि धनेकी दिदीलाई अनिलले जिस्काउँदा धने र अनिलबीच सामान्य भनाभन भने भएको रहेछ । धनेले अनिलको नाम लियो । सुवेदार कान्छी भीडमा कतै हराइन ।
पुलिसले मुजुल्का उठायो अनि धने र उसको बाबुलाई चौकी लिएर गयो । तीन दिनपछि बाबुछोरालाई पुलिसले छाडिदियो । सोही दिन तीन दिनदेखि हराएको सुवेदार कान्छीको छोरो पनि घर फर्कियो – पुलिसको भ्यानमा ।
…..सोही दिन आँगनमा झोक्राइरहेको धनेमाथि उसको बाबुले आक्रोश पोख्यो – ‘यो मोरालाई ठला बडासँग भनाभन नगर भनेको कहिल्यै लाग्ने भएन । यो बुढो बाउलाई कति दुख दिन्छस ए साले !’
(स्रोत : वजयन्ती साहित्यिक पत्रिका वर्ष–६ पूर्णङक–२५ २०७० असार–साउन – लघुकथा बिशेष)