~बसन्त मोहन अधिकारी~
लोभी,
पापी,
निर्दही,
निर्मोही !
रुप, रङ्ग उडाएर
चुस्न सम्म चुस्यौ ।
बदनाम गराएर
उपभोग गर्यौ ।
त्यतिले नपुगेर
हेर, मन्दिरमा
रीति, रिवाजमा
मलाई चुडेर
जीवनको अन्त्य
यो धर्म कर्ममा ।
हे, शुन्दरी,
सुकुमारी,
रङ्गीन स्वरुपका फूलहरु !
मनमोहक आकृतिमा
तिमीले लठ्याएर
यो मन चोर्यौ
आज सम्म नभरीएको लोभ
तिमीले नै भर्यौ
म लोभी होइन
तिमीले लोभ्याई दियौ ।
मलाई के थाह –
तिम्रो स्वाद
आफ्नो रुपले लोभ्याएर
मलाई डाँकी
रसपान गर्राई दियौ
र्स्वर्ग देखाई दियौ
बानी लगाई दियौ
त्यसकै प्रतिफल
मेरो निरन्तरता
तिमीहरुको बिभीन्नतामा
म पापी होइन ।
सोध प्रतेक भमराहरुलाई
उँ संग मन, मुटु छ
माया, ममता, प्रेम छ
विश्वासमा
हरेक फूलहरु संग बस्छ ।
तिम्रो नाई नास्ती भए
म के गर्न सक्छु र –
एकबाट अर्को
अर्कोबाट अर्को
यो मन र तनलाई
डाँक्ने र लाने
दिने र खुवाउँने
तिमी फूलहरु ,
एकले अर्कोको
खोस्दै छौ
छिन्दै छौ
स्वयमलाई रुवाउँदै छौ
म निष्ठुरी होइन ।
हे फूलहरु !
मेरो दोष देखाई
मलाई गाली नगर
यो तिम्रो रुप, रङ्गं र
बानी ब्यहोरा नै
स्वयमको अभिषाप हो ।
(स्रोत : ईलम्जुङ् डट काम)