~डा. सरोज धिताल~
होला त भनी मैले तिम्रो कुरा सुनेँ
मेरो हीरो !
मिल्काएँ आफ्ना आग्रहहरू
र, तिमीले दिएको झेला भिरेँ ।
झेलामा एउटा कलम थियो
र, थियो एउटा बन्दुक
तिमीले भन्यौ
“कलमलाई हतियार बनाउ र, संहार गर
गन्हाएको, कुहिएको पुरानो संसारको ।”
तिमीले फेरि भन्यौ
“लेख नौलो सुनौलो संसारको कविता बन्दुकले”
अल्मलिएका मेरा औँलाहरूलाई
अल्मलिने समय थिएन
जिल्लिएको मस्तिष्कलाई मेरो
निमेष मार्ने फुर्सद थिएन
आँखाहरू केही खोज्दै थिए
तिनलाई डुल्ने आकाश थिएन
मेरा आँखाहरू, औँलाहरू
मनभित्र अटाउने सबै चिजहरू
बन्दुक खेलाइरहे कलम चलाइरहे ।
आखिर त्यो चिरप्रतीक्षित पल आयो
र घोषणा गर्यौ तिमीले विजयको ।
तर, पर परसम्म पनि
म त एउटै परेवा देखिरहेको छैन
धुवाँ अझै उडिरहेको छ
पोलिएको मासुको गन्ध बोकेर
मान्छेको अर्को कुनै आकृति छैन
कतै नजिकबाट आइरहेछ
कसैको आर्तनाद
जो तिम्रै पीडा जस्तो लाग्छ
कतै टाढाबाट आइरहेछ
कसैको चित्कार
जो मेरै सपना रोएजस्तो लाग्छ
फगत तिमी र म
उभिरहेका छौँ
धरतीको डढेको ढाडमाथि ।
भन त
द्वापर युगमा पनि
के तिमी र म यसैगरी
टोलाएका थियौ
महाभारतपछि ?
(स्रोत : हिमाल खबर))