~बासुदेव बुढाथोकी ‘सागर’~
पिरतीको जातै मीठो,सानु तिम्रो हातै मीठो;
मदिरा के चाहियो र!जवानीको मातै मीठो!
सन्ध्याकालको अँधेरीमा,पानी भर्ने पँधेरीमा;
प्रियालाई बोलाउने पिपिरीको पातै मीठो!
सँगसँगै मेलापात,सँगसँगै घाँस पानी;
हाँसोठट्टाभन्दा बेसी एकान्तको बातै मीठो!
शीतलशीतल पवन चलोस्,उमङ्गको दियो जलोस्;
तिमी साथ भइदिए दिनभन्दा नि रातै मीठो!
‘सागर’ अटाउने मुटु पाएँ मैले जिन्दगीमा;
तिमीसँग सजाएका सपनाको खातै मीठो!
– फस्कू,दोलखा ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)