~विप्लव प्रतीक~
खलाँती जसरी फुकिरहेछ हावा
र आरनमा ह्वारह्वार्ती बलिरहेछ आगो
त्यसैगरी तिमी फुकिरहेछौ सास
मेरो पीरको मकलमा,
जहाँ सल्किरहेछन् व्यथाका कोइलाहरू ।
पानीमा चोप्दै, आगोमा सेक्दै
जसरी घन पिटिरहेछ तातो राँकिएको फलामलाई
त्यसैगरी तिमी पिटिरहेछौ
मेरो मन÷मस्तिस्कलाई
जहाँ फैलिरहेछ आयतन/आकार वेदनाको ।
कहिले लाग्छ–
वाह ! क्या गजब छ तिम्रो कारीगरी !
कहिले छक्क पर्छु–
कस्तो शील्प हो तिम्रो,
के बनाउन खोजिरहेछौ ?
तिमी यति मग्न छौ आफ्नो काममा
मैले केही सोधे तिम्रो निर्माणमा
विघ्न पर्ला भनेर डर लाग्छ,
नसोधी चुपचाप बसुँ
कुनै डरलाग्दो कृति पो बन्ने हो कि
भनेर कहाली लाग्छ
त्यसैले, भन न, कहिलेसम्म फुक्छौ आगो
र कहिलेसम्म पिटिरहन्छौ घनले मलाई
मेरो मन/मस्तिष्कलाई ?
कतै तिमी मलाई इस्पात ठानेर
झुक्किएको त होइन ?
(स्रोत : हिमाल खबर))