कथा : क्रिकेट कोलाज

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

१. हर्षको रङ्ग

“ए उठ केटा हो !”, बोल्यो हरि। जुरुक्क उठे केटाहरू। टेलिभिजनको स्क्रीनमा बज्न थाल्यो नेपालको राष्ट्रिय गान–’सयौं थुङ्गा फूलका हामी, एउटै माला हामी’। यता केटाहरू पनि सँगसँगै गाउन थाले। शान्त भयो वातावरण। यस्तो पनि हुँदोरै’छ सोचिरहेथें म।

“मेरो त आँखाबाट आँसु आयो यार”, भावुक भयो केशव। भन्यो, “हाम्रो देश पनि विश्वकप मैदानमा पुग्यो यार।

“हो यार” केटाहरूले सहमति जनाए।

“ए मेरो मुटु छाम त, उफ्रिरहेछ”, अनन्तको अनुभूति।

“यो म्याच जित्नैपर्छ”, नरेन्द्रले दाबी गर्‍यो।

“ नजिते पनि केही छैन। यहाँ त पुग्यो नि नेपाली टीम। यहीं नै हाम्रो जित हो साथी हो। यो क्रप्ट सिस्टम, यो निराशाको बीचमा पनि नेपाली क्रिकेटरहरूले हामीलाई आशा दिएका छन् साथी हो। रमाऔं यसैमा। आज नेपाली भनेर गर्व गर्ने त भइयो। यहीं नै हाम्रो जित हो”, आकासको अभिव्यक्ति।

“ठीक भन्यौ आकास, पूरै समर्थन तिमीलाई”, थपियो शरद।

“हो नि, देशले के दियो तिनीहरूलाई? अण्डा किनेर खाने पैसा दिएन। बल र ब्याट पनि आफ्नै खल्तीको पैसाले किन्दै खेलेका हुन्। आज तिनीहरूले देशको नाम चम्काए। विश्वसामु चिनाए। नेताहरूले के गरे? देशको बद्नाम गरे। तर आज हाम्रा क्रिकेटरहरूले देशको शान बढाएका छन्। हेर त्यहाा टीभीको स्क्रीनमा नेपालको नाम देखिस्? कहिल्यै आउँथ्यो त्यसरी? आज आएको छ। यहीं नै हो हाम्रो जित।” बोल्दै थियो अनन्त। आवेगले घाँटी नै अठ्ठियो। सकेन बोल्न। तर सबैले महसुस गरे। समर्थन जनाए। खेलमा नेपालको ब्याटिङ्ग सुरु भइसकेको थियो।

होस्टलको सानो कोठामा टेलिभिजनमा हेर्दै थियौं हामी– टी २०–२० म्याचमा नेपालको प्रस्तुति। सधंै अरु देशको खेल हेरेर चिच्याउनुपर्ने। सधंै अरु कुनै देशको पक्ष लिएर रमाउनुपर्ने। आज आफ्नै देशको खेल हेरिरहेथ्यौं। अनि किन पड्किन्थेन मुटु? रेल कुदेजस्तो धड्किरहेथ्यो। हङकङको हरेक बलिङ्गमा केटाहरू मौन हुन्थे। जब बल ब्याटमा ठोकिन्थ्यो, आकासमा उड्थ्यो वा सबैलाई छक्काउँदै मैदानको सिमानामा किस खान पुग्थ्यो। केटाहरू उफ्रिन थाल्थे।

“हुर्रे….।”

“चौका…।”

“छक्का…।”

“पुन…..।”

“मल्ल….।”

“भेसवाकर….।”

सकियो नेपालको ब्याटिङ्ग। केटाहरू हुर्रिंदै पसे डाइनिङ्ग हलमा। भान्साकी दिदी बुझकारी। पहिल्यै सबैलाई खाना पस्केर तयार। आ–आफ्नो थाल टिप्दै टेबलमा बसे। “ब्याटिङ्ग त ठिक्कै हो यार। फिल्डिङ्ग कस्तो हुन्छ?” कमेन्ट गर्दै थिए कोही।
“नो कमेन्ट, छिटो खाऊ, हिडिंहाल”, अनन्तको उर्दी। युद्धमा जान लागिरहेका सैनिकजस्तै हतारिइरहेथे केटाहरू। युद्ध त थियो।

अब नेपालको बलिङ्ग। नेपाली खेलाडीहरूले मौन बस्नै दिएनन्। पहिलो बलमै ढल्यो विकेट।

“पारस…। पारस….। पारस….” उफ्रिन थाले।

त्यसपछि त के र? चिच्याउन र उफ्रिन रोक्छ कसले? थर्कियो घर। होइन गल्ली। होइन टोल। अहँ होइन सिङ्गो देश। हरेक विकेट झर्दा उफ्रियो देश। हरेक बलिङ्गमा मच्चियो देश। मच्चाए नेपाली क्रिकेटरले।

“शक्ति……। शक्ति…..। शक्ति…..।” उता मैदानमा दौडिए शक्ति गौचन। यता उफ्रियौं हामी। नाच्यौं।

‘वी.. वी…वी..’ बजायौं सिठ्ठी। कसले रोक्ने हामीलाई?

“सोमपाल…..”

“जितेन….”

यी नाम यस्ता थिए। जहाँ आफ्नोपन थियो। हरेक नाममा आफ्नै मन जोडिएको थियो। आखिर जित्यो नेपालले। हार्‍यो हङकङ। होलीको दिन मध्यरात हुने बेलामा हर्षको रङ्ग दिए नेपाली क्रिकेटरहरूले।

“नेपाल….नेपाल….नेपाल…” देशको नाम लिंदा गौरवले छाती फुलेको थियो।

“यत्तिको खुशी त म आफ्नै बिहेमा नि हुन्न।” केशवले गर्‍यो कमेन्ट। हाँसिदियौं हामी– हा…हा…हा…..।

२. राखिन्न शर्त

“आज बङ्गलादेशसँग”, चियाको चुस्की लिंदै बोल्यो आकास।

“हो त”, आकासले समर्थन जनायो।

डाइनिङ्ग हलमा बिहानी खाजा खाँदै थियौं हामी। केटाहरू पत्रिकाका पानामा आँखा गाडिरहेथे।

“साला के सोच्छ यो मन्त्रीले? खेल भनेको त्यसले धाँधली गरेर जितेको चुनाव जस्तो हो र? मुला मन्त्री”, एकाएक पड्कियो नरेन्द्र। पत्रिका पछार्‍यो टेबलमा।

“किन के भन्यो र?”, सोध्यो हरिले।

पत्रिकामा छापिएको समाचार स–स्वर पढ्न थाल्यो आकासले। खेलकुद मन्त्रीले यदि नेपाली क्रिकेटरहरू सुपर १० मा पुगे राष्ट्रिय गौरवका प्रतिक घोषणा गर्ने भनेका रैछन्।

“त्यो मन्त्रीले भनिरहनुपर्छ? नेपाली खेलाडीहरूले गरेर देखाएका छन्।” ताता चिया घुट्काउँदै आक्रोश पोख्यो आकासले।

“नेपाली मन्त्रीहरू विदेश जान्छन् देशको बेइज्जत गरेर आउँछन्”, अनन्त थपियो। भन्यो, “नेपाली खेलाडीहरूले देशको नाम चम्काएर आउँछन्”।

“आखिर के दिएको छ र राज्यले?” थपियो हरि पनि। “एउटा गतिलो फिल्ड दिएको छैन। जीवनयापनको राम्रो भर दिएको छैन। अस्तिन समाचारमा आएको होइन खेलाडीहरू जीवन जिउनका लागि पियनको जागिर खान निवेदन दिएका थिए भनेर? हो, पियनको जागिर नराम्रो होइन। काम जे पनि ठीक नै हो। तर यो देशमा मन्त्रीका छोरा बारमा मस्ती गरेर बस्छन् देशका छोरालाई स्वास्नी बिरामी हुँदा औषधि किन्न पैसा हुन्न। अझै तिनै शासकहरूले शर्त राख्छन् मुलाहरू”, आवेगले गिलास पछार्यो। धन्न स्टिलको थियो। सिसाको भए फुटिसक्थ्यो।

“अझ त्यहींबेला लाइन काट्छ”, थपियो नरेन्द्र पनि।

“ए आज पनि लोडसेडिङ्ग छ है?” सम्भि्कयो अनन्तले।

“कहिले भएथिएन र?” उफ्रियो आकास।

“केटा हो अस्ति जस्तै इन्भर्टरबाट हेरिन्छ है। बिजुली गएको बेला बत्ती नबालौ है?” उर्दी जारी गर्‍यो शिशिरले।

“बहुला कुकुरले टोकेछ र? मैनबत्ती बालिन्छ बरु क्रिकेट त हेरिन्छ–हेरिन्छ”, नरेन्द्रले समर्थन जनायो।

“हो आज पनि क्रिकेट हेरिन्छ। चिच्याइन्छ। सिठ्ठी बजाइन्छ। उफ्रिन्छ। जिते रमाइन्छ। हारे पनि केही छैन साथी हो। खेलमा भइहाल्छ। दमदार खेलेकोमा हाम्रा खेलाडीलाई धन्यवाद दिइन्छ। मन्त्रीले जस्तो शर्त चाहिं राखिन्न”, म पनि के कम? थपिइहालें।
‘हो, हो’ केटाहरू समर्थन जनाउँदै थिए।

३. उमङ्गको बतास

“हेलो”, क्याम्पसमा कक्षामा छिर्दै गर्दा हात उठाउँछु म।

“हाई”, भावनाले जवाफ दिन्छे। भन्छे, “आज त अफगानिस्तानसँग छ नि”। सम्झाउँछे मलाई। “हो त” हेमन्तले समर्थन जनाउँछ।

“साथी हो, आज तीन बजेपछि क्लास नगर्ने है? म्याच हेरिन्छ”, सागरले ऐलान गर्छ।

“हो………..” सिङ्गो क्लासले जनाउँछ समर्थन। “वी…वी…”, कसैले बजाइदिन्छ सिठ्ठी पनि।

“के हुँदैछ?”, शिक्षकले पस्दापस्दै सोध्नुहुन्छ।

“सर क्रिकेट”, अधुरो जवाफ दिन्छु म। मुसुक्क हाँस्नुहुन्छ उहाँ।

सुरु हुन्छ रसायनशास्त्रको क्लास। ह्वाइट बोर्डमा दौडिन्छन् रियाक्सनहरू। आफूले भने चौका र छक्काभन्दा केही देखिंदैन। फोटोकपी मेसिनजस्तो हात र आँखामात्र दौडिरहन्छन्।

लेख्दालेख्दै रोकिनुहुन्छ शिक्षक। रियाक्सनको व्याख्या गर्न बन्द हुन्छ। हामीलाई हेर्नुहुन्छ सरसरती। भन्नुहुन्छ– “तपाईंहरूलाई हेर्दा ब्याचलर फोर्थ इयरलाई पढाएजस्तो लाग्छ। मास्टर्स पढ्नेजस्तो देखिनुहुन्न। अलि जिउ बनाउनोस्।”
हामी मुुसुक्क हाँस्छौं।

तराई मूलको उहाँ मधेसी लवजमा बोल्न थाल्नुहुन्छ, “तपाईंहरूलाई देख्दा खुसी लाग्छ। देशको प्रगति हुँदैछ। हाम्रो पालामा विज्ञान त के क्याम्पस पढ्नै कस्तो मुस्किल छ। अहिले तपाईंहरू यसरी आउनुभएको छ। स–साना देखिनुहुन्छ। जिउले के गर्छ र? थोरै राजेश हमालले जस्तो एक्सन देखाउने हो र?”

हामी हाँसिदिन्छौ हा–हा–हा। उहाँले मुस्कान छोडिदिनुहुन्छ।

“जेहोस् देशको प्रगति हुँदैछ। गरे के हुन्न र? ऊ नेपालले पनि क्रिकेटमा जितेकै छ ? हामी पनि खेल्थ्यौं। म त मास्टर्स पढ्दासम्म क्रिकेट खेल्थें। सबैले गाली दिन्थे। के गुली डन्डा खेलेको भन्थे। अहिले ऊ देशलाई चिनाइरहेछ। तपाईंहरू पनि खेल्नुस्। खेल्नैपर्छ भन्ने छैन। जुन फिल्डमा आफ्नो रुचि छ त्यसमा लागिपर्नोस् देशको नाम राख्नुस्।”

हामी ताली बजाएर उहाँको विचारलाई समर्थन जनाउछौं।

दोस्रो कक्षामा पनि उस्तै विचार राख्नुहुन्छ रामेश्वर सर। भन्नुहुन्छ– “यो देशमा पनि केही हुन्छ। मात्र हामीले गर्नुपर्छ। ऊ क्रिकेटका खेलाडीलाई के सरकारले पैसा दिएर खेलेका हुन् र? होइन नि। आज देखाए त। तपाईंहरूले पनि केही गर्नुहोस्। विदेश नभासिनोस्। विदेश गएर पढ्नोस्, प्रविधि सिक्नोस्। तर यहीं आएर गर्नोस्। देशको भरोसा तपार्इंहरूजस्तै युवाहरूमा छ। हो, सिस्टम खराब छ। जताततै भनसुन छ। भ्रष्टाचार छ। तर तपाईहरूजस्तै युवाहरूले बनाउने हो देश। आलोचना र गालीमात्रै नगर्नोस्। जे कुरा चित्त बुझ्दैन त्यसलाई फेर्नोस्। हेर्नुस् देश कुनै देवदूत आएर बनाइदिंदैन। तपाईहरूजस्तै युवाहरूले गर्ने हो। गरे यहाँ जे पनि छ।”

टेबल ठटाएर समर्थन गर्छाैं रामेश्वर सरको विचारलाई। “यो सर त फ्रान्सको कुन चाहिं युनिभर्सिटिको भिजिटिङ्ग प्रोफेसर हो रे नि” कसैले भन्छ।

“अमेरिकामा एसोसिएट प्रोफेसर छोडेर आएको रे त” अर्कोले जानकारी पोख्छ।

अनि तीन बज्छ।

“साथी हो अब क्लास नगर्ने है” हेमन्त चिच्याउँछ। “नगर्ने–नगर्ने”, सबैले समर्थन जनाउँछन्।

शिक्षक आएर फर्किनुहुन्छ। हामी ब्याग टिपेर निस्कन्छौं।

‘नेपाल–नेपाल–नेपाल–नेपाल’ हाम्रो आवेगले क्याम्पस हल्लिन्छ। देशको नामभन्दा ठूलो के हुँदोरै’छ र?

अलि बेरमा क्याम्पसको ठूलो हलमा लार्ज स्क्रीनमा नेपालले अफगानिस्तानलाई जित्दै गरेको हेर्ने हामी नै हुन्छौं। हरेक रनमा उफ्रिरहेको। हरेक विकेट ढाल्दा चिच्याइरहेको। हामीमात्र हामी।

हुर्रे……

आखिर जित्यो नेपालले। हामी उफ्रिन्छौं। एक–अर्कालाई अंकमाल गर्छौं। उचाल्छौं। सिठ्ठी बजाउछौं। ‘जित कसको– नेपालको’। नारा लगाउछौं।

“खुब खुसी ला’छ यार”, क्याम्पस छोडेर ओभर हेड ब्रिजनेर आउँदा बोल्छ हेमन्त।

“हो यार”, सबैले समर्थन जनाउँछौं।

“यार, क्रिकेटरहरूले देशलाई चिनाए। जिन्दगीका सारा रहरहरूलाई क्रिकेटको ब्याट र बलमा बन्धकी राखेर देशलाई चम्काए। चम्के देशको आकासमा। हामीले के गर्‍यौं? मात्र प्रत्यक्षदर्शी बन्यौं। अब हामीले पनि केही गर्नुपर्छ देशको निम्ति।” वाइबाले प्रस्ताव गर्छ।

“ठीक भन्यौ” सबैले समर्थन जनाउछौं फेरि पनि।

४. ‘आइ लभ यु माइ कन्ट्री’

साथीहरूसँग छुटेपछि। न्यु प्लाजाबाट सिंहदरबारको पर्खालको पेटी हुँदै हिंडिरहेको हुन्छु म। मनभरि क्रिकेटको दृश्य दौडिरहेको हुन्छ। एक्लै मुस्काउँछु। जित्यो यार। आफैसँग खुसी हुन्छु। अचानक सोंच्छु। हामी यति धेरै माया गर्दारैछौं है देशलाई?
हो गाली गर्छौं। भन्छौं– ‘के छ र यो देशमा?’

तर जब देशको नाम जोडिन्छ हाम्रो मनमा प्रेमको फूल फुल्छ। हामी देशको निम्ति मर्न, मार्न तयार हुन्छौं। हो यो देशका शासकहरू बेठीक छन्। देशको स्वाभिमानलाई बन्धकी राखेर तिनीहरूले शासनको सौदाबाजी गर्छन्। तर के देश शासकहरूको हो र? होइन। देश त हाम्रो हो। हामी जनताको। हामीले नै बनाउने हो देश। जसरी क्रिकेटरहरूले चिनाए देश, त्यसरी नै चिनाउने हो देश। हो, सबैजना त्यसरी नै हिरो नबनौंला। तर अघि क्लासमा सरले भनेजस्तै आ–आफ्नो फिल्डमा इमानदारीपूर्वक राम्रो काम गरे त बन्छ देश।

एकाएक माया लाग्यो देशको। कति राम्रो छ हाम्रो देश। प्राकृतिक स्रोत–साधनले सम्पन्न देश। जैविक विविधताले भरिपूर्ण हाम्रो देश। विश्वको अग्लो चुचुरो भएको देश। जलको देश। बुद्धको देश। गैंडाको देश। सारसको देश। खानीहरू बोकेर बसेको महाभारत शृङ्खलाको देश। चुनको अथाह भण्डार चुरेपर्वत भएको देश। प्रशस्त जडिबुटी भएका तराईका जङ्गलहरू र सुन उमार्ने फाँट भएको देश। मिथिलाको संगीतले गुन्जिएको देश। थारुको नाचमा रमाएको देश। मगरको कौरामा झुमेको देश। गुरुङ्गको घाटुमा भुलेको देश। नेवारको संस्कृतिमा चिनिएको देश। यहीं देश हो जहाँ कोलम्बस अमेरिका पुग्दै गर्दा बनेको थियो सुनको ढोका। यहीं देश हो जहाँ स्थानीय लोहारहरूले आफ्नै डाँडापाखाको फलाम खारेर बनाउँथे पुल। यहीं देश हो जहाँ जम्मा गरिन्थ्यो गाउँ–गाउँबाट घ्यू र बेचिन्थ्यो परदेशमा। यहीं देश हो जहाँ अझै पनि १२७ जाति छन् १२२ भाषा बोलिन्छन्। हरेकको संस्कृतिमा हरेक रमाउँछन्। वाह ! मेरो देश, हाम्रो देश। म जहाँबाट हिंड्न सुरु गर्छु त्यो मेरो देेश। म जहाँ रोकिन्छु त्यो पनि मेरै देश।

कुन्नि कुन हर्मोन बहन्छ दिमागमा? झोला खोल्छु। मार्कर पेन निकाल्छु र लेखिदिन्छु सिंहदरबारको भित्तामा– ‘आई लभ यु माई कन्ट्री। मेरो देश माया गर्छु तिमीलाई।’

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.