~सुस्मिता नेपाल~
पतिलाई लग्यो अन्धकार समयले
अथाह दुःख छातीमा टाँसेर
तिनी छटपटाइरहिन् एकनासले
छोरातिर हेर्दै
ओर्लिन् आँसुको भर्याङबाट
छामिन् दिनलाई
मौन रह्यो दिन
उज्यालो किरण
पोको पार्यो साँझ्ले
दैलोको संघार
पतिको सम्झना
बलिरह्यो उनको हृदयमा
छोराको हात समात्यो समयले
तिनी थरर्र कापिन्
समयको हात समात्न सकिनन्
एकान्तले उनलाई
तछारिरह्यो
पछारिरह्यो
पतिको सम्झना
छोराको सम्झना
रहिरह्यो ढुकढुक धड्कनभित्र
अहिलेको समय
उनको अनुहारमा
भयावह भएर झुण्डिरहेछ ।
(स्रोत : हिमाल खबर)