~टेकु ओली~
सरी !
विशालबजार अगाडी पुग्नै लाग्दा अचानक पछाडिबाट कसैले मेरो आँखा च्याप्प छोपेपछि मान्छे ठम्याउन पछाडी बढेका मेरा हात कसैको छाति सम्म पुग्दा नारी आवाज सुनियो ।
होलीको दिन करीब ४ बजे होली खेल्ने क्रम सकिएपनि न्यूरोडतिर चहलपहल भने बाक्लै थियो । दाँयाँबायाँ मान्छेहरु मलाई ठक्कर दिँदै हिड्थे । शरीरमा ठोक्किदा पुलुक्क हेरेपनि नदेखे झै गरि सरासर अघि बढ्ने उनीहरु, सायद सरी भन्न जरुर ठान्थेनन् ।
जन्मेदेखिको बल लगाउँदा पनि आँखामा पट्टि झै बाँधिएका हात पन्छाउन नसकेर म बेलाबेला छट्पटाउँथे । म हलचल गर्दा जबजब बाटोमा हिड्ने मान्छेहरु छोईन्थे उनी त्यसैगरी सरी भन्दै जान्थिन मानौ मैले गरेको हरेका गल्तिको माफी माग्ने जिम्मा उनकै हो ।
‘को हो हँ ?’ करीब दुई मिनेट सम्म पनि हात नहटेपछि म अलि झर्किएँ ।
‘खुशी’ – केही समय पछिको उनको यो आवाजले म लात्राकलुत्रुक गलें । आँखा त उनले नै बन्द गरिदिएकी थिईन शास नै वन्द होला जस्तो भयो । म एकाएक निर्जिव जस्तै भएँ, शरीरको हलचल बन्द भयो ।
के भयो ? केही समयपछि आँखाबाट आफ्ना हात हटाउँदै सोधिन् ।
आँखा खोलेर पछाडि फर्किदा मेरो ठिक अगाडी उभिएकी उनको मुखभरी पोतिएको अनेक रंगले अनुहार त ठ्याक्कै ठम्याउन सकिन् तर शारीरिक स्वरुप र बोल्ने हाउभाउले चिनहालेँ । उनले नाकाबन्दीको बेला मैले बल्खु सम्मको लागि लिफ्ट माग्दा मलाई कोठासम्मै पु¥याई दिएकी थिईन, मेरै कोठामा वास वसेर रातारात बेपत्ता भईन् ।
…..
‘जाम हिँड तिम्लाई कफि खुवाउँछु ।’
उनको आँखाले मेरो आँखामा ९० डिग्रीको कोण बनाएर हेर्दा ४५ डिग्रीको कोण बनाएर उनको पाउमा झुकेका मेरा आँखा, निहुरिएको शिर र एकोहोरीको मन झस्कियो ।
शिर केही उठाएँ, उनको आँखासम्म त हेर्न सकिन तर रंगिएको गलासम्म के हेरेको थिएँ सोधि हालिन्– ‘होली नखेलेको ?’
‘खेलिन’, मैले टाउको हल्लाएपछि उनी अघि बढिन् मैले उनलाई पछ्याएँ ।
विशालबजार–पिपलबोट–ताम्राकार कम्प्लेक्स हुँदै भित्र छिरेर पिपुल्स प्लाजा सम्म पुग्दा पनि होलीको दिन भएर होला सबै कफि सपहरु वन्द थिएँ ।
त्यहाँबाट निस्केर केही बाँया हिडेपछि पार्किङ्गमा कलेजी रङ्गको त्यहि स्कुटर देखेँ जुन स्कुटरमा उनले मलाई मेरो कोठासम्म पु¥याएकी थिईन् ।
‘सबै बन्द रैछ, आउ वस दरबारमार्गमा कफि खाउँला’ पार्किङ्गको स्कुटर साईड लगाउँदै भनीन् ।
‘कफि खानकै लागि दरबारमार्ग सम्म त नजाऔं होला’ भन्न पनि सकिन्थ्यो तर मैले भन्न सकेन अर्थात् उनको अनुरोधलाई अस्विकार नगरी पछाडी वसेँ ।
…..
‘यतै खाने कि ?’ दरबारमार्ग पुगि सक्दा पनि स्कुटीमा ब्रेक नलागेपछि शुरु देखि नै चुपचाप रहेको मैले मुख खोलें ।
‘उतै खाउँला !’ उनले हातको एक्सिलेटर अझै बटारिन् ।
उनले भनेको त्यो उतै भन्ने ठाउँ कहाँ हो ? कि अर्को दरबारमार्ग पनि छ कतै ? म यस्तै सोच्दै थिएँ हामी महाराजगंज पुगिसकेछौं । स्कुटरलाई दाँयातिरको सानो गल्लीतिर मोडिन् । लाग्यो भित्र कतै क्याफे होला त्यतै कफि खानलाई होला ।
मुल सडकबाट केही भित्र छिरेपछि एउटा घरको गेटमा स्कुटी रोकेर मलाई चाबी दिँदै भनीन्– ‘गेट खोल यो मेरो घर ।’
दरबारमार्ग भनेर आफ्नो घर नै पु¥याएपछि मेरो रिसको पारो बढ्यो झोकमै ओर्लेर गेट खोलिदिएँ । गेट बाहिर उभिरहेको मलाई उनी स्कुटी भित्र राख्दै गर्दा दौडेर भागौं जस्तो नलागेको पनि होईन तर त्यसो गर्न मेरो पुरुषत्वले दिएन् ।
‘जाऔं भित्रै वसौं’, स्कुटीलाई आगनको छेउमा साईड लगाएर गेटमा पुगेकी उनले मुस्कुराउँदै भनीन् ।
आज सम्म केटीहरुको घर त के कोठा सम्म पनि नपुगेको म पहिलो पटक कसैको घरमै पुग्दा लाजले रातो पिरो भएको थिएँ । मैले रिस मिश्रीत प्रश्न गरेँ, ।
भित्र वस्नु र ?
केटीको घरमा वस्नु हुन्न ?
उनको यो प्रति प्रश्नले मलाई गिज्याए जस्तो लाग्यो । लिफ्ट मागेको बेला आफैंले उनलाई भनेको सम्झिएँ, ‘पुरुषले बाईक पछाडी महिला बसेर हिड्न हुने तर महिलाले पछाडी पुरुषलाई लिएर हिड्न नहुने ।’
अनुत्तरित म गेटभित्र छिर्न बाध्य भएँ । गेट लक गरिसकेपछि उनकै पछि लागेँ ।
………
‘बस म नुहाएर आउँछु’, टि.भी. खोलेर रिमोड मेरो हातमा थमाउँदै उनी बाथरुम छिरिन् ।
म टिभी हेर्न छोडेर कोठा वरीपरी नियाल्न थालेँ । कोठाभरी सोफा, भित्ताहरुमा सुन्दर तस्विर, सिसाको दराजभरी किताब त्यसरी सजाएको मैले अन्त कतै देखेको थिएन् । बाहिरबाट पुरानो जस्तो देखिने घरको झ्यालबाट हेर्दा बाहिर देखिने फुलहरुले सुन्दर बगैंचाको झल्को दिन्थे ।
नजर भित्ताको घडीमा गएर अडिए, ६ वज्नै आटेछ । मलाई कोठा फर्किन ढिला भईसकेको थियो, उनी बाथरुमबाट निस्कने छाँट देखिन । मनमा एकाएक भाग्ने बुद्धि फु¥यो मौका यहि हो भनेर बाहिर निस्के । गेट लक गरिएको थियो घर वरीपरी पर्खाल । पर्खाल नाघेर जाउँ वरीपरिका घरका मान्छेहरु के सोच्लान ? उनको चरित्रमाथी प्रश्न उठाउलान् भन्ने सोचें । फर्केर त्यहि कोठामा आएँ, दराजबाट किताब झिकेर पढ्न थालेँ ।
‘पढ्दै गर म खाना पकाउँछु’ नुहाई सकेर आएकी उनले ढोका बाहिरैबाट भनीन् ।
हैन, म गईहाल्छु सोफाबाट उठ्दै भने, ‘ढिला भईसक्यो ।’
खुब समानता भन्थ्यौ, म तिम्रो रुममा वसेकै हुँ । उनले प्रश्न गरीन, ‘यहाँ सँग वस्न हुन्न ?’ फेरी आज बाबा ममी पनि हुनुहुन्न ।
फेरी मुटुमा तिर हानिन्, नाजवाफ भएँ । आफैल रोपेको समानता, आफैलाई निल्नु न ओकल्नु भयो । जहाँबाट उठेको थिएँ त्यहि थचक्क वसेँ । किताब पढ्न थाले, उनी त्यहाँबाट हिडिन् ।
………
खाना खाईसकेपछि मलाई आफ्नो कोठामा लिएर गएकी उनले आँफू खाटमा पल्टिदै सोधिन् ।
कहाँ सुत्छौं ?
भँुइमा ।
किन ?
अर्को खाट छैन नि त ।
यसमै सुते हुन्न ?
अनि तपाई ?
म पनि यसमै ।
म त लागजे भुतुक्कै भएँ । मैले खाना खाँदै गर्दा सोधेको थिएँ – त्यो दिन मेरो कोठाबाट किन भाग्नु भएको ?
तिम्रो अग्निपरीक्षा लिन तिम्रो कोठामा वसेकी थिएँ, तिमीले जे भनेका थियौ ठिक त्यहि ग¥यौ अर्थात् तिमी पास भयौं तर परीक्षा लिन गएकी म म आँफै फेल भएँजस्तो भएँ । मलाई हिनताबोध भयो र त्यहाँबाट भाँगे भनेर बताएकी उनले आज फेरी मलाई आफ्नै घरमा लिएर कोठामा बन्धक बनाईन् या अर्को अग्निपरक्षा लिईन ? मैले बुझ्न सकिन । भुँइमै बसिरहेँ ।
‘ल ठिक छ भुँइमै सुत’ सायद उनले परीक्षाको नतिजा सुनाएको हुनुपर्छ ।
सुते के भन्नु ? निदाएको हैन, उनले लगाएको विछ्यौनामा पल्टिएँ आफ्नै कोठामा अबेर निदाउने बानी परेको मलाई अर्काको घरमा निद्रा लाग्ने कुरै भएन् । राती पटकपटक निस्केर भागौं भागौं लागिरह्यो तर मध्यरातमा कहाँ जानु ? कोल्टे फेर्दै चार बज्यो । उनी मस्त निद्रामा थिईन् म घर बाहिर निस्के र पर्खाल नाँघेर भाँगे । थाहा छैन म उनले लिएको अग्निपरीक्षामा पास भएर वा फेल ? यसको जवाफ उनैले दिनेछिन् ।
(स्रोत : रातोपाटी डट कम)