~हरिहर तिमिल्सिना~
धेरै वर्ष दशैँका नाममा
समयले घोडा बनाएर मान्छेहरूलाई
चढेछ बेसरी र पुरानै ठाउँमा ल्याएर छोडेछ
केटाकेटीले गोल्टिनमा
लङ्गुरबुर्जाका गट्टीहरू हल्लाएझै
कहिले पछार्दै र कहिले उठाउँदै ।
…र, यसपालि पनि
मान्छेहरू आफ्नो परिचय
खसी र बोकाहरूसित विनिमय गरिरहेका छन् ।
जीवन श्रृङ्खला नमिलेको यो कस्तो क्रम हो
छाम्नै/नाप्नै नसकिने यो कस्तो भ्रम हो
बलियो मान्छेको श्राप र
निर्धो भगवानको आशिष पाएका
धेरै मान्छेहरूका घरमा
दशैँसँगै पीडा भित्रँदैछ यसपालि पनि
… र, यसपालि पनि दशैँमा
कतै हड्डीसितै आफ्नो अनुहार चुसिरहेका
मान्छेहरू भेटिनेछन्
कतै भोजनसितै आफ्नो भविष्य डकारिरहेका
मान्छेहरू भेटिनेछन्
अधिकांश अनिकालग्रस्त गाउँका पीडाग्रस्त नागरिकहरू
मुखमा भरिएको थुकसँगै
आफ्ना अस्थिपञ्जर आकांक्षाहरूलाई
घुटुघुटु निलिरहेका हुनेछन्
दशैंका नाममा एकचोटी फेरि
आफ्ना मुटुलाई निचोरिहेका हुेछन् ।
(स्रोत : हिमाल खबर))