~सुषमा घिमिरे~
तिमी छैनौ एक्लै यहाँ बाच्नै गाह्रो भा’छ मलाई
जीन्दगीको कठीन यात्रा काट्नै गाह्रो भा’छ मलाई।
तिमी गयौं,परदेशीयौं,घरबार एक्लै सम्हाल्दैछु
अति कठिन निर्णय छन् आट्नै गाह्रो भा’छ मलाई।
गरिबीले सम्झौता नै निकै धेरै गर्नुपर्ने
मोहरसँगै आँसु यहाँ साट्नै गाह्रो भा’छ मलाई।
तिमी आउँछौ सम्हाल्नेछौ साहुको ऋण,घरबारी
भोली दिउँला पर्सी दिउँला ढाट्नै गाह्रो भा’छ मलाई।
मायाको यो डोरी हाम्रो भित्रभित्रै मौलाउँदैछ
एक्लै एक्लै लामो डोरी बाट्नै गाह्रो भा’छ मलाई
हाल-नयाँ बानेश्वर।
स्थायी-खैरेनीटार, तनहुँ